कर्नाटक बस दुर्घटनामा २८ को मृत्यु

कर्नाटक बस दुर्घटनामा २८ को मृत्यु


भारतको कर्नाटक राज्यमा शनिबार बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । भारतीय प्रहरीले जनाएअनुसार मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्वजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको हो ।

प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने बिषयमा केही बताएको छैन, तर दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ ।

स्थानीय सञ्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् । घटनास्थलबाट विभिन्न टेलिभिजनले खिचेको दृष्यचित्रमा स्थानीयबासीले पानीमा डुबेको बसबाट मृत शरीर निकालिरहेका देखिएको छ । घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए ।

भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । भारतमा हुने सडक दुर्घटना प्रायः कमजोर सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुनेगरेको छ ।

सेप्टेम्बरमा कर्नाटकको छिमेकी तेलङ्गना राज्यमा भएको बस दुर्घटनामा पनि ५० जनाको ज्यान गुमेको थियो भने गत विहीबार मध्यप्रदेशमा यात्रुवाहक बस विद्यार्थी बोकेको भ्यानसँग ठक्कर खाँदा ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।