सल्यानमा एड्सबाट आठको मृत्यु, ३० संक्रमित

सल्यानमा एड्सबाट आठको मृत्यु, ३० संक्रमित


एचआईभी एड्सका कारण सल्यानमा आठजनाको मृत्यु भएको छ । ०६८ देखि हालसम्म संक्रमित आठजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआईभी संक्रमितको संख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । संक्रमित बालबालिकामध्ये पाँचजना काठमाडौंका बेबी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।

जसमध्ये सातजना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए । जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।

संक्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । ‘एचआईभी संक्रमितमध्ये दुईजनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ–आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्,’ विष्टले भने, ‘पहिले संक्रमितहरू बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।’