दुई महिनामा मेलम्चीको पानी उपत्यकाका धारामा : सचिव ठाकुर

दुई महिनामा मेलम्चीको पानी उपत्यकाका धारामा : सचिव ठाकुर


खानेपानी मन्त्रालयको प्रतिबद्धता पत्याउने हो भने अबको दुई महिनाभित्र उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनेछन् ।

यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएकोले उपत्यकावासी मन्त्रालयको प्रतिबद्धताप्रति विश्वस्त भने छैनन् । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री विना मगरले दशैँको उपहारस्वरूप राजधानीवासीका धारामा मेलम्चीको पानी दिने सार्वजनिक घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले सम्पूर्ण काम ६० दिनमा सकेर सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसाल्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यसअघिको मन्त्रालयको वाचाअनुसार दशैँअघि पानी नआएकामा क्षमाप्रार्थी छौँ, प्राविधिक काममा समस्या आएकाले समयमा काम सम्पन्न गर्न सकिएन, अब करिब दुई हजार मिटर सुरुङ ढलान गर्न बाँकी छ, तीनवटा ‘भ्यान्टिलेसन’को काम शुरु भएको छ, दुई महिनामा सम्पन्न गरी पानी ल्याउँछौँ,’ सचिव ठाकुरले भने ।

अम्बाथानबाट सुरुङमा पानी हालेको तीन दिन भर्नै लाग्ने मन्त्रालयले जनाएको छ । चार महिनासम्म पुरानो संरचनाबाट पानी वितरण गर्ने तयारी भएको छ । त्यस अवधिमा नयाँ वितरण सञ्जाल परीक्षण गरी पानी हालिनेछ । पहिलो चरणमा पानी आएलगत्तै उपत्यकाका एक लाख ८० हजार धारामा पानी वितरण गरिने सचिव ठाकुरले बताए ।

मन्त्रालयले पानीको महसुल न्यूनतम रु. ३०० हुने गरी बढाउने तयारी गरेको जनाएको छ । आर्थिक वर्ष ०५५–०५६ देखि शुरु भएको आयोजना चालू आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । यो आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा वितरण हुनेछ ।

आव ०७२–०७३ देखि नै मेलम्चीको दोस्रो चरण शुरु भएको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको १७–१७ करोड लिटर गरी थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याइने कार्यक्रम छ । दोस्रो चरणका लागि चालू आवमा विस्तृत परियोजना प्रस्ताव सम्पन्न गरी मुआब्जा वितरणलगायत काम शुरु गर्ने मन्त्रालयको योजना समितिमा प्रस्तुत भयो ।

तीन वर्षमा दोस्रो चरणको काम पनि सक्ने प्रतिबद्धता सचिव ठाकुरको छ । याङग्री र लार्के खोलासम्म पुग्न थप ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ ।

समितिकी सभापति कल्याणकुमारी खड्काले मेलम्चीले रजतजयन्ती मनाउन लागेको भनी व्यंग्यात्मक टिप्पणी गरेकी थिइन् । बैठकमा सांसदहरूले संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको खानेपानी सेवाबारे राखिएको छलफलमा मन्त्री विना मगर उपस्थित नभएकोमा आपत्ति जनाए । मन्त्रीको उपस्थिति नभई अबको बैठक नराख्न उनीहरूले सभापतिसँग माग गरे ।