संविधानसभाको निर्वाचन पाँच वर्षभित्रै लगातार दुईपटक गरेर विश्वमा कीर्तिमान बनाएका नेपाली राजनीतिकर्मीहरूले महान् उपलब्धिको रूपमा व्याख्या गर्दै आएको धर्मनिरपेक्षताका विरुद्ध जनमत व्यापक हुँदै गएको छ । ०६३ यता देशमा करिब आठ हजार चर्च (गिर्जाघर) हरू खोलिएको र प्रलोभन र भ्रममा पारी धर्म परिवर्तन गर्ने क्रम पनि अनपेक्षित किसिमले बढ्दै गएकोले राष्ट्रवादी नेपालीलाई चिन्तित तुल्याएको छ । बहुसङ्ख्यक नेपालीको यही चिन्ता अहिले राष्ट्रिय पहिचानका निम्ति एक अभियान बन्दै छ र निर्णयकर्ताहरूले सम्बोधन नगरे यही अभियान महान् राष्ट्रिय आन्दोलनमा रूपान्तरित हुने निश्चित भएको छ । धर्मनिरपेक्षताको कारण र अर्थ नबुझेकाहरू लामो समय मौन रहे पनि इसाई धर्म प्रचारकहरूको आक्रामक एवम् उछृङ्खल गतिविधिपश्चात् उनीहरूको होस खुलेको छ र देशको पहिचान पुनस्र्थापित गर्ने आन्दोलन व्यापक हुने सम्भावना बढेको छ । यतिखेर नेपालमा केही राजनीतिक दल तथा समूहका अतिरिक्त हजारौँ धार्मिक सङ्घसंस्था एवम् सर्वसाधारण जनता आन्दोलनको तयारीमा जुटिरहेका छन् । मुलुकमा करिब तीन हजार धार्मिक सङ्घसंस्थाहरूको अस्तित्व देखिए पनि एक हजारवटा मात्र क्रियाशील रहेको पाइएको छ । क्रियाशील सबै धार्मिक संस्थाहरू हिन्दूराष्ट्र निर्माणको लागि जुनसुकै कदम चाल्न प्रतिबद्ध भएका छन् । डा. मीठाराम विश्वकर्माको अग्रसरतामा ‘गोरक्ष सेना’ नेपाल निर्माण भएको छ र विश्वकर्माले संविधानमा हिन्दूराष्ट्र नेपाल नलेखिए युद्ध गर्ने सार्वजनिक घोषणा गरेका छन् । सयभन्दा बढी धार्मिक सङ्घसंस्थाहरू संलग्न रहेको ‘नेपाल हिन्दू अधिराज्य स्थापना सङ्घर्ष समिति’ले दिलविकास राजभण्डारीको नेतृत्वमा देशव्यापी सङ्घर्षको तयारी गरिरहेको बुझिएको छ । विश्व हिन्दू स्वयम्सेवक सङ्घ, शिव सेना नेपाल, काङ्गे्रस नेता हरिबोल भट्टराई अध्यक्ष रहेको बीपी चिन्तन प्रतिष्ठान, आचार्य वीरेन्द्र नेतृत्वको विश्व बौद्धिक सनातन उपचार महासभा अन्तर्राष्ट्रिय समिति, मटिहानी स्थान लक्ष्मीनारायण मठ, जनकपुर मठ, किशोरी महतो नेतृत्वको हिन्दूराष्ट्र स्थापना बृहत् सङ्घर्ष समिति, विश्व हिन्दू महासङ्घलगायतका संस्थाहरू ‘हिन्दूराष्ट्र निर्माण’को लागि सङ्घर्ष गर्ने तयारीमा रहेका छन् ।
