आज मेरो देशमा
जताततै त्रास फैलिएको छ
हिजोसम्म छङछङ गर्ने स्वच्छ खोला–खहरे
आज कैयौँ मानिसको लाससँगै
डुङ्डुङ्ती गनाउने भएको छ ।
जताततै बाढी र पहिरोले
घरबारविहीन हुनेहरू
बाबा–आमा र छोराछोरी गुमाएर
रातदिन रुनेहरू
पुकारिरहेका छन् सत्ताका माहुतेहरूलाई
तर खै कता छन् तिनीहरू ?
यिनै नेताहरू हुन्–
भोट माग्ने बेला कतै चुक्दैनन्
तर, आपतविपत् पर्दा कतै पुग्दैनन् ।
पीडित एवम् विस्थापितहरू
रूखमुनि रात बिताइरहेका छन्
आङ ढाक्ने नाना छैन
पेट सेक्ने दाना छैन
छ त केवल–
आफन्त गुमाउँदाको पीडा र त्रास
बाँचेर पनि मरेतुल्य ज्युँदो लास †
बडेमानका पहराहरू मध्यरातमा
टाउकोमाथि खस्दा
नङ्ग्रा खियाएर खाने जमिन
बगरमा परिणत हुँदा
कस्तो भयो होला ?
विपत्तिले छुरा रोप्दा मुटुभित्र
गुमाउँदा आफन्त र इष्टमित्र
कस्तो भयो होला †
कस्तो भयो होला ††
आज देश दुःखेको छ
नेपालआमाको छाती चिरिएको छ
तर पनि जिउनुपरेकै छ ।
– रातोपुल, काठमाडौं
प्रतिक्रिया