राप्रपाभित्र सैद्धान्तिक लडाइँ प्रारम्भ

राप्रपाभित्र सैद्धान्तिक लडाइँ प्रारम्भ


महाधिवेशनको तिथि जति नजिकिँदै छ, राप्रपाभित्र नेतृत्व निमित्तको होडबाजी पनि त्यति नै तीव्र हुँदै छ । राप्रपाको विधानले एकल नेतृत्वको व्यवस्था गरेका कारणले पनि नेतृत्व निमित्तको होडमा तीव्रता आएको हो । यसक्रममा पार्टीभित्रै एकले अर्काेलाई सिध्याउने खेल जोडतोडका साथ चलेको छ ।

कतिपय गलत र काल्पनिक कुराहरूको सिर्जना गरी प्रचार गर्ने तथा एक–अर्काविरुद्ध हिलो छ्याप्ने प्रवृत्ति पनि सो पार्टीभित्र देखापरेको छ । चन्द खेमाबाट राजेश्वर देवकोटालाई अध्यक्षको उम्मेदवार बनाइने प्रायः निश्चित भइसकेको छ । चन्दका लागि आफैँ उम्मेदवार नबनेको अवस्थामा थापासँग टक्कर लिन सक्ने देवकोटाबराबरका कुनै व्यक्तित्व छैन पनि । पुराना र पार्टीप्रति समर्पित व्यक्तिका रूपमा देवकोटाको अलग्गै पहिचान कायम भएको छ । त्यसो त चालबाजीमा पनि उहाँ माहिर मानिनुहुन्छ ।

पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र मोहम्मद मोहसिनलाई थापा समूहबाट बिच्क्याउन सके मात्र आफ्नो लक्ष्य पूरा हुने ठानी देवकोटा अचेल राणा र लोहनीहरूलाई थापाविरुद्ध भड्काउन अनेकौँ प्रयत्न यस कार्यमा गर्दै हुनुहुन्छ । तर, अहिलेसम्म यस कार्यमा उहाँले सफलता प्राप्त गर्न सक्नुभएको छैन । र, उहाँ निराश भइसक्नुभएको पनि छैन ।

आगामी कात्तिक २७, २८ र २९ गते वीरगन्जमा हुने महाधिवेशनको तयारीमा जुटेका राप्रपा नेताहरूबीच केही सैद्धान्तिक सवालहरूमा स्पष्ट मत–भिन्नता रहेको पाइएको छ । खासगरी ०४६ सालको जनआन्दोलन, संविधान र राष्ट्रियताका सवालमा चन्द र थापा पक्षबीच दृष्टिकोणको भिन्नता रहेको छ । राप्रपाभित्रको अनुदारवादी समूहका रूपमा चिनिन चन्द पक्षले २०४६ को आन्दोलनप्रति अझै सकारात्मक दृष्टिकोण बनाउन सकेका छैनन् भने थापा पक्षले त्यसै घटनालाई युगान्तकारी परिवर्तन भन्ने ठानेको छ ।

त्यसैगरी वर्तमान संविधानलाई पनि चन्द पक्षले दरबारलाई घेरेर ल्याइएको खोस्टोबराबर मात्र मान्ने गरेको छ भने थापा पक्षले जनआन्दोलनको दस्तावेजका रूपमा चित्रण गर्ने गरेको छ । त्यस्तै, चन्दहरू अन्धराष्ट्रवादी मानिन्छन् भने थापाहरूले सकारात्मक प्रजातान्त्रिक राष्ट्रवादको अवधारणा अघि सारिरहेका छन् । काङ्ग्रेस र एमालेलाई हेर्ने दृष्टिकोणमा पनि दुईपक्षबीच निकै अन्तर पाइएको छ । चन्द खेमा काङ्ग्रेसलाई पराया र एमालेलाई आफन्त ठान्दछ भने थापा खेमाले काङ्ग्रेसलाई मित्रशक्ति र एमालेलाई दुश्मन पङ्क्तिको शक्तिका रूपमा परिभाषित गरेको छ ।

यिनै पृथक् सोचाइ र दृष्टिकोणहरू लिएर राप्रपा महाधिवेशनमा जुटेको छ । राप्रापका कार्यकर्ताहरूले कसको दृष्टिकोणलाई आत्मसात् गरेर कसलाई साथ दिने हुन् सोको जानकारी भने महाधिवेशनपश्चात् नै प्राप्त हुनेछ ।

(घटना र विचार साप्ताहिक २०५४ असोज १ गते बुधबार)