देउवा र पौडेलबीच ध्रुवीकरण तीव्र
– जयप्रकाश
नेपाली काङ्गे्रस तेह्रौँ महाधिवेशनको पूर्वसन्ध्यामा छ । बाह्रौँ अधिवेशनबाट निर्वाचित नेतृत्वको तीनवर्षे कार्यकाल यसै महिनादेखि पूरा भएको छ । आफ्नो पूर्ण कार्यकालभित्र सभापति सुशील कोइरालाले पार्टीलाई नयाँ गति र दिशा दिन त सक्नुभएन नै, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेजस्तो न्यूनतम काम पनि उहाँले गर्नुभएन । कोइरालाको स्वास्थ्य र सोच तत्काल महाधिवेशनको तिथि निर्धारण गरी अघि बढ्ने प्रकारको छैन । बरु क्यान्सरको उपचार जारी रहिन्जेल सभापति पदलाई गिरिजाप्रसादले झैं निरन्तरता दिने सोच सुशील कोइरालाले पनि बनाउनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठक राख्नसमेत हस्ताक्षर अभियान चलाउनुपरेको काङ्गे्रसमा तत्काल महाधिवेशनको अपेक्षा गरिएको पनि छैन । त्यसैले काङ्गे्रसको तेह्रौँ महाधिवेशन यो वर्ष नहुने र कार्यकाल एक वर्ष थप गरिने निश्चितप्राय: छ । महाधिवेशन अर्को वर्ष मात्र हुने भए पनि काङ्गे्रसमा अबको नेतृत्व कसको होला भन्ने विषयमा अहिलेदेखि नै अनुमान, चर्चा र विश्लेषण हुन थालेको छ । आगामी महाधिवेशन जहिले भए पनि त्यसले गैरकोइरालालाई नेतृत्वमा स्थापित गर्ने पक्का भएको छ । यद्यपि काङ्गे्रसलाई कोइरालाहरूको पकडमा कायम राख्ने गृहकार्य भने सुरु भइसकेको छ । सभापति कोइरालाले डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालालाई आपसी एकता कायम गर्न पटकपटक सचेत गराउँदै आउनुभएको छ । कोइरालाहरूबीचको अनेकताबाट अरूहरूले लाभ उठाउन सक्ने भएकोले खास–खास अवस्थामा गिरिजाप्रसादले पनि पारिवारिक एकतामा जोड दिने गर्नुहुन्थ्यो । अहिले सुशील कोइरालाले पनि पारिवारिक एकतालाई नै प्राथमिकता दिनुभएको छ ।
कोइरालाको उत्तराधिकारी :
गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी सुशील कोइराला बन्नुहुने अनुमान धेरै वर्षअघिदेखि नै गर्न थालिएको थियो । ०४८ मा गिरिजाप्रसाद प्रधानमन्त्री बन्नुभएपछि प्रधानमन्त्रीनिवास बालुवाटारमै अड्डा जमाएर बस्नुभएका सुशील कोइरालाले गिरिजाप्रसादका हरेक कदममा साथ दिँदै आउनुभएको थियो । आफूबाट भएका विवादास्पद र गलत कार्यको लागि जिम्मेवार सुशील भएको देखाउने गर्नुहुन्थ्यो गिरिजाप्रसाद र, सुशील गिरिजाका हरेक गलत कामको समेत जिम्मेवारी लिने गर्नुहुन्थ्यो । तर, अन्तिम अवस्थामा गिरिजाप्रसाद सुशील कोइरालालाई उत्तराधिकारी बनाउने पक्षमा देखिनुभएन । पुत्री सुजाता कोइरालालाई आफ्नो विरासत कसरी सुम्पने भन्ने चिन्ता मात्र गिरिजामा थियो । पार्टीको सभापति र प्रधानमन्त्रीको पदीय हैसियतमा छोरी सुजातालाई पु-याएर मात्र देहत्याग गर्ने इच्छा गिरिजाप्रसादको थियो, तर पूरा हुन सकेन । माधव नेपाल नेतृत्वको सरकारमा छोरीलाई उपप्रधानमन्त्रीको दर्जा दिलाउन नसकेको भए सायद गिरिजाप्रसादको प्राण जान पनि मुस्किल पर्दथ्यो । जे होस्, आफ्नो उत्तराधिकारीका विषयमा गिरिजाप्रसाद स्पष्ट हुनुहुन्थ्यो– छोरी सुजाता नै हो भन्नेमा । सुशील कोइराला भने यस विषयमा स्पष्ट हुनुहुन्न । उहाँ एक चर्चा गर्न लायक ‘हिपोक्रेट’ भएकोले दुनियाँलाई देखाउन पनि ‘उत्तराधिकारी प्रथा या सोच’को विरोध गर्नुहुन्छ । बाहिरियाले थाहा पाउने गरी कसैलाई उत्तराधिकारी बनाउने हिम्मत उहाँ गर्नुहुन्न । तथापि डा. शशांक कोइराला अगाडि आएको हेर्ने चाहना भने कोइरालामा देखिन्छ, तर त्यही कुरा सुजाता र शेखरलाई समेत बताउन सक्नुहुन्न । त्यसैले पछिल्लो सयमा तीनैजनालाई ‘तिमीहरू मिल’ भन्ने ‘सुझाव’ उहाँले दिँदै आउनुभएको छ । शशांक, शेखर र सुजाता तीनैजना सुशीलको उत्तराधिकारी आफूलाई ठान्नुहुन्छ । बीपीपुत्र शशांक सोझा र शालीन भए पनि उहाँको नामको ‘ब्रान्ड’ बिक्न सक्ने पक्षलाई समेत ध्यानमा राखी सुशील कोइरालाले शशांकलाई उत्तराधिकारी बनाउन खोज्नुभएको हुनसक्छ, तर सक्रियता र क्षमताका दृष्टिले डा. शेखर केही अगाडि रहेकाले कोइरालाहरूको ‘लिगेसी’ यिनैले धान्न सक्ने हुन् कि भन्ने पनि ठानिँदै छ । सुजाता कोइरालालाई गिरिजाप्रसादले बोकेर जहाँसुकै पु-याएका भए पनि पार्टीमा उहाँको स्थिति ज्यादै कमजोर मानिन्छ र यस कुराको जानकारी सुशील कोइरालालाई पनि छ । तर, जथाभावी बोल्ने र जेसुकै गर्न पनि अग्रसर हुने भएकोले सुजातालाई झोक चल्ने अभिव्यक्ति दिन या निर्णय लिन कोइराला परिवारका सबै जना डराउँछन् । सुशील कोइराला पनि सुजाताका अगाडि उहाँलाई चित्त नबुझ्ने व्यवहार गर्न डराउनुहुन्छ । जे होस्, सुशील कोइरालापछिका तीन कोइरालाहरूमा तीन विशिष्ट गुण रहेको महसुस गरिन्छ । डा. शशांकको शालीनता, डा. शेखरको चातुर्य र सुजाताको हिम्मत (या दुस्साहस) लाई उहाँहरूको विशेषताका रूपमा लिने गरिएको छ । तथापि उहाँहरू तीनैजना अहिले नै प्रधानमन्त्री या पार्टी सभापतिको हैसियतमा पुग्ने अवस्थामा हुनुहुन्न । सुशील कोइरालाको उत्तराधिकारी बने पनि पार्टी सभापति या प्रधानमन्त्री पदको उत्तराधिकारी बन्ने स्थिति नभएकोले काङ्गे्रसका भावी नेताहरूले आफ्नो टिमभित्र गहनाका रूपमा कुनै न कुनै कोइरालालाई सजाउने सम्भावना भने प्रबल छ ।
भावी नेतृत्वमा को ? :