यसैबीच नेपाली काङ्गे्रसभित्र पनि ‘हिन्दूराष्ट्र’को पक्षमा अभियान सुरु भएको छ । गत वर्ष नवलपरासीमा सम्पन्न काङ्गे्रस महासमितिको बैठकमा चार सयभन्दा बढी महासमिति सदस्यले संविधानमा हिन्दूराष्ट्र नेपाल लेखिनुपर्छ भनी नेतृत्वसमक्ष सामूहिक निवेदन दिएको भए पनि त्यसको बेवास्ता गरिएकोले काङ्गे्रसका प्रभावशाली नेता खुमबहादुर खड्काको अग्रसरतामा काङ्गे्रसभित्र हिन्दूराष्ट्र अभियान सुरु भएको छ । गत साता बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित काङ्गे्रस नेता तथा कार्यकर्ताहरूको अन्तरक्रियात्मक समारोहमा उपस्थिति भई नेता खड्काले हिन्दूराष्ट्र नेपालका पक्षमा काङ्गे्रस पार्टी लाग्नुपर्ने बताउँदै नलागे पार्टीले ठूलो क्षति व्यहोर्ने सम्भावनाबारे सचेत गराए । खड्काको भनाइ छ, ‘संविधानमा हिन्दूराष्ट्र नेपाल’ नलेखिए देश द्वन्द्वमा जानेछ, हामी आफैँ पनि सङ्घर्षको मैदानमा उत्रनेछौँ ।’ उक्त कार्यक्रममा काङ्ग्रेस नेताहरू दीपकुमार उपाध्याय, तारानाथ रानाभाट, पूर्णकुमार शेर्मा, लक्ष्मणप्रसाद घिमिरे, ओमकारप्रसाद श्रेष्ठ, मार्शलजुलुम शाक्य, पुष्पा भुसाल, डा. मीठाराम विश्वकर्मा, खिलनाथ दाहाल, राजीवविक्रम शाह, रामजीवन सिंह, सावित्री चौधरी, कुलबहादुर गुरुङ र सुवर्ण जुहारचनलगायतले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने धारणा प्रस्तुत गरेका थिए । साहित्यकार एवम् एमाले नेता मोदनाथ प्रश्रित आफ्नै प्रकारले सक्रिय भएका छन् । हिन्दूराष्ट्रका निम्ति काङ्गे्रसभित्रै पहल सुरु भएपछि सेलाएर बसेका अन्य कतिपय समूह र व्यक्ति पनि तात्न थालेका छन् । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफू अब हिन्दूराष्ट्र निर्माणको अभियानमा सक्रिय हुने घोषणा गरेका छन् । हिन्दुत्वलाई राजनीतिक एजेण्डा बनाउँदै आएको राप्रपा नेपाल पनि हिन्दूराष्ट्र निर्माणका लागि क्रियाशील हुने भएको छ । त्यस्तै लोक कल्याण पार्टी, अखण्ड नेपाल पार्टी, नेपाल जनता पार्टीलगायतका राजनीतिक समूह पनि सङ्घर्षमा उत्रने तयारीमा रहेको बताइन्छ । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक हिन्दू राष्ट्रको पक्षमा रहेको छ भने तमलोपामा अध्यक्ष महन्थ ठाकुर र महासचिव हृदयेश त्रिपाठीबाहेक बाँकी सबै हिन्दूराष्ट्रकै पक्षमा रहेको बताइन्छ । त्यसैगरी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र यादव नेतृत्वको तमलोपा पनि हिन्दूराष्ट्रकै पक्षमा भएको बुझिएको छ । यसरी राजनीतिक समूहहरूसमेत हिन्दूराष्ट्र निर्माणको पक्षमा लागेपछि यस अभियानले देशव्यापी हलचल पैदा गरेको छ । आगामी संविधानमा ‘हिन्दूराष्ट्र’ नलेखिए उक्त संविधानलाई अस्वीकार गर्दै खारेजीको तहसम्म पु-याउन यस अभियानका अभियन्ताहरू दृढनिश्चयी देखिएका छन् ।
प्रतिक्रिया