काङ्ग्रेस सभापति देउवाद्वारा घाइतेको अवस्थाबारे जानकारी

काङ्ग्रेस सभापति देउवाद्वारा घाइतेको अवस्थाबारे जानकारी


नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत काङ्ग्रेसका पदाधिकारी एवं नेताहरुले डडेल्धुरा दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय एनपी साउँद र वीरबहादुर बलायरलगायत नेता घाइतेको अवस्थाबारे बुझ्न शनिबार काठमाडौँको ट्रमा सेन्टर पुगेका थिए ।

सभापति देउवाले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको नेता बलायरले राससलाई जानकारी दिए ।

डा. के.आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका– ११ रडुवा खोलामा बिहीबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

दुर्घटनाका गम्भीर घाइते छ जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँकी घाइतेको नेपालगञ्जको कोहलपुर र भारतमा उपचार भइरहेको नेता बलायरले जानकारी दिए ।