उनको कुनै सपना थिएन, ‘रहर’ राजधानी काठमाडौं घुम्ने मात्रै थियो । भदाहरू काठमाडौं पढ्ने भएकाले उनलाई त्यो साइत जुरेको थियो । अझ मामा खिलबहादुर खड्काको पुलिसको जागिर उनका लागि सुनमा सुगन्ध भयो । राजधानीको चकाचौध उनको रङ्गीन सपनाको एउटा पाटो थियो, यहाँ हराउने उनको कुनै मनसाय थिएन । तर, भाग्यमा भएपछि डोकोमा दूध दोहेपनि अडिन्छ भनेझैँ त्यतिबेला खुलेको महिला पुलिसको भर्तीले उनको जीवनलाई नौलो मार्गमा उभ्याएको थियो । कलिलो उमेर, अनगिन्ती चाहना र सपनाको आँधीहुरीले मनलाई चञ्चल बनाइराख्दा महिला पुलिसको जागिरप्रति उनको अर्जुनदृष्टि सोझिएको थियो । सानो उमेर, तर जागिर खाने असीमित चाहाना, अझ मामा खिलबहादुरको प्रेरणादायी भूमिका उनको भविष्यको मार्गदर्शक बनेको थियो । यसरी काठमाडौं घुम्न आएकी उनी अर्थात राजकुमारी पाण्डे अनायासै ‘महिला पुलिस’ बन्न पुगिन् । कुरो ०४२ सालको हो ।
पढाइलाई चटक्कै छाडेर टे«निङमा होमिँदा राजकुमारीले पहिलोपटक खेलकुदलाई आत्मसात् गर्न पाएकी थिइन् । त्यसभन्दाअघि खेलकुद कुन चरीको नाम हो उनलाई थाहा थिएन । टे«निङकै क्रममा भलिबल, ब्याडमिन्टन, बास्केटबल, जिम्न्यास्टिक र एथलेटिक्समा सहभागी हुने अवसर उनलाई जुरेको थियो । एघारजना महिलाको सहभागिता रहेको उक्त ट्रेनिङको अलराउन्डमा दोस्रो स्थान हासिल गरेपछि राजकुमारी उदीयमान खेलाडीको रूपमा समेत आफ्नो पहिचान बनाउन सफल भएकी थिइन् । उनको यही प्रतिभालाई आत्मसात् गर्दै पूर्वप्रहरी महानिरीक्षकद्वय अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानले खेलकुदको मेरुडण्ड मानिने जिम्न्यास्टिक खेल्न निर्देशन गरेका थिए । राजकुमारीले पनि पाएको अवसरको पूर्णरूपमा सदुपयोग गर्दै जिम्न्यास्टिकको उत्कृष्ट खेलाडी बनेर देखाएकी थिइन् । सफलताले राधिकालाई चुम्दै जाँदा प्रतिभा देखाउन उनको उमेर बाधा बनेको थियो । जुनियर हुँदा उनले थुप्रै अवसरहरू गुमाउनुपरेको थियो । त्यसमा राजारानीको शुभजन्मोत्सव पनि थियो । त्यो तीतो सत्य अहिले पनि उनको मानसपटलमा ताजै छ ।
प्रशिक्षक रणवीर सुनुवारले राजकुमारीलाई उत्कृष्ट खेलाडीको संज्ञा दिँदै सिफारिस गरेपछि उनको नियमित ट्रेनिङको ढोका खुलेको थियो । त्यसपछि ०४४ सालमा भएको जावलाखेल रनिङ सिल्ड एथलेटिक्स प्रतियोगितामा उनले पहिलोपटक सहभागिता जनाउने अवसर पाएकी थिइन् । तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गरेकी राजकुमारीले पहिलो सहभागितामै प्रथम स्थान हासिल गर्दा उनको निकै चर्चा भएको थियो । यसपछि उनको सफलता पुलिस टिमको मात्रै सीमित रहेन । उनी रातारात चर्चित एथलेटिक्स खेलाडीको बन्न पुगिन् । सोही साल भएको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागिता जनाउने क्रममा उनले दश, पाँच, तीन हजार, र १५ सय मिटर, सटफुट र ज्याभलिन थ्रोमा प्रतिस्पर्धा गरेकी थिइन् । पहिलोपटक सहभागिता जनाएका ट्रयाक एन्ड फिल्डका सबै विधामा दोस्रो स्थान हासिल गरेर एथलेटिक्समा तहल्का मच्चाउँदै सबैलाई आफूतर्फ आकर्षित गर्न सफल भएकी थिइन् । जुन उनको खेलजीवनको ठूलो छलाङ थियो ।
