बाँदरले दुःख दिएपछि गाउँ छाड्न बाध्य

बाँदरले दुःख दिएपछि गाउँ छाड्न बाध्य


बाँदरको आतंक बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीय समस्यामा परेका छन् ।

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करिब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् ।

विगतका वर्षमा कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको स्थानीय टेकबहादुर तामाङले बताए । उनले भने, ‘तल्लो भेगका मानिस अन्यत्र गएपछि अहिले हामीलाई समेत समस्या भएको छ, परिवारका एकदेखि दुईजनाले बाँदर हेर्दैमा दिन बित्ने गरेको छ ।’

यतिबेला बाँदर मकैको थांग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयवासीले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । सरकारले बाँदरलाई मार्न नदिएपछि झनै समस्या भएको स्थानीयको गुनासो छ ।

सोही ठाउँका तीर्थबहादुर प्रधानले भने, ‘बाँदरको उपद्रो बढ्दो छ, एक घन्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ, यसबाट यहाँको बस्ती नै आतंकित बनेको छ ।’

उनले बाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । ‘खोइ सरकारले बाँदर मार्नुहुन्न भन्ने कानुन ल्याएको छ रे, यो उपद्रो हेर्दा सरकारले नै बाँदर नियन्त्रणमा पहल गर्नुपर्छ,’ प्रधानले भने । बाँदरआतंकका कारण धेरै स्थानीयवासी बसाइँ सरिसकेका छन् । यसरी बसाइँ सर्ने हो भने गाउँ नै खाली हुने सम्भावना रहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना बनाएर काम गर्ने वडा नम्बर ४ का अध्यक्ष फौदसिंह कार्कीले बताए । उनले भने, ‘बाँदरआतंकको विषय वडा कार्यालयमा पनि आइरहेको छ, यसको समाधानका लागि गाउँपालिकासँग छलफल गरेर काम अगाडि बढाउँछु ।’ बाँदरकै कारण बसाइँ सर्दा दिनानुदिन खेतीयोग्य जमिन बाझिँदै गएको पनि छ ।