बीपीको बाटो छोडेर काङ्ग्रेसले गल्ती गरेकै हो

बीपीको बाटो छोडेर काङ्ग्रेसले गल्ती गरेकै हो


antarbichar– मदन अमात्य (सभासद् एवम् सभापति, ललितपुर काङ्ग्रेस)
मदन अमात्य ललितपुर काङ्ग्रेसको सभापति बन्नु र ललितपुरको इतिहासमा काङ्ग्रेसले तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्नु एउटा संयोग मात्र नभई मदनको मिहिनेत र उनको सक्रियता पनि हो । बाल्यकालदेखि नै साहसी, आत्मविश्वासी र निडर मानिएका मदन पहिले कम्युनिस्ट थिए । सुशीलचन्द्र अमात्यले उनलाई कम्युनिस्ट बनाएका थिए । वि.सं. २००७ कात्तिकमा हेटौँडामा जन्मिएका मदनको पुख्र्यौली थातथलोचाहिँ ललितपुरको गाःबहाल हो । त्रिविबाट स्नातक मदनले कम्युनिस्ट गतिविधिमा सक्रिय रहँदा बुर्जवा शिक्षा बहिष्कार भन्दै गाउँ–गाउँमा कम्युनिस्ट सङ्गठन निर्माण गर्ने अभियानमा सक्रियता दर्शाएका थिए । ०२७ वैशाखमा हेटौँडामा काङ्ग्रेसद्वारा आयोजित एक वनभोज कार्यक्रममा सहभागी भएर केही जिम्मेवारी प्राप्त गरेपछि मदनले कम्युनिस्टहरूसँगको सम्बन्ध विच्छेद गरेका थिए । घोडा चढ्न सौखिन मदनमा आफूले तय गरेको गन्तव्य हासिल नगरेसम्म थकाइ नमार्ने प्रवृत्ति छ । काङ्ग्रेसको महाधिवेशनबाट ललितपुर काङ्ग्रेसको सभापति बनेका उनी कुनै पनि व्यक्ति एउटा तहको जिम्मेवारीमा बढीमा दुई कार्यकालभन्दा बढी रहनुहुँदैन भन्ने मान्यता राख्छन् । भन्छन्, ‘राजनीति व्यापार होइन, क्षमता भएको मान्छेले एक–दुई कार्यकालमै परिणाम हासिल गरिसक्छन् ।’
० ललितपुरमा तपाईंको नेतृत्वमा काङ्ग्रेसलाई ऐतिहासिक किसिमले तीनवटै सिटमा जित हासिल भयो, चुनावी सफलताअनुसार काम गर्नचाहिँ कत्तिको सफलता मिलिरहेको छ त ?
– पहिलो कुरा त म जिल्ला सभापति भए पनि संविधानसभाको निर्वाचनमा काङ्ग्रेसलाई ललितपुरमा मिलेको ऐतिहासिक सफलताको क्रेडिट आफू मात्र लिन चाहन्न । पार्टीका सबै तहका साथीहरू मिलेर नै यो सम्भव भएको हो । जहाँसम्म काममा कति सफलता मिलेको छ भन्ने सवाल हो, अझै पनि सन्तोषजनक रूपले कामको सुरुवात गर्न सकिएको छैन ।
० केले रोक्यो त काम गर्न ?
– हाम्रो तौरतरिका, कर्मचारीतन्त्रको पुरातन शैली र लम्बाचौडा प्रक्रिया, कोअर्डिनेसनको अभाव अनि आफैँ लागिरहे मात्र केही काम हुने अन्यथा सिस्टमले कामै नगर्ने अवस्था पाएँ मैले ।
० मूलतः तपाईं संविधान बनाउनका लागि चुनिएको संविधानसभा सदस्य हुनुहुन्छ, संविधान बनाउने काममा धेरै समय गएको छ कि विकास–निर्माण तथा जनताका काममा ?
