सहिद घाइते रगतमा…– रामेश्वर राउत मातृदास
बेइमान–डाका कन्तुरे
मुलुकमारा फन्तुरे
किर्ते छन् काइते घरमारा
कुँडुले कुण्ठा मनमारा
।।१।।
काउसोको माला लाएर
छेकटो मारे आएर
होसियार लहै पलपाइला
शिर पाउ ध्वंस खाइजाला
।।२।।
सियोझैं पसी फालीमा
लुब्धको सुँडो बालीमा
अल्छीको आली धुम्मिए
हिंस्रक हुँडार झुम्मिए
।।३।।
धर्तीको घाममा छन् बेइमान
लौ आइज उठबस समाकान
सहिद घाइते रगतमा
खुब खेले होली फगतमा
।।४।।
जनता जनको पनमा
डढेलो सल्काई मनमा
कहाँ बास बस्ला कुन ठाउँमा ?
ब्याजमै रित्तो सावाँ छ कहाँ ?
।।५।।
एऽ हुतिहारा काँतर
मानवता–सिद्धिस् बाँदर !
यो जुनी तेरो परानी
के उडाइस् शिरपाउ खरानी
।।६।।
देशको खाइस् मुखमोसी
समय नठान बेहोसी
घुमाई पाता कसेर
झार्ने छ विषले डसेर
।।७।।
जिन्दगी एकबार फूल आकाश
सत्यलाई गिज्याई भो नहाँस
कालका तीखा बङ्गारा
एक झिल्को झोक्का खरमारा
।।८।।
समुद्र मन्थन नागनेती
सर्वनाश हुन्छ बेथिति
पर्खन्छन् धैर्य हिमचुली
झुल्कने घाम नभुली
।।९।।
के हेर्नु कपुत कल्मश
सिर्जना ध्वंस क्रमशः
धर्ती छन् सृष्टिसमृद्ध
युवत्व जहाँ छन् प्रसिद्ध
।।१०।।
यो हाम्रो उन्नत घरबारी
के खान्छन् चुँडी तरमारी ?
वीरले पौरख घेरेर
को बस्छ अन्याय हेरेर ?
।।११।।
गुञ्जन बाँसुरी धुनसारा
आकाश एक्लै जूनतारा
विवेक धीरको बिम्झाई
सत्यले मार्ग सम्झाउँछ
।।१२।।
लुटमारा चोइटा चमजुम्रा
हृदय लुस्छन् वनखुम्रा
निरीह नहौँ नेपाली
आफँै हौँ आफ्ना मनमाली
।।१३।।
आशीष पाऊँ शिवानी
धरतीमा ल्याउन बिहानी
के छैन महिमा गाउनलाई
पुकार गर्छौं आउनलाई
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
ऊ त सरकार पो रहेछ – मोतीराज बम
मैले उसलाई
धेरै प्रयत्न गरेँ बोल्नका लागि
अँ हँ ऊ बोल्दै बोल्दैन ।
टेलिफोनको तार पठाएँ
मोबाइलमा एसएमएस पठाएँ
कुनै बक्स खाली भएनन् सामाजिक सञ्जालका
उसको कान तताउन उसको आँखा खोल्न
नजिकै गएर चोरऔंला पनि उठाएँ
अँ हँ ऊ बोल्दै बोल्दैन ।
पूर्वमा घाम उदाउन खोज्छ सखारै
बाधक बनेर उठ्छ तुँवालो
पश्चिममा घाम निदाउन खोज्छ साँझमा
बाधक बनेर उर्लन्छ बाढी
अनायास सुन्दर प्रकृतिमाथि कसले धावा बोल्छ
म सोध्न खोज्छु उसलाई
अँ हँ ऊ बोल्दै बोल्दैन ।
माङ्खामा सुनकोसी आफैँ थुनिएको कहाँ हो र !
बन्द भएपछि कोसीका ढोकाहरू
उकुसमुकुस हुन्छ सुनकोसी
चिट्चिट् पसिना काढ्छ सिन्धुपाल्चोक
अनि भत्किन्छ मान्छेहरूको निधार
जीवन टुक्राटुक्रा बनेर खस्छ पहिरो ।
सुर्खेतमा आफैँ बहुलाएको कहाँ हो र ! खोर्के खोला
फटाफट हाम्फाल्न थालेपछि छेउछाउका बेचैन बस्तीहरू
सँगै लैजान बाध्य भएको हो खहरे ।
यो बर्खा पनि परम्परा तोडेन घाँसेमैदानले
बाढीमा बगेर भए पनि सर्पले डसेर भए पनि
आहुतीको अनन्त लाममा
उभिनै रहे बिचरा देशका इमानदार नागरिकहरू ।
आपतका कुराहरू बुझाउन खोजेँ उसलाई
विपतका समाचारहरू सुनाउन खोजँे उसलाई
अँ हँ ऊ बोल्दै बोल्दैन ।
खेतमा धान फलेन भने भकारी रित्तिने डर छ
देशमा संविधान बनेन भने स्वाभिमान सिद्धिने डर छ
भन के सोचेका छौ तिमीले र कठालो पनि समातेँ मैले
अँ हँ ऊ बोल्दै बोल्दैन ।
इँटाभट्टाको चिम्नीझैँ एकोहोरो फतफताइरहेँ म
उसले त चुपचाप हेरिरह्यो मात्रै चुपचाप सुनिरह्यो मात्रै
उसको मौनता विस्तारै मैले पनि बुझेँ
ऊ त सरकार पो रहेछ ।
प्रतिक्रिया