रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2किसानको चोलामा कुकुर
वफादार घरपालुवा जन्तुको रूपमा कुकुरलाई सबैले चिन्दछन् । कुकुरले आफ्नो मालिकप्रति वफादारी प्रदर्शन गरेर सघाएको, घरको रखवारी गरेको त सबैले देखेकै छन्, तर कुनै कुकुरले एउटा किसानले खेतमा गर्ने सम्पूर्ण कामसमेत गर्छ भन्नेचाहिँ सायद कसैले कल्पना गरेका होलान् । यो कुनै हावादारी गफ नभई वास्तविकता नै हो । खेत जोत्ने, ह्यान्ड पम्पबाट पानी तान्ने, पानी भरिएको बाल्टेन उठाएर टाढासम्म पु-याउने, खेतमा आलु रोप्नेजस्ता काम रुसको ओम्स्क भन्ने ठाउँमा पालिएको एक कुकुरको लागि बायाँ हातको खेलसरह भएको छ । सेनाबाट अवकाश पाएका रसियन अलेक्जेन्डर लेमन नामक आफ्नो कुकुरप्रति गौरव गर्दै बताएअनुसार लेमनले ह्यान्डपाइपबाट पानी मात्र तान्दैन, बाली काट्ने काम पनि गर्छ । खेतीबालीमा सघाउन अत्यन्त इच्छुक रहने लेमनको स्वभाव छ । मालिकलाई खेतीबालीमा सघाएर बचेको फुर्सदको समयमा ऊ अन्य जनावरहरूसँग खेलेर मस्ती लिने गर्दछ ।

उल्टो शिरका सुल्टा व्यक्ति
संसारमा ईश्वरका अनेक लीला देख्न पाइन्छन् । यिनै लीलामध्ये एक मान्न सकिन्छ ब्राजिलका क्लाडियो भियरा डी ओलिवेरा नामक यी व्यक्तिलाई पनि । जन्मँदै शरीरका अनेक अङ्ग विकृत तथा बाङ्गोटिङ्गो रहेका क्लाडियोको शरीरको सबभन्दा अनौठो पक्षचाहिँ के छ भने उनको शिर नै पछिल्तिर उल्टो झुन्डिएको छ । यस्तो रूपमा जन्मेका उनलाई चिकित्सकले मृतसरह घोषणा गरिदिएका थिए । बाँच्न मुस्किल पर्ने भनिएका उनको मृत्यु त भएन बरु हिम्मतका साथ जीवन जिउने कोसिस गर्दै यतिबेला ३७ वर्ष पुगेका उनले आफ्नो जीवनलाई अत्यन्त सरल बनाएका छन् । उल्टो फर्किएको र जमिनतिर झुन्डिएको शिरका बाबजुद उनी आफ्नो काम मात्र सही ढङ्गले नगरी सामान्य शारीरिक अवयव रहेका अरूलाई समेत ठीक ढङ्गले जिउने तरिका सिकाउँछन् । सामान्यतया जरुरतका सामान उठाउन आफ्नो मुख प्रयोग गर्ने यिनी शरीरको विकृतिका कारण ह्विलचेयर प्रयोग गर्न भने सक्दैनन् । आज पेसाले उनी कलम, कम्प्युटर माउस, मोबाइल फोन सबै मुखले नै चलाउँछन् । बच्चैदेखि हरदम कुनै न कुनै काममा व्यस्त राख्दै उनले यसरी सारा काम सिकेका हुन् । आफूलाई अत्यन्त स्वस्थ व्यक्ति ठान्ने क्लाडियो उल्टो मुखका बाबजुद वस्तुलाई उल्टो भने देख्दैनन् ।

आधा किलोको स्मार्ट फोन
तपाईंलाई थाहा छ संसारकै पहिलो स्मार्ट फोन कहिले बनेको थियो ? सायद जानकारी नहुन सक्छ । सन् १९९४ को १६ अगस्टका दिन बजारमा उतारिएको ‘आईभीएम साइमन’ नामक फोनलाई विश्वकै पहिलो स्मार्ट फोनको दर्जा मिलेको छ । आधा किलो तौलको कुनै एक बक्सजस्तो देखिने यो मोबाइल फोनले कम्प्युटरको काम र फ्याक्ससमेत गर्न सक्ने गरी डिजाइन गरिएको थियो । यतिबेला लन्डनको साइन्स म्युजियममा राखिएको साइमनलाई त्यतिबेलै स्मार्टफोनको उपाधि भने मिलेको थिएन । त्यतिबेलै आठ सय ९९ डलर मूल्य तोकिएको एलसीडी स्क्रिनवाला यस फोनमा जम्मा एक घन्टा मात्र ब्याट्री टिक्नेलगायतका असुविधाका कारण यसले मार्केट लिन सकेन र उत्पादन भएको केही महिनामै म्युजियममा थन्किने वस्तु बन्न पुग्यो ।

