बाढीपीडितलाई घर हस्तान्तरण

बाढीपीडितलाई घर हस्तान्तरण


झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ ।

दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो ।
तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक घरमा छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । एउटा घर निर्माणमा रु दुई लाख खर्च भएको निर्माण समितिका संयोजक प्रताप सुब्बाले जानकारी दिए । गाउँपालिकाले शनिबार एक कार्यक्रम गरी ती नवनिर्मित १२ वटा घर पीडित परिवारलाई हस्तान्तरण गरेको थियो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नवनिर्मित घरको साँचो विस्थापितहरुलाई हस्तान्तरण गर्नुभयो । घर हस्तान्तरणका क्रममा मन्त्री कार्कीले बाढी तथा प्राकृतिक प्रकोप व्यवस्थापन गर्न सबै क्षेत्रको भूमिका आवश्यक भएको औँल्याए ।

घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी, क्यारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेललगायतले नयाँबस्तीको घर निर्माणको महत्वकामाथि चर्चा गरेका थिए ।