तल्लो मोदीले पुसभित्रै विद्युत् उत्पादन गर्ने

तल्लो मोदीले पुसभित्रै विद्युत् उत्पादन गर्ने


पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ ।

आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ–दुई महिनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झन्डै ६ महिना ढिलाइ भएको हो । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर ०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङको कामबाहेक सबैजसो काम सकिएको छ । ‘पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको छ । अहिले उत्पादनगृह, सुरुङ र हेडबक्समा फिनिसिङको काम धमाधम चलिरहेको छ,’ उनले भने ।

वर्षामा पहिरो जाने, भासिने र आयोजनास्थल भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले सुरुङ निर्माण कार्यमा अवरोध उत्पन्न भएकाले केही ढिलाइ भएको हो । त्यसपछिको समयमा पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए । ‘गएको वर्ष सबैभन्दा धेरै अपेक्षा गरेका थियौँ,’ उनले भने, ‘त्यही बेलामा चुनाव भएका कारणले पनि काममा समस्या आएको हो,’ ‘असार मसान्तसम्म उत्पादन दिने लक्ष्य पनि पूरा हुन सकेन, अब पुसभित्रै उत्पादनलाई राष्ट्रिय प्रसारणमा जोड्नेछौं’ उनले भने ।

आयोजनाको अहिले करिब सम्पूर्ण काम पुरा भएको छ । एक–दुई प्रतिशत सामान्य काममात्र बाँकी रहेको जनसम्पर्क अधिकृत बेलवासेले बताए । सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांश काम पूरा भएको जनाएको छ । आयोजनाले अघिल्लो आर्थिक वर्षमा भने लक्ष्यअनुसारै काम भएको जनाएको छ । शुरुका वर्षहरूमा भूकम्प र नाकाबन्दीले असर गरेकाले त्यसको प्रभाव अझै देखिए पनि अघिल्लो वर्षमा विगतको तुलनामा धेरै काम भएको बेलवासेले बताए । ‘निर्माण कार्यमा केही ढिलाइ हुँदा निर्धारित समयभन्दा आयोजनाको काम लम्बिएको हो,’ उनले भने ।

रु. तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । ०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माणकार्य एक वर्ष ढिला भएको थियो । आयोजनाको वार्षिक रु. ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इन्जिनियरिङलगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिंक र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छन् ।

४२ करोडको सेयर निष्कासन

यसैबीच तल्लो मोदीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । आयोजनाको आईपीओ (प्रारम्भिक सेयर निष्काशन) सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ । कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौंले प्रतिसाधारण सेयर एक सय रुपैयाँ दरमा ४२ करोड रुपैयाँबराबरको रु. ४२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।