यज्ञराजलाई बेहोस बनाएर काठमाडौं ल्याइँदैं

यज्ञराजलाई बेहोस बनाएर काठमाडौं ल्याइँदैं


बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याइँदैछ । अनसनरत पन्तले असामान्य व्यवहार देखाउन थालेपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं ल्याइएको हो ।

विमानबाट काठमाडौं ल्याउने प्रयास असफल भएपछि उनलाई गाडीमार्फत नै काठमाडौं ल्याइएको परिवारजनले बताएका छन् । आफन्तका अनुसार पन्त विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाउन थालेपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले काठमाडौं ल्याउन नमानेपछि गाडीबाट पठाइएको हो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई गाडीबाट काठमाडौं पठाइएको बताए । ‘चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं पठाउने तयारी थियो ।’ उनले भने, ‘विमानका कर्मचारीहरुले यज्ञराजलाई लैजान नसकिने बताएपछि गाडीबाट पठाउने निचोडमा पुगेका हौं ।’

छोरीको न्यायका लागि १४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर अहिलेसम्म पनि उनको हत्यारा को हो भन्ने पहिचान हुन सकेको छैन् ।