राष्ट्रियस्तरमा सनसनी फैलाएपछि राजकुमारीको तुलना नेपालका चर्चित महिला खेलाडीसँग गरिन थालियो । यो कुरालाई सत्यतामा परिणत गर्दै सिङ्गापुरमा भएको जुनियर च्याम्पियनसिपमा चौथो र पाँचौँ स्थान हासिल गरी डिप्लोमाको सर्टिफिकेट प्राप्त गरेकी थिइन् । रसियन प्रशिक्षक उषा कोभेदको मात्र १५ दिनको प्रशिक्षणमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी राजकुमारीले उक्त प्रतियोगितामा तीन हजार र पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले यी दुई विधामा राष्ट्रिय कीर्तिमानसमेत कायम गरेर सफलतको झण्डा गाडेकी थिइन् । त्यसबेला एथलेटिक्समा विमला जोशी र नीरमाया कार्कीको जगजगी थियो । पुलिसको अनुशासन र विदेशी प्रशिक्षकको प्रशिक्षणले खारिएकी राजकुमारीले त्यसपछि रोममा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपको छनोट चरणमा विमला जोशी र नीरमाया कार्कीलाई पराजित गरेपछि उनी नेपालको नम्बर एक महिला एथलेटिक्स खेलाडी बन्न पुगेकी थिइन् । रोममा दश र पाँच हजार मिटरमा प्रतिस्पर्धा गरेकी उनले त्यहाँ राष्ट्रिय कीर्तिमान तोड्दै आफ्नो सफलतामा अर्को सिँढी थपेर अन्य खेलाडीका लागि थप चुनौती बनेकी थिइन् ।
०४३ देखि ०५५ सालसम्म राष्ट्रिय एथलेटिक्समा एकछत्र राज गरेकी राजकुमारीलाई त्यसबेला ‘एथलेटिक्सकी राजकुमारी’ भन्ने गरिन्थ्यो । उनले यो अवधिमा आफूले प्रतिस्पर्धा गरेका सम्पूर्ण खेलमा प्रथम स्थान हासिल गरेर यो उपाधि प्राप्त गरेकी थिइन् । पाँच हजार, तीन हजार, पन्ध्र सय, आठ सय, चार सय, चार गुणा सय र चार गुणा चार सयमा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो । राजकुमारीले यी विधाहरूमा वर्चश्व कायम गर्न सुदूरपश्चिमको महेन्द्रनगरदेखि काठमाडौं, धरान, पोखरा र वीरगञ्जको चुनौती सामना गरेकी थिइन् । सफलताले चुम्दै जाँदा उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेश्रस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) का लागि छनोट भएकी थिइन् । तेस्रो साफमा दश, पाँच र तीन हजार मिटरमा सहभागिता जनाएकी राजकुमारी प्रतियोगिताका क्रममा टाइफाइटले थलिएपछि साफमा पदक जित्ने सपना अधुरै रहेको थियो । उनले यो घटनालाई दुर्भाग्यको संज्ञा दिँदै आफ्नो सम्पूर्ण मिहिनेत बालुवा पानी भएको बताइन् । ‘यदि म त्यसबेला बिरामी नभएकी भए अवश्य पदक जित्थेँ, म त्यसबेला फर्ममा थिएँ, राष्ट्रले पनि मबाट पदकको आशा गरेको थियो,’ राजकुमारीले भनिन् । सन् १९८९ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आठ सय मिटरमा सहभागिता जनाएकी उनले चौथो स्थानमै चित्त बुझाउनुपरेको थियो । अर्थात् उनी पदक पाउन एक कदम पछि परेकी थिइन् ।
