गन्धर्वको पेसा पनि खतरामा– मुक्तिनाथ भुसाल

गन्धर्वको पेसा पनि खतरामा– मुक्तिनाथ भुसाल


muktiजीविकोपार्जनको माध्यम बन्दै आएको सारङ्गी बाजाको महत्र्व घट्दै गएपछि अर्घाखाँचीवासी गन्धर्वजाति समस्यामा परेका छन् । सारङ्गीको धुन तथा गन्धर्वहरूको कण्ठबाट निस्कने कथा–व्यथासहितका गीत सुनेर मन पग्लिएपछि थोरबहुत नगद तथा अन्न आदि दिने सामाजिक प्रचलन नै हराउँदै गएको अनुभूति हुन थालेको छ । यही यथार्थबाट रन्थनिएका गन्धर्वहरू आजभोलि ‘कष्ट भयो बालबच्चा पाल्न, सकिएन नदीमा हाम फाल्न’ बोलका गीत सुनाएर गाउँ–समाजलाई द्रविभूत तुल्याउन थालेका छन् । समाजको गहनाकै रूपमा रहेको गन्धर्व–संस्कृतिलाई जोगाउने कार्यमा मूलतः जनप्रतिनिधिहरूको भूमिका रहने आवाजसमेत उठ्न थालेको छ । तथापि, जनप्रतिनिधिहरूले भने यस जिम्मेवारीप्रति उपेक्षाभाव प्रकट गरिरहेका छन् ।
जिल्लाको क्षेत्र नम्बर १ बाट संविधानसभामा प्रतिनिधित्व गर्ने एमाओवादी नेता टोपबहादुर रायमाझी पटक–पटक मन्त्री बने पनि उनैको जन्मस्थान अर्घाको पाथ्रावाङमा बसोबास गर्ने गन्धर्वलाई व्यवस्थित गर्ने कार्यमा ध्यान पु-याउन सकेनन् । यस्तै, बेरोजगार युवाहरूको नाम डायरीमा टिप्दै सभासद्को ओहोदा हासिल गर्न सफल क्षेत्र नम्बर दुईका एमाले सभासद् डा. दुमनसिंह थापाको हालसम्मका क्रियाकलापलाई हेर्दा आफ्नो क्षेत्रका गन्धर्वजातिको हितमा कुनै सुधार ल्याइहाल्लान् भन्न सकिने लक्षण देखिँदैन । यस परिवेशमा स्थानीय एमाले नेतासमेत रहेका भोजबहादुर गन्धर्वले जिल्लाभर करिब ६० घरधुरी सङ्ख्यामा आफूहरू रहेको र बस्ने बासको अलवा धेरैजसोको एक टुक्रा जमिन पनि नभएको जानकारी गराए ।
सारङ्गीको धुन र कर्णप्रिय आवाजद्वारा समाजलाई मनोरञ्जन दिँदै जीविकोपार्जन गर्ने अर्घाखाँचीका गन्धर्वहरूले हालका दिनमा तुलनात्मक रूपमा गाउँ घुम्न छाडेका छन् । मिडियाको विकाससँगै एफएम, मोबाइल फोन, टेलिभिजनलगायतका सञ्चारमाध्यमद्वारा गीत–सङ्गीतको मनोरञ्जन दुनियाँलाई सहजै मिल्ने भएपछि सारङ्गी बोकेर गाउँमा जानुको कुनै औचित्य नभएको पीडित गन्धर्वहरूको कथन छ । अर्घाखाँचीको अर्घा–पाथ्रावाङमा २२ घरधुरी र धरमपानी, सीतापुर, ठाडा, जलुके, सिद्धारालगायतका गाउँमा गन्धर्वहरूको बसोबास छ । सभासद् रायमाझीको पहलमा गरिबी निवारण कोष, सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल सरकारको भवन निर्माण कार्यक्रमअन्तर्गत अर्घाको पाथ्रावाङसहित जम्मा ३३ गन्धर्व परिवारका लागि नयाँ पक्की घर निर्माण सम्पन्न हुनु सकारात्मक पक्ष मान्न सकिन्छ । स–साना खरका झुपडीमा जीविकोपार्जन गर्दै आएका गन्र्धवजातिका लागि राज्यले पक्कीघर निर्माण गरिदिएको भए पनि बिहान–साँझ कसरी हातमुखको जोहो गर्ने भन्ने विकराल समस्या उनीहरूमा विद्यमान रहेको छ । स्थानीय भेगमान गन्धर्वका अनुसार ओत लाग्ने झुप्रोबाहेक आफूहरूसँग एक इञ्च पनि जमिन नभएको कारण कृषि तथा चौपाया पाल्लेर जीविकोपार्जन गर्ने रहर एकादेशको