सवारी सुरक्षामा यस्तो छ लापरबाही– मुक्तिनाथ भुसाल

सवारी सुरक्षामा यस्तो छ लापरबाही– मुक्तिनाथ भुसाल


muktiमुलुकमा प्रत्येक दिन साना–ठूला सवारीसाधनहरू दुर्घटना हुँदै गर्दा अर्घाखाँचीमा पनि यसको असर पर्ने नै भयो । भौगोलिक बनावटलाई आधार बनाउँदा समथर भूभागमा भन्दा पहाडी र हिमाली भूभागमा हुने दुर्घटनाले भयानक मानवीय क्षति निम्त्याइरहेको सबैसामु छर्लङ्गै छ । सवारी दुर्घटना हुनुमा यान्त्रिक गडबडीको अलावा कैयन अन्य मानवीय कारण या समस्याहरू रहेका हुन्छन् ।
अर्घाखाँचीको सन्दर्भमा केन्द्रित भई भन्नुपर्दा सदरमुकाम पुग्ने एक मात्र गोरुसिङ्गे–सन्धिखर्क पक्की सडक अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको छ । पत्थरकोटदेखि शान्ति बगैँचासम्मको साँघुरो र जीर्ण सडकका कारण दिनहुँ साना–ठूला सवारीसाधनहरू दुर्घटना भइरहेका छन् । सडकको बजेटमा हुने भ्रष्टाचार र अनुगमनकारीहरू डिभिजन सडक कार्यालयको पक्षमा रहेका कारण यस्तो अवस्था निम्तिएको स्थानीय रामबहादुर खनालको भनाइ रहेको छ । सडक मर्मतको शीर्षकमा मोटो बजेट विनियोजन गरी डिभिजनका कर्मचारीलाई करोडपति बनाउने प्रपञ्चमा सडक विभागको भूमिका रहेको कारण हालसम्म सयौँ यात्रुले अकालमा ज्यान गुमाइसकेका छन् । सडकको दयनीय अवस्था संविधानसभामा पुगेका जनप्रतिनिधिदेखि राज्यका निकायलाई जानकारी भए पनि सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुको विरुद्ध आवाज नउठाउनु सर्वसाधारणका लागि विडम्बना नै हो । राज्य पक्षबाट उपेक्षा गरिएको यो जोखिमपूर्ण सडकमा दुर्घटना न्यूनीकरणका लागि सबै तह र तप्कामा रहनेहरू होसियार बन्नु आवश्यक छ ।
अर्घाखाँचीमा बस, हायस माइक्रो बस र जिपहरूले सवारी बोक्ने गर्छन् । अत्यधिक सवारी चाप भएको अर्घाखाँचीमा जिप र हायसमा मात्र यात्रा गर्छु भन्नेहरूले हप्तौँ पालो कुर्नुपर्ने अवस्था रहेको छ । जिपहरू प्रायः बाह्रै महिना गाउँमा चल्ने कारण सदरमुकाममा आउँदा गाउँबाटै सिट प्याक भएर आउने गर्छन् । बुटवल कृष्णनगरका सवारी लिएर आउने कारण धेरैजसो समयमा चाहेको बखत जिपमा सवार गर्न सकिँदैन । गाउँमा हिलो र धुलोको सामना गर्दै सदरमुकामदेखि कालोपत्रेमा हुइँकिने जिपहरू म्युजिक सिस्टमको आनन्द लिँदै दौडिरहेका हुन्छन् । जिपहरूले अगाडिको घुम्तीमा आइरहेका स्कुटर वा मोटरसाइकलको हर्न पनि म्युजिकका कारण सुन्न सक्दैनन् । दर्जनौँ साँघुरा मोडमध्ये कुनै एकमा हर्न बजाउन जिपले बिर्सिए वा त्यसै समय मोबाइलमा भलाकुसारी गर्नुप-यो भने वर्षौं पुराना सवारी तथा निजी जिप र साना गाडीहरूका कारण बीचमा दुर्घटना स्वतः भित्रिन सक्ने अनुमान लगाउन सकिन्छ ।