नेपाली खेलकुदका लागि डेढ दशक आफ्नो रगत–पसिना सुकाएकी राजकुमारीले सो अवधिमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले सोचेअनुरूप सफलता प्राप्त गर्न नसके पनि सन् १९८९ मा सिङ्गापुरमा भएको एसियन च्याम्पियनसिप र छैटौँ ओपन च्याम्पियन एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेको अनुभव उनीसँग छ । उनले यो सफलता तीन हजार मिटर दौडमा हासिल गरेकी थिइन् । त्यस्तै, सोही साल थाइल्यान्डमा भएको इन्टरकपमा राजकुमारीले तीन हजार मिटर र चार गुणा एक सय मिटरमा रजत र कास्य पदक जितेर नेपालको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा पु-याउन सफल भएकी थिइन् । त्यस्तै एउटा खेलाडी भएर ओलम्पिक खेल्ने सबै खेलाडीकोे सपना हुन्छ । राजकुमारीलाई यो सौभाग्य सन् १९८८ को सोल ओलम्पिकमा प्राप्त भएको थियो । उनले सोल ओलम्पिकमा म्याराथनमा सहभागिता जनाएकी थिइन् । ओलम्पिकमा म्याराथन दौडने उनी पहिलो नेपाली महिला खेलाडी हुन् । उनले सोल ओलम्पिकमा कुनै चमत्कार देखाउन नसके पनि सफलतापूर्वक दौड पूरा गरी नेपाली खेलकुदमा नौलो कीर्तिमान कायम गरेकी थिइन् । उनले उक्त म्याराथनमा ३१औँ स्थान हासिल गरेकी थिइन् । सोल ओलम्पिकको म्याराथनमा सहभागिता जनाउन तीन महिनाअघि पोखरामा आयोजना भएको ३५ किलोमिटर दौडमा उनले प्रथम स्थान हासिल गरेर ओलम्पिकका लागि छनोट भएकी थिइन् । स्मरण रहोस्, यसअघि उनमा कहिल्यै म्याराथनमा प्रतिस्पर्धा गरेको अनुभव थिएन । दश, पन्ध्र हजार मिटरका दौडमा सहभागिता गरे पनि राजकुमारीले म्याराथनमा प्रतिस्पर्धा गरेको पहिलो अवसर थियो । त्यस्तै यसबाहेक उनले सन् १९९३ मा जर्मनीमा आयोजना भएको वल्र्ड च्याम्पियनसिपमा पनि आठ सय मिटरमा सहभागिता जनाएकी थिइन् ।
दोलखाको विकट स्थान बाबरे धारापानीमा जन्मिएकी राजकुमारीले आफ्नो जीवनका स्वर्णीम दिन नेपाली खेलकुदको विकास र विस्तारका लागि अर्पण गरेको उनको खेलजीवनको इतिहास पल्टाउँदा प्रस्ट हुन्छ । खेलकुदको माध्यमबाट नेपालको झन्डालाई अन्तराष्ट्रमा उचो पार्न उनले गरेको त्याग, तपस्या र योगदान अन्य नेपाली खेलाडीभन्दा कम छैन । तर, विडम्बना, उनको योगदानको मूल्याङ्कन जसरी सम्बन्धित निकायले गर्नुुपर्ने थियो त्यो नहुँदा उनको चित्त दुखेको छ । उनले अन्य ओलम्पियन खेलाडीलाई सरकारले सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आफूले त्यो सम्मान नपाएकोमा भने गुनासो पोखेकी छिन् । उनले आफूले पनि देशका लागि मुटु फुटाउँदै, रगत छाद्दै पदक जितेको स्मरण गराउँदै त्यसको कदर नहुँदा आफ्नो योगदानको कुनै अर्थ नभएको आत्मबोध भएको खुलासा गरिन् । एउटा खेलाडी त्यसमाथि महिला जसले विभिन्न सामाजिक कुरीति र परम्परालाई तोडदै र चुनौती दिँदै आफ्नो अमूल्य जीवन खेलकुदलाई समर्पण गरेकी थिइन्, तिनै ओलम्पियन आज ओझेलमा पर्नु समग्र खेलकुदका लागि दुर्भाग्य हो भन्दा फरक नपर्ला । सम्बन्धित निकाय र राज्यले यस्ता पीडित खेलाडीको चह-याइरहेको घाउमा मलहमपट्टी गरे केही राहत हुने विश्वास गर्न सकिन्छ । राजकुमारी यसको हकदार पनि छिन् ।
बुबा नरबहादुर पाण्डे र आमा धनकुमारी पाण्डेकी छोरी राजकुमारी ०५० सालमा ईश्वर प्रसाईंसँग वैवाहिक सम्बन्धमा गाँसिएकी थिइन् । वर्तमान अवस्थामा प्रहरी सहायक निरीक्षकमा कार्यरत उनका एक छोरा र एक छोरी छन् । विवाह गरेर पनि पाँच वर्ष सक्रिय खेलकुदलाई निरन्तरता दिएकी राजकुमारी त्यसपछि खेलकुदलाई निरन्तरता दिन असमर्थ भइन् । एकातिर प्रहरीको जागिर, अर्कोतर्फ परिवार दुवैलाई एकसाथ चलाउने जिम्मेवारी आएपछि उनको खेलकुदसँगको