अब उत्कृष्टसँगै ‘सर्वोत्कृष्ट वर्ष खेलाडी’ सम्मानित हुने

अब उत्कृष्टसँगै ‘सर्वोत्कृष्ट वर्ष खेलाडी’ सम्मानित हुने


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आउँदो पुस १३ गते शुक्रबार ‘उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम’को आयोजना गर्ने भएको छ । मंसिर १३ गते बिहीबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक श्रेष्ठले उक्त कुराको जानकारी गराएका हुन् । सो कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले संघको वार्षिक कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप सम्मान गरिन लागेको बताए ।

गत वर्ष सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा उत्कृष्ट खेलाडीलाई सम्मानित गरिएको बताउँदै यसपटक २९ खेलका उत्कृष्ट खेलाडीलाई सम्मानित गर्न लागेको श्रेष्ठले बताए । ०७४ मा सम्पन्न राष्ट्रिय खेलकुद च्याम्पियनसिप (राखेप च्याम्पियनसिप)मा समावेश खेललाई मध्यनजर राख्दै यो वर्ष तिनै खेलका एक–एकजना खेलाडीलाई सम्मानित गर्न लागेको श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । उत्कृष्ट खेलाडीले जनही १० हजार र अवार्ड प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी ०७४ बाट सम्मानित हुने खेलहरूमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, लनटेनिस, सफ्टटेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाकताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आईटीएफ तेक्वान्दो, ब्याडमिन्टन, ट्रायाथलन, ह्याण्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती रहेका छन् ।

त्यस्तै उक्त सम्मान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज जोशी आदर्श खेलाडी’ पुरस्कार प्रदान गरिनेछ । गजराज जोशी ट्रस्टले प्रायोजन गरेको उक्त पुरस्कार २५ हजारको रहेको छ । त्यस्तै गत वर्षदेखि शुभारम्भ गरेको खेलकुद पत्रकार पुरस्कारलाई पनि संघले निरन्तरता दिएको जानकारी गराएको छ । उक्त पुरस्कार प्राप्त गर्ने खेलकुद पत्रकारले सम्मानपत्रसहित १५ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै अध्यक्ष श्रेष्ठले यो वर्षदेखि ‘सर्वोत्कृष्ट खेलाडी पुरस्कार’ प्रदान गर्न लागेको जानकारी गराएका छन् । उत्कृष्ट खेलाडीमध्येबाट छनोट गरिने उक्त सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट एकजना पुरुष र एकजना महिला खेलाडीलाई ‘सर्वोत्कृष्ट वर्ष खेलाडी २०७४’ बाट सम्मानित गरिनेछ । सर्वोत्कृष्ट वर्ष खेलाडी छनोट गर्न संघका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ ।

विगतमा खेलाडी सम्मान कार्यक्रम काठमाडौं र भक्तपुरमा गर्दै आए पनि यसपटक ललितपुरमा गरिने जानकारी गराइएको छ । धार्मिक, पुरातात्विक एवं हस्तकलाको नगरको रूपमा परिचित ललितपुर जिल्लाअन्तर्गत ललितपुर नगरपालिकाको पाटन दरबार स्क्वायरमा खेलाडी सम्मान कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा खेलाडीलाई सम्मानित गरिनुको साथै स्थानीय मौलिकता झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, ललितपुर महानगरपालिका– १६ का वडाध्यक्ष निर्मलराज शाक्य, संघका उपाध्यक्ष दीपक थापा, दीपक महर्जन, चर्चित गायक दीपक बज्राचार्य र विभिन्न खेलका राष्ट्रिय खेलाडीहरूको उपस्थिति थियो ।