हनुमन्ते करिडोर निर्माण शुरु, दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य

हनुमन्ते करिडोर निर्माण शुरु, दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य


भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माणकार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्गअन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा करिडोर निर्माणको शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु. ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकारसम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिए ।

हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाई करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ । बागमती नदीको सहायक नदीका रूपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले दुई किलोमिटर नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कुल लम्बाइ नौ किलोमिटर छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ ।

आयोजना प्रमुख घिमिरेले करिडोर निर्माणका लागि हनुमन्ते नदीलाई चार भागमा विभाजन गरी करिडोर निर्माणको प्याकेज तयार गरिएको र पहिलोचरणमा दुई किलोमिटर नदी क्षेत्रमा काम शुरु गरिएको जानकारी दिए । करिडोर निर्माणअन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिनेछ । आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ ।

सो अवसरमा सांसद बस्नेतले आगामी दुई वर्षभित्र करिडोर निर्माण सम्पन्न गर्ने बताउँदै भक्तपुरलाई सवारी चापमुक्त बनाउने र हनुमन्तेको पानी बस्तीमा पस्नबाट रोकिने बताए । अब हनुमन्ते ढल नदीमा मिसाए कडा कारबाही गरिने बताउँदै बस्नेतले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने दाबी गरे ।

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले हनुमन्ते करिडोर निर्माणले भक्तपुरको विकासमा नयाँ खुट्किलो थपिएको बताए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आएपछि भक्तपुरको विकासले फड्को मारेको बताउँदै आगामी चार वर्षभित्र भक्तपुरको गाउँगाउँको मुहार फेरिने दाबी गरे ।

नेपाली कांग्रेस भक्तपुरका युवा नेता अष्टकुमार कबेले भक्तपुरको विकासमा कुनै दल वा पार्टी भनेर विभाजित नभई सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यस अवसरमा मध्यपुरथिमि नगरपालिकाका पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठले विकासमा कुनै समस्या आएमा सबै मिलेर छलफल र वार्ता गरी समाधान गरेर अगाडि बढ्नुपर्ने बताए ।