आठ वर्षपछि इन्जिनियर हत्याका आरोपी पक्राउ

आठ वर्षपछि इन्जिनियर हत्याका आरोपी पक्राउ


सप्तरीमा एक इन्जिनियरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । राजविराजनिवासी इन्जिनियर हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । साविक बोरिया गाविस– ३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज– ६ स्थित घरतर्फ आउने क्रममा घरनजिकै देवको ०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो । देव राष्ट्रिय सभाका सदस्य जीतेन्द्रनारायण देवका दाजु हुन् ।

झन्डै आठ वर्षमा मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा पुनः चालू हुने भन्दै जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले थुनछेकको आदेशको प्रक्रिया अगाडि बढ्ने बताए । जिल्ला अदालतले ०७१ फागुन ११ गते मण्डलसहित साविक पकरी गाविस– ३ का हरेराम यादव, लालापट्टी गाविस– २ का अजित सिंह भनिने अजय यादव र प्रसवनी गाविस– ८ का अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो ।

यसैगरीे पक्राउ परेका बोरिया– ३ का गंगाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा मोहनपुर ३ का दिलजले भनिने उमेश राम र देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध ०७२ असार १६ गते अनिलले र साउन ६ गते गंगारामले पुनरावेदन गरेकामा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २०७३ कात्तिक १० गते फैसला गरेको थियो ।