– संविधानसभामा म निक्र्योल समितिमा छु । उक्त समितिको काम सुरुमै हुन्छ । हामीले आफ्नो समितिबाट गर्ने काम गरिसकेका छौँ । भित्रको बहसमा चाहिँ म समय खेर फाल्न चाहन्न, बरु जिल्लामा विकास–निर्माणकै काममा समय दिन्छु भनेर लागिरेहको छु । ललितपुरमा पानीको समस्या छ, ढल छैन, सडक खराब छ । जनता अनेक समस्याबाट गुज्रिरहेका छन् । गर्नुपर्ने काम धेरै छन् । मैले त भोट माग्दा पनि संविधानको कुराभन्दा बढी जनताका समस्या निराकरणको निम्ति लागिपर्ने भन्ने कुरालाई नै बढ्ता जोड दिएको थिएँ । संविधान बनाउने कुराको चिन्ता आफ्नै ठाउँमा छ, तर विकास–निर्माण मेरो प्राथमिकतामा पर्छ ।
० संविधान बनाउने कार्यमा त समस्त सभासद्को भन्दा पनि दुई–चारजना नेताको मात्रै हालीमुहाली चल्नेरहेछ पनि भन्छन् नि, यस्तै हो त ?
– भूमिकै छैन भनौँ भने विवादित विषयमा मत दिनुपर्दा हामी निर्णायक हुन्छौँ नै, अब भूमिका छ भनेर दाबी गर्नचाहिँ नसकिने नै रहेछ । मेरो अहिलेसम्मको अनुभवले त त्यसमा पार्टीका मुख्य नेतृत्वहरू नै हाबी हुने परिस्थिति बन्दोरहेछ भन्ने नै लागेको छ ।
० तपाईंको विचारको कत्ति कदर भएन कि कसो हो ?
– पार्टीले टिकट दिएर पठाएकाले मेरो व्यक्तिगत विचारभन्दा पनि पार्टीकै विचार मुख्य हुने भइहाल्यो नि । पार्टीले निर्णय गरेको कुरा नै मैले बोकेर जाने हो संविधानसभामा ।
० संविधानको आधारभूत विषयमा पार्टी नै स्पष्ट छैन भन्ने कुरा पनि उठेको छ नि ?
– स्पष्ट नभएको होइन, पार्टीको आफ्नो कुरा त स्पष्टै छ । घोषणापत्र छ, अन्य फोरममार्फत पनि पार्टीका कुरा आइरहेकै हुन्छन् । तर, काङ्ग्रेसले आफ्ना कुरा मात्र राखेर त संविधान बनाउन सक्दैन । सहमतिबाट संविधान बनाउनुपर्ने हुनाले एमाले, एमाओवादी, माओवादी र अन्यका समेत कुरा सुन्न काङ्ग्रेस बाध्य छ । यसले गर्दा स्पष्ट नभएजस्तो देखिएको हो ।
० काङ्ग्रेस खाँटी प्रजातान्त्रिक पार्टी होइन त ?
– सैद्धान्तिक हिसाबले यही त हो नि ।
० अनि कम्युनिस्ट पार्टीहरूलाई चाहिँ पूरै प्रजातान्त्रिक भन्न मिल्छ कि मिल्दैन नि ?
– प्रजातान्त्रिक मूल्य र मान्यताको जगमा उभिएर हेर्दा उनीहरूलाई त्यो दर्जा दिन मिल्ने अवस्था देखिन्न । तर, उनीहरू पनि प्रजातान्त्रिक अभ्यासमा भने आइरहेका छन् ।
० अब उनीहरूका लागि काङ्ग्रेसले आफ्नो सिद्धान्त छोडिदिने भनेकोचाहिँ के त, अलि–अलि अधिनायकवादी बनिदिने हो ?
– (हाँस्दै) यस्तो त होइन । काङ्ग्रेस अधिनायकवादी हुने कुरा सोच्दैन । तर, डेमोक्र्याटिक नम्र्सभन्दा बाहिर गएर काङ्ग्रेसले केही कुरामा सम्झौता गर्न खोजेकोचाहिँ मलाई पनि चित्त बुझेको छैन । काङ्ग्रेसले आफ्ने सिद्धान्त छोडेको रूपमा बुझेको छु मैले यसलाई । यो ठीक होइन ।
० काङ्ग्रेसले गरेको कमजोरी सच्चिन सक्छ कि सक्दैन त अब ?
