फुटबलले गाँसेको साइनो

फुटबलले गाँसेको साइनो


sportदार्जिलिङबासी र नेपालीको शारीरिक बनावट र बोलीचाली एउटै भए पनि सीमामा तानिएको रेखाले एक मुटुलाई दुइटा चिरा बनाएको छ । हरेक कुरा समानताको डोरीमा बाँधिए पनि दार्जिलिङबासीले नेपाली हुनुको गौरभ बाँड्न र साट्न पाएका छैनन् । मात्र ‘रासनकार्ड’ उनीहरूको राष्ट्रिय अस्तित्व र पहिचान बनेको छ, जसलाई उनीहरूले दुर्भाग्यको संज्ञा दिँदै आएका छन् । साँचो अर्थमा भन्नुपर्दा अहिले पनि दार्जिलिङबासीको राष्ट्रिय पहिचान छैन । उनीहरूलाई भारतले भारतीय नागरिकको दर्जा दिएको छैन भने नेपालले पनि नेपाली भन्न सकेको छैन । यसरी कुहिरोमा हराएको कागजस्तै दार्जिलिङबासीको पहिचान बनेको छ । उनीहरू अहिले पनि आफ्नो राष्ट्रिय पहिचानका लागि हारगुहार गरिरहेका छन् । जुन वीरबलको खिचडीजस्तै बनेको छ । त्यो कहिले पाक्ला र उनीहरूले खान पाउलान् त्यसको कुनै अत्तोपत्तो छैन । र पनि उनीहरूले हिम्मत हारेका छैनन्, आशाको किरणलाई जीवित राखेका छन् ।
उनीहरूको जलेको घाउमा नेपाली साहित्यिक क्षेत्रबाट बेलाबेलामा मल्हम लगाउने कार्य अर्थात् त्यहाँका स्रष्टाहरूलाई सम्मान गर्ने कार्य भए पनि त्यसको निरन्तरतामा आएको कमी–कमजोरीले निराश तुल्याउनु स्वाभाविकै हो । आफूलाई नेपाली र नेपाललाई आफ्नो देश ठान्ने दार्जिलिङबासीको नेपालप्रतिको अगाध माया कुनै नेपालीको भन्दा कम छैन । हालै इलामको फिक्कलमा सम्पन्न भएको दोस्रो नेपाल कप फुटबल प्रतियोगिताका दौरान दार्जिलिङबासी दुई फुटबल खेलाडीलाई अतिथि बनाएर सम्मान गरेपछि उनीहरूको आँखामा छचल्किएको आँसुले यो कुरालाई लालमोहर लगाएको थियो । ती स्रष्टाहरू यति खुसी थिए जसको वर्णन उनीहरूले शब्दमा गर्न नसक्ने भन्दा उनीहरूको नेपालप्रतिको माया छर्लङ्ग भएको थियो । स्मरण रहोस्, नेपाल कपको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले दार्जिलिङका पूर्वचर्चित फुटबल खेलाडीद्वय महेन्द्र सुब्बा र डेन्डुब डी भुटियालाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सो अवसरमा दार्जिलिङ हिल स्पोर्टस् एसोसिएसनका अध्यक्ष दावा लामाकोे समेत उपस्थिति रहेको थियो ।
सम्मान ठूलो होस् वा सानो, आखिर सम्मान नै हो । अझ सक्रिय खेलकुद जीवनमा पाउने सम्मान र सन्न्यासपछि पाउने सम्मानको महत्र्व नै छुट्टै हुन्छ । सक्रिय खेलकुद जीवनमा एकपछि अर्को सम्मानको आशा गर्न सकिने भए पनि सन्न्यासपछिको जीवनमा त्यो कल्पनाबाहिरको हुन्छ । तर, यो कुरालाई झुटो सावित गर्दै आज खेलकुदको माध्यमबाट स्पोर्टस् फर अल नेपालले यसको नौलो शुभारम्भ गरेको छ । दार्जिलिङबासीको मुहारलाई हँसिलो र चम्किलो पार्ने काम गरेको छ । आपसी भाइचारा र प्रेमको सम्बन्धलाई अझ प्रगाढ पार्ने प्रयासको थालनी गरेको छ । हिजोसम्म साहित्यिक क्षेत्रका स्रष्टाहरू मात्रै सम्मानित हुँदै आएकोमा अब खेलकुदका स्रष्टाहरू पनि सम्मानित हुन थालेका छन् । जसले गर्दा आपसी भाइचाराको सम्बन्धमा सुमधुरता देखिएको छ । स्पोर्टस् फर अल नेपालले सम्मानित गरेपछि दार्जिलिङ खेलकुद सङ्घका महासचिव महेन्द्र सुब्बाले भने, ‘हामी आभारी भएका छौँ, यो सम्मानले हामीलाई ऋणी बनाएको छ, ठूलो गुन लगाएको छ, यसको भर्पाई कहिल्यै गर्न सक्तैनौँ, हामीले यस्तो दिनको कल्पनासमेत गरेका थिएनौँ, तर आज नेपालले हामीहरूको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको छ, त्यो म यहाँ शब्दले वर्णन गर्न सक्दिनँ । यो खुसीको क्षण मेरा लागि अविष्मणीय बनेको छ ।’ सुब्बाले यति भन्दै गहभरि आँसु पारेपछि यो सम्मानले उनको जीवनमा कत्तिको प्रभाव पारेको रहेछ सोझै अड्कल र अनुमान लगाउन सकिन्थ्यो ।
