नेपाल कपको दोस्रो संस्करण ‘इलाम’मा

नेपाल कपको दोस्रो संस्करण ‘इलाम’मा


sportस्पोर्टस् फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद सङ्घ नेपालको संयुक्त आयोजनामा दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता असोज २३ गतेदेखि ३१ गतेसम्म इलामको फिक्कलमा सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीले जानकारी गराएका छन् । प्रतियोगितामा नेपालका सात र भारतका तीन गरी जम्मा १० टिमको सहभागिता रहने बताइएको छ । हरेकजसो प्रतियोगिता राजधानीकेन्द्रित तुल्याई मोफसललाई उपेक्षा गर्ने गरिएकोले त्यस्तो परम्परा तोड्न इलाम रोजिएको अध्यक्ष शाहीले जानकारी दिए । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान भएको नेपालकै प्रतिष्ठित प्रतियोगिताको रूपमा विकास गरिने पनि उनले बताए ।
नेपालबाट पूर्वाञ्चल क्षेत्रीय प्रहरी टिम, धरान फुटबल क्लब, नवजनजागरण युवा क्लब, सिमरा, युवा जागरण क्लब, चन्द्रनिगाहपुर, जनकपुर ११ तथा इलाम रातो र नीलोले सहभागिता जनाउनेछन् भने भारतबाट दार्जिलिङ, कालिम्पोङ र सिलगुडीका टिमहरूको सहभागिता रहनेछ । नकआउट पद्धतिमा सञ्चालन हुने प्रतियोगितामा जम्मा नौ खेल हुनेछन् ।
प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । यसपटक विजेता र उपविजेताले पाउन लागेको नगद पुरस्कार पहिलो संस्करणको भन्दा दोब्बर हो । सर्वोत्कृष्ट खेलाडीले पाँच हजार तथा ‘म्यान अफ द म्याच’ र सर्वाधिक गोलकर्ताले समान तीन हजार नगद पुरस्कार हात पार्ने शाहीले जानकारी दिए ।
असोज ३१ गतेसम्म चल्ने प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ । नेपाल कपको पहिलो संस्करण ऐतिहासिक नगर जनकपुरधाममा गत वर्षको फागुन २९ देखि चैत्र ८ गते आयोजित भई सफलताका साथ सम्पन्न भएको थियो ।