– जसरी पनि संविधान दिनुपर्छ भन्ने सोचेर नेताहरूले यसो गरेका होलान् । सच्चिनै नसक्ने कुरा होइन, सच्याउन सकिन्छ र सच्याउनु पनि पर्छ ।
० संविधान बन्छ भन्नेमा पनि कतिपय सभासद्लाई विश्वास रहेनछ, तपाईंलाईचाहिँ कति विश्वास छ ?
– बन्ने कुरामा त अविश्वास छैन, बन्छ नै भन्ने लाग्छ, तर संविधान कार्यान्वयनमा भने व्यवधान पैदा हुन्छ कि भन्ने त्रास जन्मेको छ मभित्र ।
० किन नि ?
– सहमतिबाट संविधान बन्न कठिन पर्ने र त्यसपछि दुईतिहाइ या प्रक्रियाबाट जानुपर्ने हुन्छ । कतिपय विषयमा जनमतसङ्ग्रहमा नै जानुपर्ने पनि हुन्छ । यसरी आएको संविधान लागू गराउने बेला कतिपयले अडचन पैदा गर्न सक्छन् ।
० नेपाल बनाउन भनी अनेक शासन–व्यवस्था र राजनीतिक दलहरूले प्रयत्न गरे, तर लामो समयको प्रयासपछि पनि बन्न सकेन, यसको मूल कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
– कारण धेरै छन् । सबभन्दा पहिला त हामीसँग नवीन सोच नै भएन । सोचमा परिवर्तन जरुरी छ । अर्को कुरा देश बनाउने प्रतिबद्धता नेताहरूमा देखिएन । राष्ट्रप्रति इमानदारीको पूरै अभाव देखियो नेताहरूमा । पार्टीभन्दा राष्ट्र ठूलो हो भन्ने बुझ्नै सकेनन् दलका नेताहरूले ।
० कम्युनिस्टको सङ्ख्या ठूलो भएको देश बन्दैन भन्ने धारणा छ, तपाईं सहमत हुनुहुन्छ ?
– यो कुरा व्यवहारतः ठीक हुन पनि सक्छ, तर सोझै ‘हो’ भनेर कम्युनिस्टहरूलाई चिढ्याएर अहिले काम पनि छैन । उनीहरू आफैँले पनि यो कुरा त बुझ्न थालिसकेका छन् जस्तो मलाई लाग्छ । एकैचोटि बदलिन नमिलेर होला, विस्तारै–विस्तारै आफ्ना कट्टर र अव्यावहारिक कुरा उनीहरूले छोड्दै आएका छन् । कम्युनिस्ट कार्यकर्ताहरू पनि बदलिँदै छन् ।
० काङ्ग्रेस ‘सिनायल’ भयो, डाइनामिजम छैन भन्ने आरोपचाहिँ किन लागेको होला ?
– सिनायल नै त भन्न नमिल्ला । काङ्ग्रेस यस्तो भएको भए त आज मुलुक माओवादीले सिध्याइसक्थे नि । योचाहिँ पक्कै हो कि काङ्ग्रेसले कैयन गल्ती गरेको छ । तर, मुलुकलाई कम्युनिस्ट अधिनायकीबाट जोगाउन काङ्ग्रेसले नै त भूमिका खेलिरहेको छ ।
० यो त काङ्ग्रेसको खुबीले भन्दा पनि कम्युनिस्टले राम्रो गर्न नसकेकाले काङ्ग्रेसलाई फाइदा पुगेको भनिन्छ नि त ?
– यसो भन्नु काङ्ग्रेसको योगदानलाई अवमूल्यन गर्न खोज्नु हो । कम्युनिस्टले राम्रो गर्न नसकेकामा शङ्का गर्नैपर्दैन, तर काङ्ग्रेसले अडान नराखेको भए मुलुक यतिबेला अहिलेकोभन्दा पनि निकै अस्तव्यस्त बन्न पुग्थ्यो ।
० तपाईंले अघि भन्नुभयो कि संविधान बने पनि कार्यान्वयनमा समस्या आउन सक्छ, कार्यान्वयन नै नहुने संविधान बनाउनु कति उचित होला त ?
