माघ आठमा संविधान एउटा सपना मात्र

माघ आठमा संविधान एउटा सपना मात्र


mainnewsचक्रब्यूहमा फस्दै दलहरू
नयाँ संविधान निर्माण गरी आगामी माघ आठ गतेभित्र जारी गरेर मात्र पदत्याग गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री सुशील कोइरालाको इच्छा पूरा नहुने सङ्केतहरू देखिन थालेका छन् । बेलाबखत बर्बराउने र बिनाकारण रिसाउनेजस्तो असामान्य व्यवहार देखाउन थालेका कोइरालाको स्वास्थ्यले कति समय साथ दिने हो भन्ने आशङ्का प्रकट भइरहेका बेला नकारात्मक दिशातर्फ अग्रसर राजनीतिले उनको इच्छा पूरा नगर्ने सङ्केत गरेको हो । संविधानको अन्तरवस्तुमा कायम मतान्तर कम गर्न सुशील कोइराला पूर्ण असफल भएका छन् । सङ्घीयता, शासकीय स्वरूप र निर्वाचन पद्धतिजस्ता विषयमा उत्पन्न मतभिन्नता र विवादले परिस्थितिलाई असहज बनाउँदै लगिरहेका बेला संविधान निर्माणको प्रक्रियालाई लिएर थप तनाव पैदा हुने सम्भावना देखापरेको छ । संविधानसभाभन्दा बाहिर रहेका नेकपा–माओवादीसहित तेत्तीसदलीय मोर्चालाई समेत समेट्ने भन्दै गोलमेच सम्मेलनमा जान काङ्गे्रस–एमाले मञ्जुर भएपछि कार्यतालिकाबमोजिम निर्धारित समयमा संविधान निर्माण हुने सम्भावना घटेको, संविधान बन्दैनबन्ने सम्भावनाचाहिँ बढेको छ । ‘राष्ट्रिय राजनीतिक सभा’ नाम दिइएको सर्वदलीय बैठक आगामी असोज ४ गतेसम्ममा गर्ने सोच बनेको भए पनि त्यससम्बन्धी विस्तृत कार्ययोजना तय हुन सकेको छैन । सबैलाई समेटेर संविधान निर्माण गर्ने तत्परताको रूपमा ‘राजनीतिक सभा’लाई लिइए पनि त्यसमा नागरिक समाजका प्रतिनिधि तथा एउटा शक्तिको रूपमा रहेको पूर्वराजालाई सामेल गराइने सोच बनेको छैन । अन्तरवस्तुमा समेत सामान्य सहमति बनाएर मात्र ‘गोलमेच’मा जाने योजनाका साथ कार्यदल (चारपक्षीय) मा छलफल भइरहेको छ, तर अन्तरवस्तुमा सहमतिको सम्भावना अहिलेसम्म देखिएको छैन । कार्यदलमा काङ्गे्रस–एमालेको प्रस्तुति र व्यवहारलाई लिएर एमाओवादी र माओवादी सशङ्कित भएका छन् । कतै गोलमेच (राजनीतिक सभा) नै नगरिने हो कि भन्ने आशङ्का उनीहरूले गरेका छन् ।
यद्यपि काङ्गे्रस–एमाले गोलमेच सम्मेलनका निम्ति राजी भए पनि उनीहरू माओवादी अवधारणाअनुरूपको संविधान निर्माण गर्न तयार छैनन् । गोलमेच सम्मेलन भएकै अवस्थामा पनि दलहरूबीच संविधानको अन्तरवस्तुमा सहमति बन्ने विश्वासको आधार देखिएको छैन । त्यसैले गोलमेच सम्मेलनको चक्कर अन्ततः समय बर्बादी मात्र हुनसक्ने प्रबल सम्भावना छ । यसरी एकातिर ‘गोलमेच’को चक्करमा दलहरू परिरहेका छन् भने अर्कोतिर गत वर्षको पुस ९ गते भएको चारबुँदे सम्झौता कार्यान्वयनले बेग्लै समस्या पैदा गरेको छ । एमाओवादीलाई संविधानसभामा भित्याउने उद्देश्यबाट गरिएको उक्त सम्झौता कार्यान्वयन गर्न एमाओवादीले दबाब दिँदै आएको छ र यसै विषयलाई लिएर संसदीय बैठकमा उत्पन्न गतिरोध अझै अन्त्य भएको छैन । मधेसी र केही जातीय समूहहरू आगामी दीपावलीपछि सङ्घर्षमा उत्रने तयारी गर्दै छन् । जातीय तथा क्षेत्रीय हितलाई केन्द्रबिन्दुमा राखेर सुरु गर्न लागिएको उक्त सङ्घर्ष अहिंसात्मक तर निकै आक्रामक हुने सम्बद्ध पक्षले जनाएका छन् । उता नेकपा माओवादीसहित तेत्तीसदलीय मोर्चाले पनि तिहारपछि सङ्घर्ष सुरु गर्ने योजना बनाएको छ । दलहरूको स्थिति र उनीहरूबीचको अन्तरविरोधलाई दृष्टिगत गर्दा संविधान बन्न निकै मुस्किल पर्ने देखिन्छ । संविधान बन्नका निम्ति सबभन्दा पहिले काङ्गे्रस–एमालेबीच अन्तरवस्तु र प्रक्रियाका बारेमा सहमति बन्न आवश्यक हुन्छ । त्यसपछि एमाओवादीसँग समझदारी बन्नुपर्ने, त्रिपक्षीय समझदारीपछि माओवादी, राप्रपा नेपाल, मधेसकेन्द्रित समूह र राजावादी समूहहरूसँग समेत एकप्रकारको सम्झौता हुनुपर्ने अवस्था छ । उल्लिखित सबै पक्षका बीचमा समझदारी नभई जारी गरिने संविधान कार्यान्वयनमा आउने या दिगो बन्ने विश्वास गरिँदैन । तर, दलहरूबीच आपसी मतभिन्नता, तनाव, विवाद र अविश्वासको स्थिति कायम छ । कसैले कसैलाई विश्वास गर्ने अवस्था पैदा भएको छैन । बरु एक–अर्काविरुद्ध षड्यन्त्र रच्ने, झुलाउने, भुलाउने र छक्याउने सोच सबै पक्षमा देखिएको छ । चारबुँदे सम्झौताको कार्यान्वयन, गोलमेच सम्मेलन र दुईतिहाइ बहुमतबाट संविधान जारी गर्नेजस्ता कुराहरूलाई यस्तै खेलको अस्त्रका रूपमा लिन थालिएको छ । त्यसैले माघ ८ गते संविधान आउने सपना सपनै मात्र हुनसक्ने ठान्न थालिएको छ ।