कुनै कालखण्डमा कुनै घटनाक्रमले दार्जिलिङबासीहरूलाई नेपालबाट पराय बनाएको कसैबाट छिपेको छैन । र पनि उनीहरूको ‘नेपाली मन’ कहिल्यै पराय भएको छैन । नेपालको उन्नति, प्रगति र विकास नै उनीहरूको उन्नति, प्रगति र विकास बनेको छ । यस्तो स्थितिमा दार्जिलिङबासी र नेपालीबीचमा खेलकुद क्षेत्रबाट ‘सेतु’ बन्ने काम स्पोर्टस् फर अल बनेको छ । यसलाई अब सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय र नेपाल सरकारले आत्मसात् गरे आपसी सम्बन्धमा नयाँ आयाम थपिने प्रस्ट छ । स्पोर्टस् फर अल नेपालले दार्जिलिङबासी खेलकुद व्यक्तित्वहरूको खोजी र पहिचान गरी सम्मान गरेपछि राखेपका सदस्यसचिव युवराज लामाले यो निकै प्रशंसनीय कार्य भएको बताए । यसका लागि लामाले आयोजक कमिटीलाई धन्यवाद दिँदै यसको निरन्तरतालाई समेत औँल्याएका थिए । उनले कलाकार खेलाडीहरूलाई कुनै सिमानामा कोरिएको रेखाले रोक्न नसक्ने चर्चा गर्दै उत्कृष्ट व्यक्तित्वलाई जुन ठाउँमा पनि सम्मान गर्न सकिने बताए ।
दार्जिलिङ काठमाडौंबाट टाढा भए पनि इलामसँग मुटु गाँसिएको छ । बीचमा कोरिएको राजमार्गले दार्जिलिङ र इलामको आत्मीयतालाई छुट्याउने प्रयास गरे पनि त्यो असफल भएको छ । यसर्थमा कि वारिपारि नेपालीकै बस्ती छ । जिउँदाको जन्ती र मर्दाको मलामीको सहयात्रामा उनीहरू सदा दत्तचित्त भएर लागेका छन् । यही वास्तविकता आत्मसात् गर्दै दार्जिलिङमा बस्ने नेपालीबीच अझ प्रगाढ सम्बन्ध कायम गर्न स्पोर्टस् फर अल नेपालले ‘नेपाल कप’लाई सधैँ इलाममा गर्ने घोषणा गरेको छ । स्पोर्टस् फर अल नेपाल र राष्ट्रिय खेलकुद सङ्घका अध्यक्ष लोकबहादुर शाहीले नेपाली फुटबलको विकास र विस्तारमा दार्जिलिङको महत्र्वपूर्ण भूमिका रहेको बताउँदै आज फुटबलकै साइनोले दार्जिलिङका पूर्वफुटबल खेलाडीलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवको महसुुस भएको बताएका थिए । शाहीले सम्मानको छुट्टाछुट्टै विशेषता र परिभाषा हुने बताउँदै सन्न्यासपछिको सम्मान अविष्मणीय हुने र यसले खेलाडीले गरेको योगदानको सही मूल्याङ्कनसमेत गर्ने बताए । अझ आफ्नो सङ्घले नेपाली खेलाडीलाई नै सम्मान गरेको चर्चा गर्दै आगामी दिनमा पनि यो क्रम जारी रहने घोषणा गरेका थिए । नेपाल कपको समापन समारोहमा उपस्थित विभिन्न राजनीतिक दलका नेताहरूले उक्त कुराको खुलेर प्रशंसा गर्दै खेलकुद क्षेत्र राजनीतिभन्दामाथि रहेको चर्चा गर्दै आत्मीयताको डोरीको गाँठोलाई अझ मजबुद पार्न आयोजक कमिटी सफल हुने चर्चा गरेका थिए ।
नेपाल कप फुटबलले दार्जिलिङबासीसँग गाँसेको नयाँ साइनोले भविष्यमा दार्जिलिङ र नेपालको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । मायाका भोका दार्जिलिङबासीलाई मायाले नै जित्न सके साहित्यिक क्षेत्रमा झँै खेलकुद क्षेत्रमा समेत दार्जिलिङबासीले नेपालको मान, सम्मान र प्रतिष्ठालाई उचो पार्न तत्पर रहनेमा दुईमत छैन । हजारौँ दर्शकबीच गरिएको सम्मानले आत्मविभोर भएका सुब्बा र भुटियाले आफ्नो सम्मानलाई नेपालको मीठो कोसेलीको रूपमा ग्रहण गरेका थिए । जीवनको उत्तराद्र्धमा आफ्नो मातृभूमिले गरेको सम्मानलाई सधैँ स्मरणयोग्य बनाउन उनीहरू तत्पर देखिन्थे । जुन नेपालका लागि सकारात्मक पाटोको रूपमा हेर्न सकिन्छ ।
खेल समाचार

खेलकुदमन्त्री कारबाहीको हकदार !
दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी चारजना खेलाडी उतै बेपत्ता भएपछि उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले कारबाहीस्वरूप दशवर्षे खेलजीवनमा प्रतिबन्ध लगाएको छ । तर, टोली नेता तथा जथाभावी एसियाडमा खेल र खेलाडीलाई सहभागी गराउने खेलकुदमन्त्री पुरुषोत्तम पौडेलमाथि अहिलेसम्म कुनै कानुनी कारबाही नहुनु विडम्बनाको विषय बनेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीलाई राजनीतिक प्रभावमा पारी मन्त्री पदको समेत दुरुपयोग गर्दै पौडेलले एमालेका कार्यकर्तालाई एक्रिडिएसन कार्ड दिलाएको जानकारीमा आएको छ । प्राप्त जानकारीअनुसार पौडेलले एक्रिडिएसन कार्ड दिलाएबापत आर्थिक चलखेल गर्दै मोटो रकम असुलेको बुझिएको छ । मन्त्री पौडेललाई यो कार्यमा नेपाल ओलम्पिक कमिटीका महासचिव तथा एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले सघाएको पनि सूत्रको दाबी छ । स्मरण रहोस्, एक्रिडिएसन कार्ड प्राप्त गरेपछि भिसाका लागि सम्बन्धित व्यक्तिले राजदूतावासको चक्कर काट्नुपर्दैन ।
प्राप्त जानकारीअनुसार मन्त्री पौडेलले एक्रिडिएसन कार्डमार्फत पचासभन्दा बढी गैरखेलाडी पठाएको सुनिनमा आएको छ । ती एक्रिडिएसन कार्ड भिर्नेहरू काठमाडौंमा उडे पनि दक्षिण कोरिया पुगेपछि सिधै इन्चोन एयरपोर्टबाट सोलतिर लागेको पनि सूत्रले दाबी गरेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा तीन करोड खर्च गरेका मन्त्री पौडेलले एक करोड ऋण बोकेको र त्यसैको भरथेग गर्न एमाले कार्यकर्ता दक्षिण कोरिया उडाएर रकम असुलेको बुझिएको छ । खेलकुद मन्त्रालय आएदेखि नै खेलकुदको विकासभन्दा राजनीतिक चलखेल गर्दै आएका मन्त्री पौडेलले पछिल्लो समयमा गरेको यो हर्कतले खेलकुद क्षेत्रमा नराम्रोसँग गन्हाएका छन् ।
एमालेका मन्त्रीहरूमा निकै विवादित मन्त्रीमा पर्ने मन्त्री पौडेललाई उनको यही हर्कतले गर्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसियाडअघि नै फिर्ता बोलाउन लागेका थिए । यो कुरा चाल पाई मन्त्री पौडेलले रोइकराई गरी आफूलाई एसियाडअघि फिर्ता नबोलाउन अनुयनविनय गरेका थिए । आफू एसियाडमा नेपाली टोलीको टोलीनेता भएको र अहिले फिर्ता बोलाउँदा आफ्नो घोर बेइज्जत हुने कुरा अध्यक्ष ओलीलाई सुनाएपछि तिहारसम्मका लागि पौडेललाई थमौती गरिएको स्रत्रले बताएको छ । हालको मन्त्रिपरिषद्मा एमालेका मन्त्रीहरूमा सबैभन्दा विवादास्पद र गन्हाएका मन्त्रीको रूपमा परिचित पौडेललाई छिटै फिर्ता बोलाउन लागिएको पनि स्रोतले जानकारी गराएको छ ।