अफगानी मस्जिदमा आक्रमण, १२ को मृत्यु

अफगानी मस्जिदमा आक्रमण, १२ को मृत्यु


अफगानिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

‘सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,’ भन्दै उनले घटनामा परी १२ जनाको मृत्यु भएको र अरु ३३ जना घाइते भएका उल्लेख गरे ।

सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन् । कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन् ।

तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
स्थानीयले घटनामा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् ।

प्रान्तीय स्वास्थ्य विभागका प्रमुख गुल अहमद शाहले ४० जनालाई अस्पतालमा उपचार गराइएको पुष्टि गरेका छन् ।