युवती नै युवतीको सहर
कुनै पनि मानवबस्तीमा महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा सबै उमेर–समूह र लिङ्गका मानिस बसोबास गर्दछन् भन्ने जो–कसैको पनि सामान्य बुझाइ रहन्छ । तर, दक्षिणपूर्वी ब्राजिलमा एउटा यस्तो सहर छ जहाँ सुन्दर–सुन्दर जवान युवती मात्रै रहन्छन् । सुन्दा आश्चर्यकै कुरा भए पनि १८ वर्ष कटेका कुनै पनि पुरुषले बास नपाउने भएकाले नोयवा डी कोरडियो नामक उक्त सानो सहर मर्दविहीन छ । जम्मा ६ सय सुन्दरीको बसोबास रहने सो सहरको आवश्यक रखवारी पनि तिनै युवतीले गर्छन् । यहाँका केही सुन्दरी विवाहित भए पनि तिनीहरूलाई सप्ताहन्तमा एकपटक मात्र सहरबाहिर निस्केर श्रीमान् भेट्ने अनुमति छ । बाँकी सबै युवती ‘प्रेम–प्यास’मा तड्पिरहेका हुन्छन्, निश्चित प्रक्रिया पु-याएर पुरुषसँग सम्बन्ध राख्ने या विवाह गर्न सक्छन् तिनीहरू । भिन्नै विशेषता बोकेको उक्त सानो सहर कसले किन स्थापना ग-यो भन्ने कुरा पनि रोचक नै छ । मारिया डी लिमा नामक महिलामाथि विवाहपछि पनि परपुरुषसँग सम्बन्ध राखेको आरोप लागेछ । यसपछि उनले लोग्नेसँगको सम्बन्ध तोडिछिन् र शान्तसँग आफ्नै मर्जीले बाँच्न पाउने उक्त बस्तीको रचना गरिछिन् । यसपछि त लोग्ने या कुनै पुरुषसँगको सम्बन्ध बिग्रिएका युवती उक्त बस्तीमा बसाइँ सर्ने लहर नै चलेछ । पुरुषबिनाको सो बस्तीमा आफूहरूलाई बेग्लै आनन्दको अनुभूति हुने त्यहाँ रहने सुन्दरी बताउने गर्छन् ।

सोमरसले शिर चढ्दा…
अर्बौं मानिस बसोबास गर्ने विश्वमा दिनहुँ अनेक अनौठा घटना घटिरहेका हुन्छन् । सामान्य प्रकृतिका भए पनि पात्र, प्रवृत्ति र परिवेशले कुनै घटनालाई रोचक या अनौठो तुल्याइदिन्छ । यस्तै सामान्य प्रकृतिको रोचक घटना हालै बेजिङमा घटेको छ । सहरबीच रहेको एउटा एटीएम बुथमा एक व्यक्ति नराम्रोसँग च्यापिएको थियो । फायर फाइटरकै मद्दत लिएर मात्र च्याङ काओ नामक उक्त व्यक्तिलाई एटीएम बुथको काँचको पर्खालमुनिबाट सकुशल उद्धार गर्न सकिएको थियो । भएछ के भने रक्सी पिएर बेस्सरी मात्तिएको च्याङ बेहोसी हालतमै एटीएम बुथभित्र प्रवेश गरेछ । नशाको हालतमा आफ्नो सही पिनकोड उसले डायल गर्न सकेन । फलतः एटीएमबाट नोट निस्किएन र ऊ आफैं बुथबाहिर निस्कन खोज्यो । तर, उसले पिएको मदिराले कमाल देखाइहाल्यो । ढोकाको लक खोलेर बाहिर निस्कनुको साटो उसले सिसाको भित्तामुनिको केही इञ्चको ग्यापलाई पो बाटो रोजेछ । जसोतसो उसको टाउको बाहिर निस्के पनि शरीर भने हलचल गर्नै नमिल्ने गरी अड्किएछ । त्यो अजीव हालतमा तड्पिएको च्याङलाई बेहोस हालतमै निकै बेरपछि मात्र उद्धार गरिएको थियो ।