नेपाल हिन्दूराष्ट्र भए पनि फरक पर्दैन

नेपाल हिन्दूराष्ट्र भए पनि फरक पर्दैन


antarbichar– इमाम सकिल अहमद (जामे मस्जिदका मूल पुजारी)
धार्मिक रूपले अनेकतामा एकता भएको नेपालमा १० भन्दा बढी धर्म मान्ने मानिस बसोबास गर्दछन् । ०६८ को जनगणनाअनुसार झन्डै ६ सय वर्षदेखि नेपालमा बसोबास गर्दै आएको दाबी गर्ने मुसलमान नेपाली ४.४ प्रतिशत रहेका छन् । धार्मिक रूपले कट्टर मानिने मुस्लिम अन्य धर्मावलम्बीका संस्कृति र चाडपर्वप्रति कस्तो धारणा राख्छन्, मुस्लिम धर्मको इतिहास, यसका सम्प्रदायलगायत विषयमा केन्द्रित रही मुस्लिम धर्मगुरु एवम् नेपालको सबैभन्दा ठूलो मस्जिद मानिने जामे मस्जिदका मूल पुजारी (इमाम) सकिल अहमदसँग घटना र विचार साप्ताहिकका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
० इस्लाम धर्मको मूल सारबारे केही बताइदिनुस् न ?
– मुस्लिम धर्म एउटा छुट्टै संस्कार, संस्कृति र परम्परा भएको समृद्ध धर्म हो । हामीहरू अल्लाह र रसुलप्रति समर्पित हुने गर्छौं । अल्लाहले दिएको ज्ञानअनुसार सत्य बोल्नु, सबैका लागि न्याय गर्नु, गरिबहरूलाई सहयोग गर्नु, गुरुको सेवा गर्नु, शत्रुलाई क्षमा दिनुजस्ता मूल सारमा हामीले आफ्नो धर्म मान्ने गरेका छौँ । र, यसको नीतिगत मान्यतालाई मान्ने हो भने शुद्ध आचरण, नैतिकता र दयाभावलाई जोड दिने मुख्य मान्यता यस धर्ममा रहेको छ ।
० अल्लाहका जम्मा कतिवटा म्यासेन्जर (सन्देशवाहक) थिए र मुहम्मद कतिऔँ सन्देशवाहक हुन् ?
– अल्लाहका सन्देशहरू आममानव जातिमा पु-याउन अल्लाह स्वयम्ले पृथ्वीमा पठाएको सन्देशबाहकहरू २ लाख चौबीस हजारभन्दा बढी रहेको विश्वास गरिन्छ । तिनै दुई लाख २४ हजार सन्देशबाहकमध्ये ‘आदम’ पहिलो र ‘मोहम्मद’ अन्तिम सन्देशवाहक हुन् ।
० विश्वमा इस्लाम धर्मका कतिवटा सम्प्रदाय छन्, तिनीहरूबीच के–कस्ता फरकपन रहेका छन् र नेपालमा कुन सम्प्रदायका मानिस धेरै रहेका छन् ?
– विश्वमा इस्लाम धर्मका दुई सम्प्रदाय रहेका छन्– सिया र सुन्नी । सिया र सुन्नीको बीचमा धेरै अन्तर रहेको छ । सिया सम्प्रदाय धेरै पछि विकसित भएको सम्प्रदाय हो, तर सुन्नी सुरुवातदेखिको सम्प्रदाय हो । नेपालमा सुन्नी सम्प्रदायका मानिस धेरै रहेका छन् । सियाहरू हजरत अलीलाई मान्छन् र उनीहरू विश्वभर सिया कानुन लागू गराउने पक्षमा छन् भने हामीहरू कुरआनको कानुनलाई ध्यान दिएर धर्म मान्ने गर्दछौँ । यी दुईबीचको फरक छुट्याउनुभन्दा पहिले इस्लाम धर्मकोे आधारभूत नियमबारे बुझ्नु वाञ्छनीय हुन्छ । यसका पाँचवटा आधारभूत नियम छन् । पहिलो अल्लाह र मोहम्मदलाई मान्नु, दोस्रो दिनमा पाँचपटक नमाज पढ्नु, तेस्रो रमजानमा एक महिना रोजा राख्नु (जुन हाम्रो मुस्लिम क्यालेन्डरअनुसार नवौँ महिनामा पर्दछ), चौथो जकात् गर्नु (जकात् गर्नु भनेको आफूले एक वर्षभरि कमाएको कुल रकमको २.५ प्रतिशत हुन आउने रकम अल्लाहको नाममा गरिबहरूलाई दिने गरिन्छ, विशेषगरी हामी यो मुस्लिम समुदायका मानिसलाई नै दिने गर्दछौँ) र पाँचौँ, जीवनमा एकपटक हज गर्नु रहेको छ । अति गरिबबाहेक अरूका लागि जीवनमा एकपटक हज गर्नुपर्छ भन्ने विश्वास छ ।
० तपाईंहरू सबैभन्दा ठूलो पर्व रमजान कसरी मनाउनुहुन्छ नि ?
