प्रसूति सेवाकेन्द्र सञ्चालन नहुँदा घरमै बच्चा जन्माउन बाध्य नेपालगञ्जका गर्भवती

प्रसूति सेवाकेन्द्र सञ्चालन नहुँदा घरमै बच्चा जन्माउन बाध्य नेपालगञ्जका गर्भवती


नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनामा ५७ महिला घरमै सुत्केरी भएका छन् । आर्थिक वर्ष ०७४–७५ मा १५० महिला सुत्केरी भएका थिए ।

पुरैना स्वास्थ्य चौकीदेखि भेरी अञ्चल अस्पतालको दूरी करिब चार किलोमिटर मात्र छ । चौकीले बर्थिङ सेन्टर (प्रसूति सेवाकेन्द्र)का लागि भवन बनाएको छ, तर बाटो नहुँदा सञ्चालन गर्न सकेको छैन । ‘हामी भेरी अञ्चल अस्पतालमा सिफारिस गर्छौँ, अस्पताल जानुको साटो स्थानीय घरमै बच्चा जन्माउँछन्,’ चौकी प्रमुख नन्दा सेनले भनिन्, ‘आफ्नै टोलमा प्रसूति सेवाकेन्द्र प्रयोग हुँदा सबैलाई दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउन सकिन्थ्यो ।’

यो समस्या मधेसी समुदायमा बढी देखिएको छ । उपमहानगरमा रहेका ११ वटा स्वास्थ्य चौकीमध्ये मनिकापुर, पुरैनी, उदयपुर र जैसपुरमा मात्र प्रसूति सेवाकेन्द्र छ । उपमहानगरमा नगर स्वास्थ्यकेन्द्र सातवटा छन् । तिनमा कुनै पनि प्रसूति सेवाकेन्द्र छैनन् । भवनीयापुरमा भने प्रसुति सेवाकेन्द्र भए पनि दक्ष प्रसूतिकर्मीको अभावमा सञ्चालन हुन नसकेको उपमहानगर स्वास्थ्य शाखाका हरिहर तिवारीले बताए ।

उपमहानगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष तीन हजार ६ सय ४६ जनाले प्रसूति सेवा लिएकोमा १५ जनाले मात्र घरमै बच्चा जन्माएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार आव ०७४–७५ मा उपयुक्त स्वास्थ्यसेवाको अभावमा अभावमा १२ महिलाले ज्यान गुमाएका थिए । तीमध्ये ८ जनाको प्रसूतिकै क्रममा मृत्यु भयो । तीनजनाको गर्भवती अवस्थामै ज्यान गएको थियो ।

बाँके युनेस्को क्लबका नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम अधिकृत रोशन थापा नगरभित्रै प्रसूति सेवाकेन्द्र नहुँदा सर्वसाधारण घरमै प्रसूति गराउन बाध्य भएको बताउँछन् । प्रसूति सेवाकेन्द्र तथा स्वास्थ्य संस्थाको सेवा सुधारका लागि युनेस्कोले पनि सहयोग गरेको छ ।

सेवा पाए–नपाएकोबारे जिल्ला जनस्वास्थ्य कार्यालय सम्मिलित टोलीले अनुगमन गर्छ । ‘नगरभित्रै कुल प्रसूतिको चार भागमध्ये एक चौथाइले घरमै प्रसूति गराउँछन् । भेरी अञ्चल अस्पतालमा चाप भएर पनि कतिले बाध्य भएर घरमै बच्चा जन्माउने गरेका छन् ।

सुविधासम्पन्न अस्पताल भएको उपमहानगरको बुलबुलिया र मनिकापुर क्षेत्रमा दुईजना मात्र प्रसूतिकर्मी छन् । यी घटनाक्रमले पनि जिल्लामा सुरक्षित प्रसूतिबारे जनचेतनाको अभाव देखिन्छ । सरकारले गर्भ रहेको चार, ६, आठ र अन्तिमपटक गरी चारपटक गर्भवती जाँच गर्न अनिवार्य गरेको छ । यसरी नियमित गर्भ जाँच गराउने महिलाले यो आर्थिक वर्षदेखि रु. ८०० भत्ता पाउनेछन् ।

जिल्लामा आधाभन्दा बढी गर्भवती महिलाले नियमित गर्भ परीक्षण नै गर्दैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयको आव ०७४–७५ को तथ्यांकमा १२ हजार ९ सय ४५ महिलाले पहिलोपटक गर्भ जाँच गराएको देखिन्छ । नियमानुसार चारपटक गर्भ जाँच गराउने महिलाको संख्या झन्डै आधा मात्र अर्थात् ६ हजार ३८२ रहेको छ । चौथो तथा अन्तिमपटक गर्भ जाँच गराउनेको संख्या भने आठ हजार ७ सय ७५ पुगेको थियो ।
रासस