केपीले करिष्मा गरेपछि माधव नेपाल हिस्स !

केपीले करिष्मा गरेपछि माधव नेपाल हिस्स !


वैकल्पिक गठबन्धनको प्रधानमन्त्री बन्न तम्तयार भएर बसेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जनता समाजवादी पार्टीको औपचारिक विभाजनपश्चात हिस्स परेका छन् । नेपालको अवस्थालाई यतिबेला मुरलीधरको गीत ‘उडायो सपना सबै हुरीले’ जस्तै बनेको टिप्पणी सर्वसाधारणले समेत गरेका छन् ।

छिमेकी राष्ट्र भारत र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई मुर्च्छित तुल्याउँदै केपीले डेढ महिनाअघि प्रचण्डलाई आफ्नो बनाएपछि नेपालको राजनीति रोचक मोडमा पुगेको छ ।

केपीको इच्छाअनुसार बनेको नयाँ गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन देउवा र मित्रराष्ट्र दुवैले आ-आफ्ना योजना बनाएका थिए । माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर काङ्ग्रेस, जसपा, राप्रपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मूक्ति र जनमोर्चा तथा एक स्वतन्त्रसहित १३९ सांसदको समर्थनमा नयाँ सत्ता समीकरण बनाउने आन्तरिक गृहकार्य चलिरहेको थियो । सरकार बन्न कुल १३८ सांसदको समर्थन आवश्यक पर्ने भएकोमा एमाले, माओवादी र केपीको स्याटलाइट पार्टीको रूपमा चिनिएको रास्वपा नामक रहस्यमयी झुण्डलाई बाहिर राखेर नयाँ सत्ता समीकरण बनाउने अभ्यास भित्रभित्रै भइरहेका बेला केपीले जसपामा विभाजन ल्याइदिएपछि मित्रराष्ट्र भारत र शेरबहादुर देउबाको योजना भताभुङ्ग भएको हो । जसपाका सात सांसद केपीतिर उभिएपछि माधव नेपालको प्रधानमन्त्री बन्ने सपना तुहिएको हो । उपेन्द्र यादवसहित जसपाका पाँच सांसदले सत्ता गठबन्धन परित्याग गरेपनि अब नयाँ सत्ता समीकरण बन्न सङ्ख्या पुग्नेछैन ।

जसपालाई विभाजन गराउने प्रयास डेढ महिनाअघि देखि नै हुँदै आएको थियो । नेता राजकिशोर यादव पार्टी विभाजन गराउने कुराको विरूद्ध उभिएकोले पूर्व एमाले नेता भनेर चिनिएका अशोक राईहरू केही दिन अल्मलिएका थिए । आगामी बजेट भाषणभन्दा पहिले नै वर्तमान सरकार ढालेर माधव नेपाललाई प्रधानमन्त्री बनाउने योजना कार्यान्वयन तिर जान थालेको सुइँको पाएपछि केपी अलिक गम्भीर बनेका थिए र, केपीकै इच्छा र योजनाअनुसार जसपा विभाजित भएको हो ।

केपी जसपाको विभाजनबाट मात्र सन्तुष्ट बन्ने स्थितिमा रहेको ठानिदैन । अब केपीको ध्यान माधब नेपालकै पार्टी बिभाजन गराउनेतर्फ केन्द्रीत भएको बुझिन्छ । प्राप्त जानकारी अनुसार केपीले मन्त्री बन्न अत्यन्तै लालायित मानिएका प्रेम आले र किसन श्रेष्ठलाई दुई-दुई जना सांसद लिएर आउनसके मन्त्री बनाइदिने आश्वासनसहित खटाएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । त्यसो गर्दा ६ सांसद एमालेको कित्तामा पुग्नेछन् । अन्ततः माधवसँग राजेन्द्र पाण्डे र मेटमणि चौधरी मात्र बाँकी रहने अनुमान गर्न थालिएको छ ।