– रमजानको दिन बिहान चार बजेभन्दा अर्थात् सूर्याेदयपूर्व हामी खाना खाए पनि त्यसपछि सूर्य अस्त नभएसम्म केही खानेकुरा पनि खाँदैनौँ । त्यस समयमा हामी मनमा कुनै पनि खराब विचार आउन नदिई एक मनले अल्लाहलाई सम्झने र मक्कालाई पश्चिमतर्फ पारेर नमाज पढ्ने गर्दछौँ । यस समयमा कसैले कसैलाई नराम्रो व्यवहार गर्ने, गाली गर्ने गरे अल्लाह रिसाउँछ भन्ने हाम्रो विश्वास छ । यो प्रक्रिया एक महिनाभर चल्दछ । हामीले जकात् तिर्ने पनि यही महिना हो ।
० मुस्लिम धर्मले महिलालाई स्वतन्त्रता नदिई तिनको अधिकार कुण्ठित पार्छ भन्ने विश्लेषण गरिन्छ । महिलालाई बुर्का लगाउन बाध्य पारिएबाट पनि यसको पुष्टि हुन्छ । यसबारे के भन्नुहुन्छ ?
– तपाईंले एउटा यस्तो प्रश्न सोध्नुभयो जसलाई हाम्रो धर्मको विरोध गर्नेहरूले पनि मुख्य विषय बनाउने गरेका पाइन्छन् । तर, म प्रस्ट्याउन चाहन्छु कि भित्री तथ्य बुझ्ने हो भने हाम्रो धर्ममा महिला एकदमै स्वतन्त्र छन् । हाम्रो धर्ममा कुनै पनि महिलाको श्रीमान् मरेमा र उसको उमेर त्यति ढल्किएको छैन भने श्रीमान् मरेको ९० दिनपछि अर्कै पुरुषसँग विवाह गर्ने स्वतन्त्रता उनलाई रहन्छ । अब कुरा आयो बुर्का लगाउने किन भन्ने सन्दर्भमा । अनुचित वा अनैतिक कार्य गरे अल्लाह रसुल रिसाउँछन् । महिलाको अङ्ग अति संवेदनशील मानिन्छ, जसले पुरुषलाई यौनिक रूपमा जबर्जस्ती आफूतिर आकर्षित गराउन सक्छ । यस्तो आकर्षणले अनैतिक तथा अनुचित विचार वा भावनालाई बढावा नदेओस् भन्ने हेतुले इस्लाम धर्मले महिलाको सुरक्षाको लागि यस्तो हुकुम जारी गरेको हो । त्यसैले हरेक महिलामाथि कुनै पनि समयमा बुर्का अनिवार्य छ । पुरुषले पनि नमाज पढ्दा टोपी लगाउने चलन छ । हामीहरू संवेदनशील भनेर कपालदेखि खुट्टासम्मलाई भन्दछौँ । यो भाग नदेखाउनुको कारण हामी नमाज पढ्दा कुनै पनि खराब विचार मनमा लिनुहुँदैन भन्छौँ । यदि कुनै मानिसले विपरीत लिङ्गीको शरीरको सवेदनशील भाग देख्यो भने उसको मनमा खराब विचार उठ्न सक्छ । त्यसैले बुर्का र पुरुषले टोपी लगाउनुपरेको हो । र, महिलाले बुर्का लगाउनुको कारण स्वयम् उनीहरूको सुरक्षाको लागि पनि हो । त्यसैले यो धर्म महिलाको स्वतन्त्रताविरोधी छ भन्नु जायज छैन ।
० तपाईंहरूको धर्मले अन्य धर्मलाई कस्तो दृष्टिले हेरेको छ र अन्य धर्मको चाडपर्वमा तपाईंहरूलाई सहभागी हुन धार्मिक प्रतिबन्ध छ कि छैन ?