काङ्गे्रसलाई ‘सिनियारिटी कन्सस’ पार्टीको रूपमा लिइन्छ । कुनै खास समयमा एकाध व्यक्तिले बरियताक्रम मिचेर आफ्नो स्थान बनाएको या वरिष्ठतामा अगाडि रहेका कोहीले उपेक्षित र अपमानित महसुस गर्नुपरेका केही दृष्टान्त भए पनि काङ्गे्रसमा सामान्यतया बरियताको ख्याल राख्ने गरिन्छ । बरियताक्रममा अगाडि भएर पनि कुलबहादुर गुरुङ (केबी) र सोही काँटी र कोटीका कतिपय नेता किन पछि पर्नुभयो भन्ने कुराको व्याख्या र समीक्षा गर्न सकिन्छ । बरियतामा अगाडि भएर पनि गिरिजा र सुशील कोइरालाहरूको षड्यन्त्रको सिकार बनेका खुमबहादुर खड्का पछाडि पर्नुभएको भए पनि उहाँलाई उपेक्षा गरेर अगाडि जान सक्ने अवस्थामा काङ्गे्रस पार्टी छैन÷देखिँदैन । यतिखेर सम्भावित सभापतिका रूपमा उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबाहेक अन्यको नाम लिइएको छैन । जब कि सभापति पदको जिम्मेवारी लिनसक्ने उचाइमा काङ्गे्रसमा करिब एक दर्जन नेता छन् । तर, त्यस तहका अधिकांशले उपसभापति या महमन्त्री र सहमहामन्त्रीकै दर्जामा रहेर चित्त बुझाउनुपर्ने अवस्था छ ।
गिरिजाप्रसाद कोइरालासँग समेत लड्दै आउनुभएका शेरबहादुर देउवाको निम्ति परिस्थिति पहिलेभन्दा केही अनुकूल बन्दै गएको छ । देउवाले केही चमत्कार गरेरभन्दा पनि सुशील कोइरालाले केही पनि गर्न नसक्नुको लाभ देउवाले प्राप्त गर्नुभएको ठानिन्छ । देउवाका पक्षमा हाल खुमबहादुर खड्का, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, सुरेन्द्र पाण्डेलगायत छन् भने सुशील कोइरालातर्फ प्रकाशमान सिंह, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, शेखर कोइराला, नरहरि आचार्य, डा. अमरेशकुमार सिंह, डा. शशांक कोइराला, पद्मनारायण चौधरी, सुरेन्द्रप्रसाद चौधरी, फरमुल्लाह मन्सुरलगायत रहेका छन् । कोइराला पक्षमा यतिबेला देखिएका नेताहरूमध्ये सबैले रामचन्द्र पौडेललाई साथ दिए भने पौडेल निकै बलवान बन्नुहुनेमा शङ्का छैन । पार्टीमा कहिल्यै आफ्नो बेग्लै गुट बनाउन रुचि नलिने नेताका रूपमा रामचन्द्र पौडेललाई लिइन्छ । त्यसैले यतिबेला पौडेललाई को–को नेताहरूको साथ मिल्न सक्छ भन्नेबारेमा किटान गर्न सकिने अवस्था छैन । अर्जुननरसिंह केसी र डा. शेखर कोइराला पछिल्लो समयमा पौडेलसँग विशेष रूपमा नजिकिएका छन् । हाल कोइराला पक्षमा रहेकामध्ये डा. रामशरण महत आफैँ सभापति पद प्राप्तिको हैसियत राख्नुहुन्छ भने मौका पाए सभापति बन्ने सोच प्रकाशमान सिंहले समेत बनाइसक्नुभएको छ । त्यस्तै महामनत्री कृष्ण सिटौलाको पनि गन्तव्य ‘सभापति’ नै भएको बुझ्न सकिन्छ । डा. शेखर रामचन्द्र पौडेलतर्फ निकट बन्दै