देवकोटा र बराललाई राष्ट्रिय पत्रकारिता पुरस्कार

देवकोटा र बराललाई राष्ट्रिय पत्रकारिता पुरस्कार


‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरिने भएको छ ।

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक देवकोटा र अनलाइन खबरका सम्पादक बराललाई जनही रु दुई लाख ५० हजारका दरले प्रदान गर्ने निर्णय गरेको प्रेस काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिए ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको हो । उक्त पुरस्कार मङ्सिर २४ गते प्रदान गरिने छ ।