युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्ने पर्ने बताए । राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकूदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने बताउँदै खेलकूद सङ्घमा रहेको विवादको अन्त्य गर्न जरुरी छ भने ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने बृहत् राष्ट्रिय खेलकूदको आठौँ संस्करण समयमै हुने बताउँदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौँ राष्ट्रिय खेलकूद समयमा हुँदैन कि भन्नेमा आशङ्का नरहेको बतए । सदस्य–सचिव विष्टले १३ औं दक्षिण एशियाली खेलकूद गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिने हिसाबले सागको तयारी अगाडि बढाइरहेको जानकारी दिए । खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलाडीको प्रोत्साहन, स्तरीय तालिम र सामाजिक सुरक्षाका विषयमा अझ वृद्धि गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको बताए ।
सो अवसरमा राखेप तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले १८ औँ एशियाली खेलकूदको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आठौँ राष्ट्रिय खेलकूद–२०७५ तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीले आठौँ राष्ट्रिय खेलकूदको हालसम्मको तयारीबारे प्रकाश पारेका थिए ।
प्रतिक्रिया