एकासी वर्षीया आमैको यस्तो जोस
हाम्रोजस्तो समाजमा ८१ वर्षको उमेरलाई सहज मृत्युको कामना गर्दै ओछ्यानमा बसेर आराम गर्ने उमेरका रूपमा लिइन्छ । तथापि, यस उमेरमा पनि सक्रिय सामाजिक जीवन बाँचिरहेका मानिस थुप्रै भेटिन्छन् । चीनकी यी ८१ वर्षीया हजुरआमाले चाहिँ गजबै गरिन् । उनी हरेक दिन कडा व्यायाम गर्छिन् । पाँच मिनेटकै अवधिमा सयपटक पुसअप गर्ने गरेर यिनले निकै चर्चा र वाहवाही बटुलेकी छिन् । चीनको फुजियान प्रान्तनिवासी ली गचुआनको शारीरिक व्यायामप्रति यस्तो लगाव छ कि यस उमेरमा पनि उनी नियमित बास्केटबल खेल्छिन् भने पुसअप एवम् सिटअप उनको प्रिय व्यायाम–विधा बनेको छ । उनको मान्यता छ कि हड्डी र मांसपेसीका लागि यो कसरत अत्यन्त फाइदाजनक हुन्छ । आफूले देखावटीका लागि नभई खेलको पूरा आनन्द लिँदै आत्मिक रूपमै खुसी हासिल गर्न यसरी कडा व्यायाम गरिरहेको उनको कथन छ । गचुआन भन्छिन्, ‘जब म ६८ वर्षकी थिएँ, मलाई महसुस भयो कि अब म खेलमा करियर बनाउन सक्छु । म स्वस्थ छु र कुनै जवान व्यक्तिभन्दा पनि तीव्र गतिमा हिँडडुल गर्न सक्छु ।’
उँटलाई कोकको नसा लागेपछि…
आफूले निकै माया गरेर पालेको उँटलाई नियमित रूपमा कोकाकोला नखुवाउँदा रिचर्ड मेलेस्की नामक एक अमेरिकीले ज्यान गुमाउनुपरेको छ । प्राकृतिक स्वभाव नै कहिलेकाहीँ भेटेको बेला पानी पिएर प्यास मेटाउने र पानी राख्ने ठूलो थैलो शरीरमै हुने उँटसँग कोकको के सम्बन्ध भन्ने प्रश्न उठ्न सक्छ । भएछ के भने मेक्सिकोको एक वन्यजन्तु पार्कमा सधैँझैँ उँट मालिक रिचर्ड आफ्नो उँटमा सवार हुन लागेका थिए । आफूले उँटलाई नियमित रूपमा कोक खुवाउने गरेकोप्रति रिचर्डले कुनै ध्यान दिएका थिएनन् । तर, उँटलाई भने कोकको नसा नै परिसकेको रहेछ । कोक नपिई कुनै बोझ बोक्ने मनस्थितिमा नरहेको उसले रिचर्डलाई टाउको तलमाथि गर्दै सुरुमा त इशारा दियो, तर उनले सो सङ्केत बुझ्न सकेनन् । जबर्जस्ती सवार हुन खोजेपछि उँट रिसायो र रिचर्डको शरीरमा दाँत गाडेर टोक्न थाल्यो । किन यस्तो व्यवहार गरिरहेको छ भन्ने रिचर्डले सोच्नै सकेनन् । यस्तैमा अचानक लात हानेर लडाउँदै उँट रिचर्डको शरीमाथि थचक्कै बसिदियो । डोरी लगाएर उँटलाई पल्टाउँदासम्म रिचर्डको प्राणपखेरू उडिसकेको थियो । घटनाको अनुसन्धान गर्दा पछि मात्र कोक पिउन नपाएर उँट रिसाएको पत्तो लागेको थियो ।
मृत लोग्नेले सेक्सको चाहना गरेपछि…
यौन भनेपछि भुतुक्कै हुने सन्काहाहरूले महिलाको लासलाई पनि बलात्कार गरेको हामीले सुन्दै आएका भए पनि कुनै शालीन महिलाले मरेको पुरुषसँग सेक्स सम्बन्ध राखेको कुरा सुन्दाचाहिँ पत्याउन मुस्किल नै पर्छ । तर, जिम्बाबेमा यस्तै आश्चर्यपूर्ण घटना घटेको छ । सारा सिमराई नामक ती महिला लोग्ने छाडेर प्रेमीसँग घरजम गर्दै थिइन् । यस्तैमा प्रेमीले अचानक साथ छोडेपछि फर्केर पुरानै लोग्नेसँग बस्न आइन् । पूर्वपतिले खुसीसाथ घर भित्र्याएका भए पनि साराको खुसी धेरै दिन टिक्न सकेन । लोग्नेको मृत्यु भयो । यहाँसम्म त सहेकै थिइन् साराले, तर जब मृतपतिको दाहसंस्कार गर्ने बेला भयो, उनलाई समाजका हर्ताकर्ताहरूले अनौठो काम अह्राए । मरेका लोग्नेसँग सेक्स गर्नैपर्ने आदेश सुनाइएको थियो उनलाई, जसले सारालाई हतप्रभ तुल्यायो । ठट्टा गरेको होला भनेर एकछिन त उनी हाँसिरहिन्, तर त्यो ठट्टा नभई अनिवार्य आदेश थियो । पछि उनले बुझिन् कि घर छोडेर प्रेमीसँग गएपछि उनका श्रीमान् साराको प्रेममा पागलतुल्य भएछन् । त्यही तोडमा आफ्नो मृत्युपछि प्यारी पत्नीले आफूसँग एकपटक सेक्स गरुन् भन्ने इच्छापत्र उनले लेखेका रहेछन् । त्यही इच्छापत्रको आडमा मृतकका परिजनले दबाब दिएपछि साराले उक्त प्रस्ताव टार्नै सकिनन् र चिहानमा गाड्नुअघि मृत लोग्नेसँग सेक्स गर्न उनी विवश भइन् ।
जनावरसँग जोडिनेलाई झट्का
कतिपय युरोपियन देशमा यस्तो चलन छ जहाँ जनावरहरूसँग यौन सम्बन्ध राख्न कानुनी तवरमै छुट दिइन्छ । डेनमार्क पनि यस्तैमध्येको एक मुलुकमा पर्छ । तर, लामो समयदेखि पशुअधिकारवादीहरूद्वारा अन्तर्राष्ट्रिय रूपमै दबाब परेकाले जनावरसँग सेक्स गर्न पाइने कानुन बदलेर डेनमार्कले त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । पशुसँग यौनसम्पर्क गर्न पाइने कुराले देशकै इज्जतमा धब्बा लागेको महसुस गरी डेनिस सरकारले कानुन संशोधनको तयारी गरेको हो । अधिकांश युरोपेली मुलुकमा यसमाथि प्रतिबन्ध लागेकाले पशुसँग यौनसम्पर्क राखेर आनन्द लिन खोज्नेहरूको डेनमार्क नै अखडा बन्ने खतरा बढेकाले पनि कानुन संशोधन गर्न बाध्य बनेको त्यहाँका एक मन्त्रीले जनाएका छन् । जनावरसँग जोडिने लत बसेकालाई भने डेनिस सरकारको यो निर्णयले झट्का दिएको छ ।
प्रतिक्रिया