प्रदेश नं १ स्तरीय मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि धनकुटामा शुरु भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं १ को आयोजनामा शुरु भएको सो प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सङ्खुवासभा, मोरङ, ओखलढुङ्गा, झापा र सुनसरी विजयी भएका छन् । सङ्खुवासभाले खोटाङलाई २५–१४ र २८–२६ अङ्कले हरायो भने मोरङले इलामलाई २५–२२ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो ।
त्यस्तै सुनसरीले भोजपुरलाई २५–१९ र २५–१८ अङ्कले, ओखलढुङ्गाले ताप्लेजुङलाई २५–२० र २८–२६ अङ्कले तथा झापाले धनकुटालाई २५–१० र २५–१५ को सोझो सेटमा पराजित ग¥यो । प्रतियोगितामा प्रदेश नं १ का १४ जिल्लाको सहभागिता रहेको स्पोर्टस् एकेडेमीका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ट्रफिसहित रु एक लाख ५१ हजार १११, उपविजेताले रु एक लाख एक हजार १११, तेस्रो हुनेले रु ५१ हजार १११ तथा चौथो हुनेले रु २५ हजार १११ पुरस्कार पाउने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट सर्भिस, ब्लकर, स्पाइकर, सटर, डिफेन्डर र उदयीमान खेलाडीलाई जनही रु पाँच हजार पुरस्कार दिइनेछ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया