भारत दोस्रो दक्षिण एसियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम इभेन्ट्सको अन्तिम चारमा प्रवेश गरेको छ । भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारत, बंगलादेश, नेपाल, श्रीलंका र माल्दिभ्स गरी पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ‘ए’मा रहेका छन् । भारत समूह ‘ए’को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै, भारतसँग पराजित भए तापनि बंगलादेश समूह उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश छ ।
पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१–१७, २१–१८ ले पराजित गरे । यस्तै, महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१–४, २१–९ ले हराइन् । पुरुष युगलतर्फ भारतका विष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१४, २१–९ ले तथा महिला युगलतर्फ पूर्वा बर्भे र तनिशा क्रोस्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१–११, २१–९ ले पराजित गरे । त्यस्तै मिक्स युगलतर्फको खेलमा विष्णु बरदान र तनिशा क्रोस्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारबिन बिन्ता इमदालसँगको खेलमा २१–८, २१–८ ले जित निकालेका थिए ।

नेपाल श्रीलंका र माल्दिभ्ससँगै समूह ‘बी’मा रहेको छ । समूह ‘बी’को पहिलो लिग खेलमा श्रीलंकाले माल्दिभ्सलाई ४–१ ले पराजित ग¥यो । श्रीलंकाका रनतोस्का सासिन्दुले माल्दिभ्सका अहमद निवाललाई २१–१३, २१–११ ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१–६, २१–११ ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप इरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१–७, २१–१० ले तथा हासिनी अम्बलांगोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१–१०, २१–१९ ले पराजित गर्दै लगातार ४ जित निकालेको थियो । मिक्स युगलको खेलमा भने माल्दिभ्सले जित निकाल्यो । माल्दिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१–१९, १५–२१ र २१–१८ ले पराजित गरे ।
नेपाल र श्रीलंकाबीच भएको मिक्स टिम इभेन्ट्समा नेपालले ३–२ को जित निकाल्यो । पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले श्रीलंकाका रन्थुस्का ससिन्दुलाई २२–२०, २१–१३ ले हराए । महिला एकलतर्फ रसिला महर्जन दिल्मी दियाससँग १२–२१, १२–२१ ले पराजित भइन् । पुरुष युगलतर्फ नवीन र प्रिन्स दाहालले श्रीलंकाका चिराथ इल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१–१८, २३–२१ ले पाखा लगाए । महिला जोडीतर्फ रसिला महर्जन र जेसिकाको जोडी श्रीलंकाका दिल्मी दियास र हासिनी अम्बालांगादेको जोडीसँग २१–१३, २१–८ ले पराजित भयो । यस्तै, मिक्स जोडीतर्फ प्रिन्स दाहाल र रसिला महर्जनको जोडीले श्रीलंकाका रन्थुस्का र दिमी दियासको जोडीलाई २१–१९,२१–१३ ले पराजित गर्दै ३–२ को जित निकालेको हो ।
अब नेपालले अन्तिम चारको यात्रा तय गर्न मंसिर १२ गते बुधबार (आज) हुने माल्दिभ्ससँगको खेलमा जित निकाल्नुपर्नेछ । अन्यथा माल्दिभ्ससँग हारेको खण्डमा हेड टु हेडको आधारमा जित–हारको निर्णय हुने रेफ्री किरणगोपाल कारञ्जितले बताए ।
प्रतिक्रिया