पश्चिमाञ्चल बस व्यवसायीद्वारा सञ्चालित सयभन्दा बढी बस अत्यन्तै सुविधायुक्त र कन्डिसनमा रहेका छन् । सदरमुकाम सन्धिखर्कदेखि बुटवल कृष्णनगर–काठमाडौंलगायतमा सवारी ओसारपसार गर्दैगर्दा एउटा नम्बर लिएपछि धेरै दिन खाली बस्नुपर्ने समस्या उनीहरूमा रहेको छ । यसरी महिनामा आधा दिन मात्र गुड्ने क्रममा पाएजति यात्रु भित्र र बाहिर राख्न उनीहरूका लागि बाध्यता भए पनि यसको निगरानी र व्यवस्थापन गर्ने पक्ष भने सक्रिय देखिँदैनन् । प्रायजसो परिपक्व मालिक वा चालक रहेका बसहरूका लागि निश्चित समय निर्धारण गरिएको कारण सुविधायुक्त गाडीमा राखिएका म्युजिकको तालमा गुड्ने कारण यिनीहरूले पनि स–साना घुम्तीमा आएका सवारीसाधनको हर्न सुन्न असमर्थ भएको स्वाङ पार्छन् ।
गोरुसिङ्गे–सन्धिखर्क सडकको दुर्घटना न्यूनीकरण गर्नका लागि बसको क्याबिन भाग र जिप तथा ट्रक, टिप्परको म्युजिक सिस्टम हटाउनु बुद्धिमानी देखिन्छ । सवारी बोक्ने जिप तथा बसहरूले छतमा मानिस बोक्न नपाउने नियम व्यवहारमा लागू हुन सकेको छैन । यो नियम व्यवहारमा साँच्चिकै लागू गराउँदै सिटमा मात्रै सवारी बोक्ने हो भने महँगो किस्ता र डिजलका कारण पहाडी सडकमा यात्रु बोकेर केही फाइदा नहुने गुनासो गाडीवालहरूको रहेको छ । गाडीको छतमा मानिस राख्दा गाडीवालाको अलवा सम्बन्धित ट्राफिक प्रहरीलाई पनि फाइदा हुने कारण यसको असर सवारीलाई परेकोतर्फ सरोकारवालाहरूले ध्यान दिनु आवश्यक देखिन्छ । हालसम्मका दिनहरूमा दशैँ–तिहारका बेला चल्ने सवारीसाधनभित्र र छतमा भरिभराउ यात्रीहरू यात्रा गर्दैगर्दा प्रहरीको नजिक आइसकेपछि छतका मानिसलाई ओराली पैदल हिँडालिन्छ र चौकी पार गराएपछि पुनः चढाउने काम गरिन्छ । अत्यधिक सवारीलाई वैकल्पिक व्यवस्था गर्ने बाटाघाटामा बसेका सुरक्षाकर्मीका लागि असमर्थ हुने कारण गाडीवालासँग गोप्य रूपमा ‘पर्वखर्च’ माग्नु र गाली गरेजस्तो गर्नुबाहेक उनीहरूसँग विकल्प पनि छैन ।
अर्घाखाँचीमा सवारीसाधन दुर्घटना हुनुको अर्को कारण एक–आपसको घमण्ड पनि एक हो । पाटीपौवा वा प्रतीक्षालयमा बसी उनीहरूका गफ सुन्ने हो भने बसवालाहरूले आफ्नो अभिभावकीय संस्था अर्थात् पश्चिमाञ्चल बस व्यवसायी समिति धनी र पावरवाला भएको कारण जे–जस्तो परे पनि उसैले जिम्मा लिन्छ भन्ने आशय भेटिन्छ । स–साना सवारीसाधन अर्थात् सामान्य व्यवसायीका गाडीसँग भिडन्त परेमा आफ्नो सामान्य गल्ती स्वीकार गर्ने बसवालाहरू पनि सहजै मान्ने पक्षमा रहँदैनन् । देउराली दीप व्यवसायी समितिद्वारा सञ्चालित जिपहरू पनि बसवालाभन्दा कमी नभएको र सन्धिखर्क–बुटवल सडकमा उपेक्षा गरेमा गाउँमा बदला लिन सक्ने दरिलो अङ्कुश बनाएको अनुभूति हुन्छ । जिपमा परिपक्क चालकहरू कमै भएको र नयाँ चालकहरूले तेज गतिमा चलाउने कारण ढुक्क हुने अवस्था देखिँदैन । केही समय पहिलेसम्म बिनामापदण्ड वितरण गरिएका चालक लाइसेन्स लिने केहीमध्ये शिक्षाको कमीका कारण दुर्घटना भइहाले बढीमा ३५ दिन थुनामा बस्ने त हो भन्ने सोचाइ पनि यदाकदा पाउन सकिन्छ ।
जोखिमपूर्ण सन्धिखर्क–गोरुसिङ्गे सडकमा चल्ने सवारीसाधनहरूको सवारीद्वारा उचित सम्मान, म्युजिक सिस्टममा निषेध, बसमा लगाइएको निश्चित समयावधिमा सुधार, ओभरलोडिङको नियन्त्रण र बाटाघाटामा सुरक्षाकर्मीद्वारा सकारात्मक व्यवहार र रेखदेख हुन सके पक्कै पनि भयावह दुर्घटना टर्न सक्ने सर्वसाधारणको भनाइ छ ।