– हाम्रो दृष्टिमा सबै धर्म एकै हो र सबै धर्मको एउटै सार भनेकै मानवहित हो । त्यसैले हामीले अन्य धर्मलाई पनि भगवान्को भक्ति गर्ने एउटा बाटो मानेका छौँ । जस्तो कि तपाईं रत्नपार्क जानु छ भने घन्टाघरबाट जमल हुँदै जानुहोस् या सीधै जानुहोस्, तर पुग्ने त रत्नपार्क नै हो । हामीले धर्मलाई यसरी नै लिएका छौँ । अन्य धर्मको चाडपर्वमा हाम्रो सहभागिताको प्रश्नमा के भन्छु भने इस्लाम धर्ममा विश्वास गर्ने हामै्र कतिपय साथी आपसमा मिलेर हिन्दूको महान् पर्व बडादशैँ धुमधामसँग मनाउने गर्छन् । तर, हामीले उक्त चाडलाई धार्मिक रूपमा नभई सामाजिक रूपमा, अर्थात् समाजका दाजुभाइले मानेको पर्वको रूपमा मनाउने गरेका छौँ ।
० मुस्लिम धर्मले अरू धर्मभन्दा भिन्न देखिनका लागि सबै काम उल्टो मात्रै गर्छन् भन्छन् नि, जस्तो कि हलाल गर्ने, उल्टोतिरबाट मुख धुने आदि, कारण के हो ?
– होइन । हामीले कुनै पनि धर्मको विपरीत गर्नका लागि यस्तो काम गरेको त अवश्य पनि होइन । तर, कुनै–कुनै कुरा हाम्रो संस्कृति र अरूको संस्कृतिमा फरक हुन सक्दछ । जस्तो कि हामी कुनै पनि प्राणीलाई घाँटी छिनाएर काटेको मासु खाँदैनाँै र हाम्रो धर्ममा चौपाया जनावरहरूमध्ये पछाडिबाट बस्ने जनावरहरू जस्तै : कुकुर, सँुगुर आदिलाई अशुद्ध जनावरको रूपमा हेरिन्छ । यस्ता जनावरको मासु हामी खाँदैनौँ । अब कुरा आयो उल्टो काट्ने । कुनै पनि जीवको घाँटी छिनाएको मासु हामी खाँदैनाँै र मासु खान हत्या गर्ने जीव एकैपटकमा मर्नुपर्ने भन्ने हाम्रो मान्यता छ । मरेको जीवलाई मुर्दा भनिन्छ र मुर्दाको मासु इस्लाम धर्ममा खाइन्न । त्यसैले इस्लाम धर्ममा ‘बिस्मिल्लाहे अल्लहो अकबर’ पढेर मात्र घाँटी काटिन्छ, जुन विधिलाई हलाल भनिन्छ । यसरी हलाल गर्दा जीव मुर्दा नबन्ने सोचका कारण हलाल गरेको मासु मात्र मुस्लिम धर्मावलम्बीले खान्छन् । मासुको लागि काटिन लागेको जनावरलाई उल्टो पारेर काट्नुको आशय उसको ज्यान सजिलैसँग जान सकोस् भन्ने हो । जहाँसम्म उल्टो तिरबाट मुख धुने कुरो हो, हामीले उल्टो गरेर मुख धुने गरेकै होइन । हाम्रो संस्कारमा फिजी गर्ने भनिन्छ । त्यसबेला शरीरका सबै भाग सफा गर्ने क्रममा नाकको जरासम्म पुग्ने गरी पानीले सफा गरेको मात्रै हो । मुख हामी पनि सुल्टो नै धुने गर्दछौँ ।
० तपाईंहरूको धर्मका मुख्य ग्रन्थ कति र के–के छन् ?
– हाम्रो धर्मको मुख्य धर्मग्रन्थ चारवटा छन्, तौरेत– जसको नेपाली अर्थ मुसा हुन्छ, दोस्रो, जबर– जसको नेपाली अर्थ दाउद हुन्छ, तेस्रो, इस्जिल– जुन बाइबलको वास्तविक नाम हो र चौथो हो– कुरान । इसाई धर्मको मूलग्रन्थ बाइबल त हाम्रो चार ग्रन्थमध्येको एउटा मात्र हो ।
० राज्यले मुसलमानका लागि गरेको कामप्रति तपाईंहरू कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– राज्यले हामीलाई गरेको सहयोगमा हामी सन्तुष्ट भए–नभएको कसरी भनौँ !? मानिस कति भए सन्तुष्ट हुन्छ र ? जे होस्, हामीलाई नेपाल सरकारले हाम्रै तालसुरमा आफ्नो संस्कृतिमा रम्न दिएको छ । हिन्दूराष्ट्र भएको बेलामा पनि सरकारले हामीलाई कुनै पनि किसिमको नराम्रो व्यवहार गरेको थिएन । त्यसैले हामीलाई नेपाल हिन्दूराष्ट्र हुँदा पनि नराम्रो थिएन र धर्मनिरपेक्ष हुँदा पनि कुनै फरक परेको छैन ।
(उर्दूबाट नेपाली अनुवाद : ख्वाजा आजम शाह)