वैधानिक कि अवैधानिक, प्रश्नको घेरामा ‘कास्य’ पदक

वैधानिक कि अवैधानिक, प्रश्नको घेरामा ‘कास्य’ पदक


sportयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफँैले गरेको निर्णयलाई धोती लगाइदिएपछि नेपालले १७औँ एसियाली खेलकुद प्रतियोगितामा जितेको एक मात्र कास्य पदकको वैधानिकतामा प्रश्नचिह्न लागेको छ । १७औँ एसियाली खेलकुद कार्यसम्पादन तथा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मन्त्री पौडेलको अध्यक्षतामा बसेको राखेपको बोर्ड बैठकले २५ खेलका खेलाडीको छनोट गरेर लालमोहर लगाएको थियो । मन्त्री पौडेलको निर्णयसँगै खेलाडीहरू बन्द प्रशिक्षण र वैदेशिक प्रशिक्षणमा जुटेका थिए । त्यसमा विमला तामाङको नाम कहीँकतै उल्लेख थिएन । साँचो रूपमा भन्नुपर्दा विमला तामाङ राज्यले छनोट नगरेकी खेलाडी हुन् । त्यसैले विमला राज्यले प्रदान गर्ने सम्पूर्ण सुविधावाट वञ्चित भएकी थिइन् । र पनि विमलाले १७औँ एसियाडमा कसरी सहभागिता जनाइन् र मुलुकलाई एक मात्र पदक दिलाइन् त्यो अहिले व्यापक चर्चाको विषय बनेको छ । विमलाले एसियाडमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेकी हुन् त्यसमा दुईमत नभए पनि नेपालले एसियाडमा उनलाई खेल्न पठाएको हो कि होइन त्यो अहिले जटिल प्रश्न बनेको छ । यदि राज्यले नै विमलालाई एसियाडका लागि छनोट गरेको हो भने अन्य खेलाडीको छनोट गरेर किन वैदेशक प्रशिक्षणमा पठायो ? यसको जवाफ मन्त्री पौडेलले कसरी दिन्छन् त्यो अहिले गम्भीर विषय बनेको छ ।
विमलाले पदक जितिन्, राष्ट्रको नाम अन्तराष्ट्रमा उँचो पारिन्, त्यो अहिले सम्पूर्ण नेपालीका लागि गौरवको विषय बनेको छ । तर, मन्त्री पौडेलको अक्षमताका कारणले विमलाले जितेको एक मात्र पदकमा ग्रहण लाग्नु चिन्ताको विषय बनेको छ । मन्त्री पौडेलले समयमै निर्णय गर्न नसक्नु र आफूले गरेको निर्णयलाई कार्यान्वयन गर्नुभन्दा राजनीतिक चलखेलमा लाग्नुले विमलाले जितेको पदक ओझेलमा पर्ने सङ्केत देखिएको छ । कानुनी रूपमा मन्त्री पौडेलले गरेको निर्णय र एसियाडमा विमलाको सहभागिता आपसमा मेल खाँदैन । करातेका आठ खेलाडीको अन्तिम नामावली पठाउँदा विमलाको नाम नदेखिनुले पनि त्यसलाई पुष्टि गर्छ । राज्यले गरेको निर्णयअनुसार चञ्चला दनुवारले एसियाडमा खेल्न पाउनुपर्ने थियो, तर त्यसो भएन । उनी दर्शकदीर्घामा आँखाभरि आँसु पार्दै विमलाको खेल हेर्न बाध्य भइन् । आखिर किन ? चञ्चलाले कसको के बिगारेकी थिइन्, उनलाई अन्तिम समयमा आएर किन बलिको बोका बनाइयो ? एउटा खेलाडीलाई खेल्न पाउने अधिकारबाट किन वञ्चित गरियो ? त्यसको जवाफ पनि मन्त्री पौडेलले दिनुपर्नेछ । खेलाडीको भावनासँग खेल्ने अधिकार मन्त्री पौडेललाई नेपालको कुन कानुनले दियो, त्यसको न्याय–निसाफ कानुनबाटै हुनुपर्छ । अन्यथा राज्यको कानुनलाई लत्याएर अन्तर्राष्ट्रिय मान्यताको कानुनलाई मात्र मान्नेहरूले भोलि हरेक राष्ट्रिय सङ्घहरूलाई एनजीओ बनाए खेलकुदको हविगत के होला त्यसको आभास अहिल्यै गर्न सकिन्छ । त्यसपछि चञ्चला र गंगादेवीले मात्र होइन थुप्रै प्रतिभाशाली खेलाडीले राजनीतिको सिकार बन्नुपर्नेछ ।