– हेर्नुस्, संविधान त हामीले कुनै पनि मूल्यमा अब दिनैपर्छ । संविधान नै नभएर त झन् कसरी मुलुक चल्न सक्छ र ? तर, अब बन्ने संविधानलाई कसरी लागू गर्ने, कानुनको पालना गर्न सबै नागरिकलाई कसरी प्रेरित गर्ने भन्ने सवालमा चाहिँ अहिलेदेखि नै सबैले गम्भीर भई चिन्तनमनन गरेर निचोड निकाल्नु जरुरी छ । त्यसैले मैले जनमतसङ्ग्रहको विषयलाई जोड दिएको हुँ । कुनै मुद्दा पछिसम्म विवादमै रहनेजस्तो लाग्छ भने जनमतसङ्ग्रहमा गएर टुङ्गो लगाएपछि संविधान कार्यान्वयनमा समस्या नहोला ।
० सङ्घीयता, धर्मनिरपेक्षता, संवैधानिक राजतन्त्रजस्ता मुद्दा नेपाली काङ्ग्रेसका थिएनन्, अरूले भन्यो भन्दैमा काङ्ग्रेसले आफ्नो नीति–सिद्धान्त छोडेर बहकिन हुन्थ्यो ?
– यो कुरा गर्दा धेरै कुरा आउन सक्छ । पुष्पलालले बीपीसँग कम्युनिस्ट र काङ्ग्रेस मिलेर पञ्चायत फालौँ भन्दा मान्नुभएन । बरु उहाँले ‘तपाईंहरूको आर्थिक एजेन्डा हामी बोकौँला, हाम्रो राजनीतिक मुद्दा तपाईंहरू अँगाल्नुस्’ भन्ने जवाफ दिनुभएको थियो । कम्युनिस्टसँग मिलेर जाने हो भने अन्ततः यो देशमा कम्युनिस्ट नै हाबी हुनेछन् भनी बीपीले उहिल्यै भन्नुभएको हो । यस हिसाबले त ०४६ कै आन्दोलन गलत थियो । हामी आफूलाई बीपीवादी भन्छौँ तर उहाँलाई हामीले बुझ्न सकेनौँ । बीपीले भनेका कुराहरू सावित हुँदै गएका छन् । राजा र हाम्रो घाँटी जोडिएको छ भन्ने बीपीको पार्टी काङ्ग्रेसले पटक–पटक धेरै गल्ती गर्दै आएको छ ।
० गिरिजाप्रसादको अदूरदर्शिताको कारण यस्तो अवस्था आएको भन्न मिल्छ ?
– उहाँजस्तो नेतालाई मैले अदूरदर्शी भनेर कमेन्ट गर्न सुहाउँदैन । त्यतिबेलाको परिस्थितिअनुसार राजाले पनि ठूलो गल्ती गरेकै हुन् । पटक–पटक गल्ती गरेपछि राजसंस्थालाई किन बोकिरहने भन्ने उहाँलाई लाग्यो होला । तर, गहन रूपले सोचविचार पु-याएर मात्र कदम चाल्नुपथ्र्यो, त्योचाहिँ उहाँबाट हुन नसकेकै हो कि भन्ने लाग्छ ।
० राजनीतिक सोचविचारभन्दा बदलाको भावनाले कोइरालाले त्यसो गरे भनिन्छ, हो ?
– म सानो मान्छे, गिरिजाबाबुको कदमको कसरी कमेन्ट गर्ने र † इतिहासले पछि बोल्ला भन्ने लाग्छ यस्ता कुराबारे । बीपीको नीति तथा विचारको सन्दर्भ चल्दा कतिपयले ०४६ कै आन्दोलन पनि ठीक थियो कि थिएन भनी पुनर्मूल्याङ्कन गर्नुपर्ने आवाज उठाउन थालेका छन् भने गिरिजाप्रसाद र सिङ्गै काङ्ग्रेसले के–कति सही या गल्ती ग-यो भनी मूल्याङ्कन एक न एक दिन भइहाल्ला ।