शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि प्रथम शंखरापुर नगर वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक शंखरापुर नगर खेलकुद विकास समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाउने शंखरापुर नगर खेलकुद विकास समितिका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी गराए । प्रतियोगितामा सहभागिताको लागि उमेरहद नरहेको, तर सोही वडामा बसोवास गरेको नागरिक हुनुपर्ने आयोजकले जनाएको छ ।
शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले नगरपालिकाका युवाहरूको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताए ।
सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगताको हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।
प्रतिक्रिया