कानुनसँग खेल्ने र कानुनको अपहेलना गर्ने एमाले मन्त्री र कार्यकर्ताको दैनिकी भइसकेको छ । अन्यथा चञ्चला र गंगादेवीले यस्तो मानसिक पीडा कदापि भोग्नुपर्ने थिएन । आफैँ छनोट गरेर पठाउने अनि आफैँ खेलाडीलाई खेल्नबाट वञ्चित गर्ने एमालेको घिनलाग्दो खेलले अहिले अन्य खेलका खेलाडी पनि सशङ्कित हुन पुगेका छन् । खेलकुद मन्त्रालयदेखि ओलम्पिक कमिटीसम्म आफ्नो जालो फैलाउन सफल एमालेले राष्ट्रिय खेलकुद परिषद्लाई आफूले सोचेअनुरूप चलाउन नसकेपछि नाङ्गो नाच देखाइरहेको कसैबाट छिपेको छैन । यसपटक हदै पार गर्ने क्रममा एमालेले प्रतिभाशाली खेलाडीहरूलाई समेत बाँकी राखेन । उनीहरूलाई पलायनको मार्ग देखाउन कुनै कसर बाँकी राखेन । कानुनको खिल्ली उडाउँदै खेलाडीलाई खेल्नबाट वञ्चित गराउनुको साथै आफ्नो स्वार्थ पूरा नभए भविष्यमा अन्य खेलाडीको पनि यस्तै हविगत हुने सन्देश दियो । जुन अहिले खेलकुदका लागि दुर्भाग्य बनेको छ ।
अहिले विमलाको चर्चा सान्दर्भिक छ, त्यो हुनुपर्छ पनि । उनले जसरी भए पनि मुलुकलाई अमूल्य उपहार दिएकी छिन् । त्यसका लागि उनी साधुवादकी पात्र बनेकी छिन् । तर, विडम्बना, विमलाले मुलुकका लागि पदक जिते पनि उनी गुटबन्दीको सिकार बन्दा एक गुटको खेलाडीको रूपमा मात्र सीमित भएकी छिन् । जुन उनको भविष्यका लागि कदापि राम्रो मान्न सकिँदैन । यसर्थमा भोलि शक्तिको अगाडि विमलाले पनि घुँडा टेक्नुप-यो भने त्यो उनको जीवनको कालो पाटो नबन्ला भन्न सकिँदैन । आज एमालेको कराते महासङ्घले अन्तर्राष्ट्रिय मान्यताको रवाफमा चञ्चला र गंगादेवीलाई बाइपास ग-यो, भोलि त्यही पीडा विमलाले भोग्नु नपर्ला भन्न सकिँदैन । तसर्थ विमलाको सफलतालाई व्यक्तिगत सफलतासँग गाँस्ने प्रयास गर्नुभन्दा उनलाई राष्ट्रको खेलाडीको रूपमा चिनाउँदा सबैको स्वास्थ्यका लागि राम्रो हुने देखिन्छ । अर्को कुरा विमलाको सफलताको चर्चा गर्नेहरूले चञ्चलालाई कदापि बिर्सन मिल्दैन । चञ्चला विगत दुई वर्षदेखि करातेको राष्ट्रिय टिमबाट प्रशिक्षण गर्दै आएकी थिइन् । जापानमा वैदेशिक प्रशिक्षणपछि उनको प्रतिभामा अझ निखार आएको थियो । उनले पनि एसियाडमा उत्कृष्ट प्रदर्शन गर्नेमा कसैको शङ्का थिएन । सायद चञ्चलाले खेल्न पाएको भए योभन्दा ठूलो पदक जित्न सक्थिन् कि ? यसलाई नकार्न मिल्दैन । विमलाले काताको प्रदर्शन गर्दा कराते खेलाडीको नाताले उनले ताली बजाए पनि उनको भित्री पीडा जब विमलाले पदक