दुई हजार चार सय परिवारले लालपुर्जा पाउने

दुई हजार चार सय परिवारले लालपुर्जा पाउने


राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार चार सग घरपरिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ ।

साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोबास गर्दै आएका दुई हजार गरी दुई हजार चार सय घरपरिवारलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढेको छ ।

कम्पनी सञ्चालक समितिले फुटकर जग्गा बिक्री वितरणसम्बन्धी विनियमावली ०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेस गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपुर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष चौधरीले बताए ।

कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्रमा ३४४, परासन क्षेत्रमा ५७०, वाइसी विछवामा २० बिघा गरी कुल ९३६ बिघा १८ धुर जग्गामा बसोबास गर्दै आएका घरपरिवारलाई लालपुर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको अध्यक्ष चौधरीले जानकारी दिए । त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा बसोबास गर्दै आएका चार सय घरपरिवारलाई लालपुर्जा उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ । जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुम्बासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिस्ट्रेसन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छुटको प्रावधान रहेको जनाइएको छ ।

जग्गा बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा सम्बन्धित क्षेत्रमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताए ।