युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको गैरकानुनी निर्णयले अहिले खेलकुदमा सनसनी फैलिएको छ । आसन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा मन्त्री पौडेलले वैकल्पिक खेलाडीको छनोट गरी दक्षिण कोरियाका लागि स्वीकृति प्रदान गरेपछि उनी विवादमा तानिएका हुन् । तेक्वान्दो टोलीका १२ जना खेलाडी अहिले वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियामा व्यस्त रहे पनि मन्त्री पौडेलले तेक्वान्दो युनियनको तर्फबाट एक खेलाडी छनोट गरी त्यहाँ पठाउने गैरकानुनी निर्णय गरेपछि उनको चौतर्फी विरोध भएको छ । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले मन्त्री पौडेलको यो कदमको विरोध गर्दै तेक्वान्दो खेललाई किन विवादमा ल्याउन खोजिएको हो त्यो आफूले नबुझेको बताएका छन् । राणाले तेक्वान्दो खेलाडीको पूरै सेट हुँदाहुँदै जिम्मेवार निकायले किन यस्तो कदम उठाएको हो, त्यो गम्भीर विषय भएको बताएका छन् ।
एसियाड तयारी समितिको अध्यक्षसमेत रहेका मन्त्री पौडेलले एसियाडमा आफ्ना सहयोगीलाई छानी–छानी पठाउँदै राज्यको ढुकुटी सिध्याउनमा कुनै कसर बाँकी राखेका छैनन् । पदक जित्नेभन्दा पनि सहभागितालाई बढी जोड दिएका मन्त्रीले अझ वैकल्पिक खेलाडीलाई कोरिया घुमाउने निर्णय गर्नुले एसियाडमा नेपालको सहभागिता केका लागि हुँदै छ त्यसको पर्दाफास प्रस्ट रूपमा भएको छ । एमाले कार्यकर्तालाई दक्षिण कोरिया घुमाउन साम, दाम, डण्ड, भेद चारै नीति अवलम्बन गरिरहेका मन्त्री पौडेलले एसियाडमा राखेपका पदाधिकारीको अनुपस्थितिको पनि निकै फाइदा उठाइरहेका छन् । अन्यथा एउटा पदकसमेत जित्ने ग्यारेन्टी नभएको नेपाली टोली तीन सयको जम्बो टोली कदापि हुने थिएन । १७औँ एसियाडमा नेपाल जम्बो पाँच टोलीमा परेको छ । मन्त्री पौडेलले गति छोडेर लाजमर्दो कार्य गरे पनि सरकारले मौनता साँध्नु खेलकुद र खेलाडीका लागि दुर्भाग्य बनेको छ ।
खेलकुदमा राजनीति भएको दाबी
युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलकुदमा राजनीति हावी भएको दाबी गरेका छन् । शर्माले उक्त कुरा हालै संविधानसभाको सदस्यमा मनोनीत भएका गणेश थापाको सम्मानमा अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त रहस्य खोलेका हुन् । हालै बढुवा भएर युवा तथा खेलकुद मन्त्रालयमा आएका सचिव शर्माले १७औँ एसियाली खेलकुदमा सहभागिताका क्रममा अनावश्यक रूपमा राजनीतिक दबाब खेप्नुपरेको सो अवसरमा जानकारी गराएका थिए । खेलकुदसँग असम्बन्धित व्यक्तिहरूलाई राजनीतिक पार्टीले कोरिया पठाउन सिफारिस गरे पनि त्यस्ता व्यक्तिको आफूले पहिचान गरी व्यापक काँटछाँट गरेकोसमेत खुलासा गरेका थिए । सो अवसरमा शर्माले खेलकुद व्यक्तित्वभन्दा राजनीतिक आस्थाका आधारमा राजनीतिक दलले सिफारिस गर्दा मन्त्रालयको कार्यमा समेत बाधा र अवरोध सिर्जना भएकाले यसका लागि खुद राजनीतिक दल सच्चिनुपर्ने बताएका थिए । खेलकुद मन्त्रालयको इतिहासमा यसअघिका सचिवहरूले मन्त्रीको चाकरीमा हनुमानगिरी मात्रै गर्दै आएको तीतो सत्य भए पनि सचिव शर्माले त्यसको अन्त्य गर्दै सार्वजनिक रूपमा यस्ता हर्कतको विरोध गरेर आफूलाई उपल्लो कोटीमा राख्न सफल भएका छन् । युवा र इमानदार सचिवको रूपमा शर्माले खेलकुद मन्त्रालयमा पनि आफ्नो कार्य सम्पादनको छाप छोड्ने विशेष लक्षण देखाएका छन् ।
प्रतिक्रिया