जितिन् त्यसबेला झल्किएको थियो । चञ्चलालाई आफ्नो भाग खोसिएको जस्तै महसुस भएको थियो । त्यसपछि उनले आफ्नो भाग्यलाई दोष दिदै आँखाबाट आँसु झारेकी थिइन् । यता विमलालाई वरिष्ठ प्रशिक्षक हीरासिंह डङ्गोल अँगालोमा कसिरहेका थिए भने उता अर्का प्रशिक्षक दीपक श्रेष्ठ चञ्चलाको वेदनामा भावुक बनेका थिए । तर, पनि दीपक करातेको सफलतामा विमलाको फोटो खिच्न सबैभन्दा अग्रपङ्क्तिमा देखिएका थिए ।
अहिले एसियाडमा पदक जितेर विमलाले राष्ट्रको गौरव बढाए पनि नेपाल कराते महासङ्घले मौनता साँधेको छ । उनको सफलतालाई आत्मसात् गर्न सकेको छैन । राजनीतिक तिक्तता, आपसी गुटबन्दी, जुँगाको लडाइँ र कानुनी अड्चनले विमलाको सफलता छायामा परेको छ । विमला बालाजु डोजोकी खेलाडी भएकीले बालाजु डोजोका प्रमुख प्रशिक्षक ध्रुवविक्रम मल्ल र नेपाल ओलम्पिक कमिटीबाहेक कसैले पनि विमलाको सफलतालाई आत्मसात् गरेको देखिएको छैन । राखेपले विमलाको सफलता राष्ट्रको सफलता भन्दै सम्मानका लागि सिफारिस गर्ने बताए पनि खेलकुद मन्त्रालयको मौनता विमलाका लागि दिवार बनेको छ । यसर्थमा विमला राज्यले पठाएको खेलाडी नभई अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासङ्घको सिफारिसमा व्यक्तिगत खर्चमा एसियाडमा सहभागिता जनाएकी खेलाडी हुन् । राज्यको सुविधा भोग गरेका खेलाडीले दयनीय प्रदर्शन गरेको अवस्थामा विमलाको सफलता राज्यका लागि चुनौती बनेको छ । अब विमलालाई कानुनको कुन धाराको प्रयोग गरेर सम्मान र पुरस्कृत गर्ने त्यो गम्भीर विषय बनेको छ । यसरी अहिले विमलाको सफलता ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै बनेको छ ।

भाग्यमानी विमला ‘उत्कृष्ट’ सावित
खेलकुद कुन चरीको नाम हो, विमला तामाङलाई अत्तोपत्तो थिएन । १० वर्षको उमेरमा बाबाआमा धादिङबाट काठमाडौं आउँदा उनी पिछलग्गु मात्रै थिइन् । उनलाई वास्तविक संसारबारे कुनै बोध थिएन । दुर्गम अनि सामान्य परिवारमा जन्मिएकी विमलाको गन्तव्य भनेको अभिभावकको रोजीरोटी मात्रै थियो । अभिभावकको दुःखसुखको साथीको रूपमा काठमाडौं भित्रिएकी विमलाका बाबाआमाले रोेजीरोटीका लागि बालाजु क्षेत्रलाई रोजेपछि उनको भाग्यले नयाँ मोड लिएको थियो ।
जन्मथलो छोडेर कर्मथलोमा भाग्य अजमाउँदा विमलाको जम्काभेट बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा मुख्य प्रशिक्षक ध्रुवविक्रम मल्लसँग भएको थियो । विमलाले आफ्नो सारा वृत्तान्त मल्लसमक्ष पोखेपछि उनले विमलालाई कराते खेल्न सुझाएका थिए । त्यतिबेला कक्षा तीनमा अध्ययनरत विमलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै मल्लले उनलाई पढाउने जिम्मेवारीसमेत लिई जनजागृति ज्ञान रश्मि स्कुल बालाजुमा भर्ना गरेका थिए । यसपछि कराते र पढाइलाई ढुक्कसँग एकसाथ बढाएकी विमलाले सोही स्कुलबाट एसएलसी प्रथम श्रेणीमा गरेर आफूले पाएको छात्रवृत्तिको सही सदुपयोग गर्दै स्कुलको नामसमेत रोशन गरेकी थिइन् । विमलालाई जनजागृतिले उनको खेल प्रतिभा देखेर कक्षा तीनदेखि दश कक्षासम्म छात्रवृत्ति प्रदान गरेको थियो । अहिले विमला रेडन कलेज सामाखुसीमा छात्रवृत्ति पाएर नै कक्षा एघारमा अध्ययनरत छिन् । उनलाई स्कुल र कलेजमा छात्रवृत्ति दिलाउनमा ध्रुवविक्रम मल्लले अहम् भूमिका निर्वाह गरेका थिए ।
दश वर्षको उमेरमा बालाजु डोजोमा करातेको प्रशिक्षण लिन सुरु गरेकी विमलाले त्यहीबेला भविष्यमा उत्कृष्ट खेलाडी बन्ने छनक देखाएको प्रशिक्षक मल्लले बताएका छन् । आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति सधैँ इमानदार विमलाले आफूलाई हुने बिरुवाको चिल्लो पातको रूपमा प्रस्तुत गर्ने क्रममा करातेलाई सर्वोपरी ठानेकी थिइन् । उनको यही समर्पण, त्याग, तपस्या र मिहिनेतले विमलालाई सानै उमेरमा एकपछि अर्को सफलता प्राप्त भएको थियो । जुनियरदेखि करातेमा प्रतिस्पर्धा गर्न थालेकी विमलाले सिनियरसम्म निरन्तर रूपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरमा कीर्तिमान बनाउँदै चर्चित खेलाडी बन्न सफल भएकी थिइन् । सोही क्रममा विमलाले राष्ट्रियस्तरमा दर्जनौँ स्वर्ण पदक जित्नुको साथै अन्तर्राष्ट्रियस्तरमा पनि अमिट छाप छोड्न सफल भएकी थिइन् । अझ अन्तर्राष्ट्रिय वल्र्डकप कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि उनी करातेको शान अर्थात् उदीयमान खेलाडीको रूपमा चर्चित भएकी थिइन् । त्यसपछि सन् २०१० मा मलेसियामा भएको एसियन कराते प्रतियोगितामा व्यक्तिगत कातामा कास्य र सन् २०१२ मा मलेसियामै सम्पन्न बीसौँ वल्र्डकप करातेमा काता र कुमुतेतर्फ कास्य पदक जितेपछि त उनको चर्चाले शिखर चुमेको थियो । यसरी सफलताले उनीलाई चुमिरहेको अवस्थामा सुदूरपश्चिममा आयोजना भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि त विमला रातारात चर्चित राष्ट्रिय खेलाडीको रूपमा देखापरेकी थिइन् ।
आजभन्दा १७ वर्षअघि धादिङको सेम्जोङ गाविस–२ मा विमलाको जन्म भएको थियो । बुबा विष्णुबहादुर तामाङ र आमा धनमायाकी विमला पहिलो सन्तान हुन् । विकट गाउँ अभावैअभावमा उनको बाल्यकाल गाउँमै बितेको थियो । तीन सन्तानको उचित पालनपोषणका लागि उनका अभिभावक रोजगारीका लागि काठमाडौं हानिएपछि उनले नौलो आनन्दको अनुभूति गर्न पाएकी थिइन् । अझ भाग्यमा भए डोकामा दूध दुहे पनि अडिन्छ भनेझैँ उनको जीवनमा ध्रुवविक्रम मल्ल आएपछि विमलाको भविष्यको नै कायापलट भएको थियो । पढाइदेखि खेलकुदको जिम्मेवारी मल्लले सम्हालेपछि उनी अजाद पन्छीझैँ करातेमा रमाउन थालिन् । जस्तो वृक्ष रोप्यो त्यस्तै फल फल्छ भनेझैँ आज विमला नेपालका लागि कल्पवृक्षको रूपमा देखापरेकी छिन् । उनले आफ्नो गुरु ध्रुवविक्रम मल्लको सपना पूरा गर्दै ‘राष्ट्रिय हिरो’ बन्न सफल भएकी छिन् । जसको अहिले सारा मुलुकले मुक्तकण्ठले प्रशंसा गरिरहेको छ ।