कथा समान भएको छ । उनका अनुसार बाससँगै गाँस जुटाउने कसरी भन्नेबारेमा राज्यले सोचिदिएको भए आफूहरूको जीवनपद्धतिमा सुधार आई पुस्तौँपुस्तादेखिको सारङ्गीवादन कर्मलाई निरन्तरता दिएर संस्कृति जोगाउन सकिन्थ्यो । आजभोलि त सारङ्गी बोकेर गाउँमा जाँदा ‘माग्ने आयो’ भन्दै मानिस तथा समाजले हेलत्वको व्यवहार गर्ने कारण नयाँ पुस्ताका गन्धर्वहरू अन्य ज्यालादारी काम गर्न वा भारततिर पलायन हुन थालेको पनि उनले जानकारी दिए ।
मिडियाको विकास हुनुपूर्व एक गाउँको खबर अर्को गाउँमा पु-याई सारङ्गीकै तालमा सम्प्रेषण गरी समाजलाई हँसाउदै–रुवाउँदै हिँड्ने गन्धर्व जातिको पहिचान हालका दिनमा सङ्कटमा पर्दै गएको छ । दशैँ पूर्णिमाको दिन करिब पाँच लाख मानिस जम्मा हुने प्रसिद्ध अर्घा मन्दिरदेखि करिब ५० मिटर तल रहेको पाथ्रावाङमा बसोबास गर्ने गन्धर्वहरूसँग सामूहिक भलाकुसारी गर्ने क्रममा शिक्षकसमेत रहेका हरि गन्धर्वले आफ्नो जातीय पहिचानको निसानी बाजा (सारङ्गी)लाई समाजमा टिकाइराख्न राज्यले पहलकदमी लिनुपर्ने माग गरे । सभासद् रायमाझीले पक्कीघर बनाइदिएर ठूलै समस्या समाधान गरिदिएका भए पनि गाँसको व्यवस्थाबिना आफूहरू अधुरो बनेको स्थानीय ठाकुर गन्धर्वको बुझाइ छ । राज्यले गाँसका लागि सदरमुकामका कार्यालयमा पियन वा सुरक्षा निकाय आदिमा जागिर लगाइदिएमा आफूहरूको उद्धार हुने सभासद् रायमाझीको जन्मगाउँका गन्धर्वजातिहरू पुकारा गर्छन् । धेरथोर खेतीयोग्य जमिन राज्यद्वारा उपलब्ध गराइएमा चौपाया पालन वा कृषि पेसा गरेर जीविकोपार्जन गर्न सकिने उनीहरूको कथन छ ।
बुढापाका गन्धर्वमध्येका भेगमान गन्धर्वका अनुसार केही वर्षअघिसम्म उनीहरू घर छोडेर गाउँ डुल्दै महिनौँ दिनमा घर फर्कन्थे । एक गाउँको खबर अर्को गाउँमा पुगेर गीतमार्फत दिने गरेकाले गाइने आएको खबर पाउनासाथ के खबर ल्यायो भन्दै टोलछिमेक जम्मा हुने र मुठीमानो सबैले दिने गर्थे । यसरी समाजले पनि फाइदा उठाउँथ्यो भने गन्धर्व परिवारको गुजारा पनि चल्थ्यो । आजभोलि टेलिभिजन र एफएम रेडियोद्वारा समाचारको अलावा चाहेजस्ता गीतहरू सजिलै सुन्न र हेर्न सकिने कारण उनीहरूको पेसामा दशा भित्रिएको भुक्तभोगी गन्धर्वहरूको बुझाइ रहेको छ । अर्कोतर्फ गन्धर्वका बालबच्चा विद्यालयमा जाने क्रम पनि बढ्दो भएकोले पिता–पुर्खालेझैँ सारङ्गी रेटेरै मुठीमाना सङ्कलन गरी गुजारा चलाउनुपर्छ भन्ने सोच पनि तोडिँदै छ । जमानामा आएको परिवर्तनका कारण आफूहरूलाई गाउँलेले देख्नासाथ ‘काम गर्न गाह्रो भएर माग्न आएको’ भन्ने खालको व्यवहार नयाँ पुस्ताका गन्धर्वले पचाउन नसक्ने सोचको विकास भएको छ । यसले गर्दा उमेर बढ्नासाथ भारत वा गाउँमा ज्यालादारीका काम गर्नेतर्फ गन्धर्वहरू उन्मुख हुँदै गर्दा सारङ्गी नै लोप हुने चिन्ता प्रकट हुन थालेको हो । सारङ्गीजस्तो मौलिक नेपाली बाजा तथा गन्धर्व जातिलाई दीर्घकालसम्म टिकाइराख्न राज्यका सरोकारवालाहरूको ध्यान कहिले पुग्ने हो ? चासोको सन्दर्भ बनेको छ ।