जानुभएकोले डा. शशांकलाई ‘उपसभापति या महामन्त्री’ दिने सर्तमा देउवाले आफूसँग राख्नुभयो भने कुनै आश्चर्य हुने छैन । सुजाता कोइराला जसले आफूलाई ‘उच्च मौका’ दिन्छ उतैतिर लाग्ने मुडमा हुनुुहुन्छ । यस्तो अवस्थामा आखिर डा. रामशरण महत नै पौडेलको सर्वाधिक भरपर्दा सहयात्री बन्न सक्ने सम्भावना छ । तर, त्यस्तो स्थितिमा अर्जुननरसिंह केसीलाई भने पौडेलले गुमाउनुपर्नेछ । महत पौडेलसँग भएमा केसी देउवातिर सर्नुहुने पक्कापक्की छ । देउवाको टोलीमा ‘एडजस्ट’ हुन नसकिने देखिएमा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापालगायतका युवा नेताहरूले रामचन्द्र पौडेललाई साथ दिन सम्भव छ । आफू मोटाएको महसुस गर्नुहुने प्रकाशमान सिंह पनि देउवाको टोलीमा अटाउन मुस्किल पर्ने र आफैँ सभापति बन्न झनै मुस्किल पर्ने भएकोले उहाँले पौडेललाई नै सघाउनुहुने सम्भावना बढी छ । तर, महामन्त्री कृष्ण सिटौलाको रोजाइमा देउवा पर्नुभयो भने कुनै आश्चर्य हुनेछैन । चुनावी टिम बनाउने क्रममा कुनै एक पक्षमा नअटाएका नेताहरू अचानक अर्को टिममा जानुपर्ने अवस्था आउनसक्छ । अरू त अरू देउवाले महामन्त्री या उपसभापतिको उम्मेदवार बनाउन आनाकानी गर्नुभएमा खुमबहादुर खड्काले नै कस्तो निर्णय लिनुहुने हो भन्न सकिँदैन । देउवालाई छोडेर सुशीलतिर लाग्नुभएका दीपकुमार उपाध्याय र बलबहादुर केसीलगायतका नेताहरूको साथ रामचन्द्र पौडेललाई हुने विश्वास गरिन्छ । युवा नेता नवीन्द्रराज जोशीले धेरै अघिदेखि नै पौडेललाई साथ दिँदै आउनुभएको छ । युवा नेता विश्वप्रकाश शर्मा हाल देउवाको पक्षमा रहनुभए पनि सिटौला देउवातिर सर्नुभएमा उहाँ रामचन्द्र पौडेलको टोलीमा सामेल हुनुहुने अनुमान गर्न सकिन्छ । नरहरि आचार्यले पौडेललाई सघाउने सम्भावना प्रबल छ भने महेश आचार्य जसले जित्ने देखिन्छ उसैलाई सघाउने सोच बनाएर बस्नुभएको बुझिन्छ ।
काङ्गे्रसको तेह्रौँ महाधिवेशन जहिलेसुकै भए पनि सभापतिमा मुख्य प्रतिस्पर्धा रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच हुने निश्चित छ । उहाँहरूको विजय–पराजयमा देशी–विदेशी अनेकौँ ‘फ्याक्टर’ले प्रभाव पार्ने भए पनि पार्टी नेताहरूको ‘स्थानान्तरण’ पनि निर्णायक प्रभाव पार्ने एउटा महत्वपूर्ण कारण बन्ने देखिन्छ । यतिबेला काङ्गे्रसको आन्तरिक राजनीतिमा बेग्लै प्रकारको ‘चलायमान स्थिति’को महसुस गरिँदै छ । कसले कुन जिम्मेवारी लिने र को कता लाग्ने भन्ने कुराको ‘छटपटी’ पनि रोचक तवरमा प्रकट हुँदै छ । महाधिवेशनको तिथि निश्चित गरिएपछि आन्तरिक राजनीतिले आकार लिने देखिएको छ ।
प्रतिक्रिया