एसियन क्रिकेट काउन्सिल (एसीसी)को वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त बैठक मंसिर १ गते पाकिस्तानको लाहोरमा सम्पन्न भएको नेपाल क्रिकेट संघका उपाध्यक्ष दिवाकर घलेले जानकारी गराएका छन् ।
उक्त बैठकमा एसीसीका सदस्य राष्ट्रहरूको उपस्थिति रहेको थियो । एसीसीको निमन्त्रणामा नेपालको तर्फबाट नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले सहभागिता जनाएका थिए ।
एसीसीको वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनलाई अध्यक्षमा र इमरान ख्वाजालाई उपाध्यक्षमा मनोनीत गर्दै विभिन्न समिति पनि गठन गरेको थियो ।
सो साधारणसभा महासचिव प्याकुरेलले नेपालको पछिल्लो क्रिकेटको अवस्थाबारे जानकारी गराएका थिए । प्याकुरेलले हाल नेपाल आईसीसीसँगको सहकार्यमा निर्माण भएको विधानअनुसार अघि बढिरहेको र नेपालमाथिको प्रतिबन्ध फुकुवाको दिसामा अग्रसर रहेको सभालाई जानकारी गराएको उपाध्यक्षले घलेले बताएका छन् ।
त्यस्तै एसीसीका सदस्यराष्ट्रहरूले नेपालको प्रतिबन्ध चाँडै फुकुवा हुने विश्वास व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने बताए । सो साधारणसभामा आईसीसीका सीईओ डेभे रिचर्डसनले भाग लिएका थिए ।
प्रतिक्रिया