महिला शिक्षा र आत्मनिर्भरतामा जोड दिन राष्ट्रपतिको आग्रह

महिला शिक्षा र आत्मनिर्भरतामा जोड दिन राष्ट्रपतिको आग्रह


आज नोभेम्बर २५ महिलामाथि हुने हिंसा निर्मूलनसम्बन्धी अन्तराष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने साथै डिसेम्बर १० सम्म १६ दिन अभियान सञ्चालन गर्ने निर्णयअनुसार यो दिवस मनाइने गरिन्छ ।

नेपालमा ‘लैंगिक हिंसा र दुर्व्यवहार स् छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको छ । नेपालमा महिला हिंसाका घटनाहरु पछिल्ला वर्षहरुमा बढिरहेको अवस्थामा यो अभियानलाई प्रभावकारी बनाएर जनचेतना अभिवृद्धिमा लाग्नुपर्ने अधिकारकर्मीहरु बताउँछन् ।

महिला हिंसाविरुद्धको दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गरेकी छिन् । उनले महिला हिंसासँग जोडिएका कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा पनि विभिन्न कुसंस्कारले गर्दा नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पीडा सहन बाध्य भएको बताएकी छिन् ।

महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि महिला शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु अहिलेको आवश्यकता रहेको राष्ट्रपतिले बताएकी छिन् ।