मेक्सिकोतर्फको सीमा र व्यापार बन्द गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

मेक्सिकोतर्फको सीमा र व्यापार बन्द गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएको बताइएको छ । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्तिसुरक्षामा बाधा पुगेको भन्दै राष्ट्रपति ट्रम्पले सो चेतावानी दिएको समाचारमा जनाइएको छ ।

साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिएको पनि अर्को एक समाचारमा जनाइएको छ । आवश्यक परिस्थितिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्नसमेत आफूले अनुमति दिएको ट्रम्पले बताएका छन् ।

मेक्सिकोको सीमा क्षेत्रबाट प्रायः हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् । यसरी बलजफ्ती आउने क्रममा उनीहरूलाई रोक लगाउन सीमा बन्द गरिने ट्रम्पले चेतावनी दिएका हुन् ।

ती अमेरिकी देशहरूमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् । स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरूबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रूपमा छोडिदिने हो भने यसरी आउनेहरूको कुल संख्या १० हजार पुग्नेछ ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजारजना सुरक्षाकर्मी परिचालन गरेका जानकारी दिएका थिए । उनले हालै मात्र पनि यसरी ती व्यक्ति अमेरिका प्रवेश गर्न खोज्नुलाई आप्रवासीहरूको अतिक्रमणको संज्ञा दिएका थिए ।

यति मात्र नभएर उनले ती व्यक्तिहरूलाई आक्रमणकारीको पनि संज्ञा दिएका थिए । राष्ट्रपति ट्रम्पले ती आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिक सम्बन्धसमेत अमेरिकाले चाहेको समयसम्मका लागि बन्द गरिदिने बताएका छन् ।