१७औँ एसियाली खेलकुदमा विमलाको सहभागिता जसरी भए पनि उनले दिलाएको एक मात्र पदकले मुलुक पदकविहीन हुनबाट जोगिएको छ । यसमा प्रशिक्षक मल्लको महत्वपूर्ण भूमिका रहेको छ भन्दा सायदै कसैको दुईमत होला । मल्लकै प्रशिक्षण, प्रेरणा र सहयोगले विमलाले एसियाडमा सहभागिता जनाएर राष्ट्रलाई पदक दिलाएकी हुन् । यो कुरा खुद विमलाले सार्वजनिक समारोहमा दिल खोलेर बताउँदै आएकी छिन् । यदि ध्रुव मल्ल नभएको भए सायद विमला आमनेपालीमा मात्रै सीमित हुने कुरालाई नकार्न सकिँदैन । विमलालाई यो स्थानसम्म पु-याउन मल्लले तन, मन, धन सबै खर्च गरेका छन् । त्यसैले आज उनी निकै प्रसन्न छन्, आफ्नी चेलीले नेपालको मान, सम्मान र प्रतिष्ठा बढाएकोमा । त्यस्तै विमलाले पनि आफ्नो विजयको सम्पूर्ण श्रेय मल्ललाई नै दिएकी छिन् । मल्ल नभएको भए आफू कहिल्यै खेलाडी बन्न नसक्ने र यो स्थानमा पुग्न नसक्ने दाबी गरेकी छिन् । विमलाले १७औँ एसियाडमा पाकिस्तान र उत्तर कोरियाकी खेलाडीलाई पराजित गरेर कास्य पदक जितेकी थिइन् । यो विजयसँगै निकै उत्साहित विमलाले आगामी दिनमा योभन्दा उत्कृष्ट प्रदर्शन गर्दै मुलुकलाई स्वर्ण पदक दिलाउने प्रतिबद्धता जाहेर गरेकी छिन् । हामी कामना गरौँ विमलाको सपना पूरा होस्, सफलताले उनका हरेक कदमलाई चुमोस् ।

विमलाको सम्मानमा एनओसीको लालमोहर
दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई एक मात्र कास्य पदक दिलाउने विमला तामाङलाई हालै नेपाल ओलम्पिक कमिटीले सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले तामाङलाई एक लाख नगद पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए । त्यसै होसन्ना इँटा उद्योगका प्रोप्राइटर तथा सन १९८४ मा काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुद साफमा बक्सिङमा रजत पदक विजेता राम अवालेले सो अवसरमा विमलालाई नगद ५० हजार प्रदान गरेका थिए । राष्ट्रलाई पदकविहीन हुनबाट विमलाले बचाएको र राष्ट्रको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पु-याउन विमलाले उत्कृष्ट प्रदर्शन गरेबापत अवालेले प्रोत्साहनस्वरूप व्यक्तिगत रूपमा पचास हजार प्रदान गरेका हुन् । अवाले नेपाल ओलम्पिक कमिटीका प्रायोजक तथा खेलप्रेमी हुन् । सो अवसरमा विमला तामाङलाई प्रशिक्षण दिएका बालाजु डो प्रतिष्ठानका मुख्य प्रशिक्षक धु्रवविक्रम मल्ल, इन्चोन एसियाडमा सहभागी भएका प्रशिक्षक हीरासिंह डङ्गोल र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासङ्घका अध्यक्ष पुनेन्द्रविक्रम लाखेलाई समेत सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले आफ्नै खर्चमा सहभागी भएकी विमला तामाङको सम्पूर्ण खर्च नेपाल ओलम्पिक कमिटीले व्यहोर्ने घोषणा गरेका थिए । आफ्नै खर्चमा विमलाले एसियाडमा सहभागिता जनाएको समाचार सञ्चारमाध्यममा सम्प्रेषण भएपछि प्रधानले आफूले सहभागिताको सम्बन्धमा महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेसँग पहिल्यै कुरा भइसकेको बताएका थिए । प्रधानले करातेमा विवाद भए पनि दुई खेलाडी पठाउने टुङ्गो पहिले नै भइसकेको थियो भन्दै जापानमा प्रशिक्षणमा पठाएका खेलाडीमध्ये दुई खेलाडीको नाम पहिले नै नभएको सो अवसरमा जानकारी गराएका थिए । ‘विमला प्रतिभावान खेलाडी भएकाले नै ओलमिपक कमिटीले यसको रिक्स लिएको हो । प्रतिभाशाली खेलाडी छुट्नुहुँदैन भन्ने एनओसीको मान्यतामा विमला खरो उत्रिएको दाबीसमेत गरेका थिए । साथै प्रधानले सबैका कमी–कमजोरीका बाबजुद पनि विमलाको उत्कृष्ट प्रदर्शनको तारिफ गर्दै उनको उज्ज्वल भविष्य भएको बताए ।
त्यस्तै सो अवसरमा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा १७औँ एसियाडका सेफ दि मिसन छिमी उर्गेन गुरुङले इन्चोन एसियाडमा नेपाली टोलीको समग्र रिपोर्टिङ गरेका थिए । उनले विभिन्न खेलका टिम म्यानेजरप्रति आक्रोश व्यक्त गर्दै टिम म्यानेजरको काम–कर्तव्य नै भुलेर खेलाडीको विषयमा गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको आरोप लगाएका थिए । उर्गेनले टिम म्यानेजरहरू घुम्नमा मात्र व्यस्त रहेकाले खेलाडीहरूको प्रदर्शनमा समेत असर पारेको खुलासा गरेका थिए । त्यस्तै उर्गेनले सुजनलाल श्रेष्ठको प्रशंसा गर्दै दिनमा चार घन्टा मात्र सुतेको र उनको मिहिनेतकै कारणले आफू र नेपाली टोलीलाई सहज भएको बताए । गुरुङले एसियाडको दौरान भागेका चार खेलाडीका विषयमा कोरियाको प्रहरीलाई रिपोर्टिङ गरेको र उनीहरू चाँडै फर्कनेमा आफू विश्वस्त रहेको बताए ।
त्यसैगरी विमला तामाङका प्रशिक्षक तथा बालाजु कराते डो प्रतिष्ठानका प्रमुख धु्रवविक्रम मल्लले करातेको विवाद महासङ्घको विघटनको नतिजा रहेको बताए । ‘छनोट भएर सहभागिता गरेको भए राम्रो हुने थियो, तर हामीलाई छनोट खेलमा बोलाइएन, जसका कारण आज विवाद देखियो । विमलाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको स्मरण गराउँदै मल्लले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चञ्चला दनुवारलाई पराजित गरेर स्वर्ण जितेको स्मरण गराएका थिए । विमलाले छैटौँमा पीएलओको तर्फबाट सहभागिता जनाएकी थिइन् । आफ्नी चेलीले देशका लागि पदक दिलाएर मुलुकको प्रतिष्ठा बढाएकोमा प्रसन्नता प्रकट गर्दै सहभागिताका लागि सहयोग गरेकोमा नेपाल ओलम्पिक कमिटीप्रति आभार प्रकट गरेका थिए । त्यस्तै अवसरमा १७औँ एसियाडकी एक मात्र पदकधारी नेपाली खेलाडी विमला तामाङले नेपालका लागि पदक दिलाउन पाएको आफू निकै खुसी भएको बताइन् । ‘म निकै खुसी छु । देशका लागि पदक जित्न पाएकोमा म निकै खुसी छु,’ तामाङले भनिन्, ‘मेरो सहभागिता नै नेपाल ओलम्पिक कमिटी र कराते महासङ्घको कारण सम्भव भएको हो ।’ उनले आगामी दिनमा आफूले मिहिनेत गरेर अझै ठूलो पदक दिलाउने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

बक्सिङ खेलाडी दीपकलाई सहयोग
नेपाल बक्सिङ सङ्घ तथा मकाउमा बस्ने पूर्वबक्सिङ खेलाडीहरूले बक्सिङ खेलाडी दीपक महर्जनलाई नगद करिब तीन लाख रुपैयाँको आर्थिक सहयोग गरेका छन् । १६औँ एसियाडमा नेपाललाई एक मात्र कास्य पदक दिलाएका महर्जन १७औँ एसियाली खेलकुदको तयारीका क्रममा घाइते हुन पुगेका थिए । उनको घुँडाको लिगामेन्ट च्यातिएपछि अहिले उपचारको तयारीमा छन् । बैंककमा उपचार गर्ने तयारी गरेका उनको करिब १४ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । त्यसैलाई सहयोग गर्ने उद्देश्यले मकाउमा रहेका पूर्वबक्सिङ खेलाडीहरूले दुई लाख १९ हजार सात सय ४१ रुपैयाँ र नेपाल बक्सिङ सङ्घले ७५ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम एक समारोहबीच महर्जनलाई हस्तान्तरण गरिएको थियो । यसैबीच पूर्वबक्सर स्वर्गीय कृष्ण महर्जनको परिवारलाई पनि नगद ७५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । बक्सिङ सङ्घले २५ हजार र मकाउमा बस्ने बक्सिङ खेलाडीहरूले ५० हजार गरी ७५ हजार रुपैयाँ महर्जनका छोरा सागर महर्जनलाई हस्तान्तरण गरिएको हो । महर्जनको उपचारका क्रममा निधन भएको थियो ।

थापालाई कारबाही नगर्न खेलाडीको माग
अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष गणेश थापामाथि आर्थिक अपचलनमा मुद्दा चलाउने तयारी भइरहेका बेला राष्ट्रिय खेलाडी, प्रशिक्षक र निर्णायकहरूले एन्फालाई कारबाही नगर्न माग गरेका छन् । उनीहरूले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा ज्ञापनपत्र बुझाउँदै नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित नपार्न माग गरेका हुन् । उनीहरूले एन्फामाथि कारबाही हुँदा फिफा विधानको बुँदा १३ र १४ आकर्षित हुने भन्दै त्यसो भए नेपालमा हुन लागिरहेको होम एन्ड अवे लिगलगायतका फुटबल गतिविधि रोकिने दाबीसमेत गरेका थिए । उनीहरूले नेपाली फुटबलको भविष्य तहसनहस नपार्न माग गर्दै लेखा समितिको निर्णयलाई पुनर्विचार गर्नका लागि पहल गरिदिनसमेत माग गरेका छन् । लेखा समितिले एन्फा अध्यक्ष थापाले ५८ करोड आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणलाई कारबाहीको प्रक्रिया थाल्ने तथा युवा तथा खेलकुद मन्त्रालयलाई एन्फाबाट अध्यक्ष थापालाई हटाएर अर्को व्यवस्था गर्न निर्देशन दिएको थियो ।