दूरी बढेको थियो । र पनि, खेलकुदप्रतिको लगाव र माया उनको जीवनको पाटो भने बनिनै रह्यो । खेल्न नपाए पनि आफ्ना विगतका दिनहरूलाई स्मरण गर्दै उनी रमाउन थालिन् । प्रहरी र परिवारको जिम्मेवारी र कर्तव्यलाई निभाउँदै अघि बढिन्, जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । उनी आफ्नो भूमिकाप्रति खुसी छिन्, तर खेलकुदले पराइ ठानेकोमा भने उनको भित्री मन पोलेको छ, साँचो अर्थमा भन्नुपर्दा उनलाई कुठाराघात भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदकले राजकुमारीको एउटा कोठा भरिएको छ । यी सबै पदकले मुस्कुराउँदै आफूलाई साधुवादभन्दा उनको मन पोल्ने गरेको छ । यसर्थमा राष्ट्रको गौरव बढाउने उनका पदकहरूले अहिलेसम्म राज्यबाट सम्मान पाउन सकेका छैनन् । उनले यो मेरा लागि दुर्भाग्य हो भन्दै यसले आफूले प्राप्त गरेका पदकको समेत अपमान भएको महसुस गरेकी छु । सबै ओलम्पियन साथीहरूको सम्मान हुँदा र सहयोग पाउँदा आफूचाहिँ ओझेलमा पर्नुले व्यर्थमा खेलकुदमा लागेको अनुभूति हुन्छ । जसको पीडाले मलाई हरेकपटक सोच्न वाध्य बनाएको छ । तर, सोच्नबाहेक अरू के नै गर्न सक्छु र ?
सक्रिय खेलकुदजीवनका उकाली–ओरालीमा राजकुमारीले विभिन्न पक्षहरूको महसुस गरेकी छिन्, जुन उनको मानसपटलमा अहिलेसम्म अविष्मरणीय र ताजा छ । बैङ्ककमा अङ्ग्रेजी बोल्न नजान्दाको घटनालाई उनी दुःखको घटनाको रूपमा चित्रित गर्न चाहन्छिन् । यो घटनापछि उनले खेलाडीले पनि पढ्नुपर्ने र अङ्ग्रेजी बोल्न जान्नुपर्दो रहेछ भन्ने ठूलो पाठ सिकेकी छिन् । स्मरण रहोस्, अङ्ग्रेजी बोल्न नजान्दा खेलकुद पदाधिकारीहरू एयरपोर्टमा लिन आउँदासमेत आफूहरूले निकै कष्ट भोग्नुपरेको खुलासा गरेकी छिन् । त्यस्तै उनकोे खुसीको क्षणमा एसियन च्याम्पियनसिप बनेको छ । सिङ्गापुरमा भएको उक्त प्रतियोगितामा राजकुमारीले पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितेकी थिइन् । उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्दा मुखबाट रगत बगे पनि राष्ट्रका लागि स्वर्ण पदक जित्दा गौरवको अनुभूति भएको बताइन् । ‘त्यसबेला म मर्ने अवस्थामा पुग्दा अलि दुःख लागे पनि राष्ट्रका लागि स्वर्ण पदक दिलाउन पाएकोमा निकै खुसी थिएँ । त्यही खुसीले म बाँच्न सफल भएकी हुँ,’ राजकुमारीले भनिन् । खेलजीवनमा राजकुमारीको अर्को अविष्मरणीय क्षण सोल ओलम्पिकसँग पनि गाँसिएको छ । उनले भनिन्, ‘एउटा खेलाडीको सपना नै ओलम्पिक खेल्नु हो, मैले पहिलोपटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दा नेपालले पहिलोपटक महिला म्याराथनमा प्रतिस्पर्धा गरेकी थिएँ । म त्यस्तो खेलाडी बनेँ जसले ओलम्पिकमा पदक नजिते पनि इतिहास बनाउन सफल भएँ । मैले ओलम्पिकमा ३१औँ स्थान हासिल गरे पनि त्यो क्षण म कहिल्यै बिर्सन सक्तैनँ, जुन मेरो खेलकुदजीवनको एक अभिन्न अङ्ग बनेको छ ।’
राजकुमारी प्रहरीकी मात्रै नभई राष्ट्रकै खेलाडी थिइन्, यो ध्रुवसत्य हो । तर, उनलाई राष्ट्रले सौताको व्यवहार गरेको पनि अर्को ध्रुवसत्य हो । राजकुमारीले आजसम्म जे–जति मान–सम्मान र आर्थिक सहयोग पाइन् त्यो सबै प्रहरीमै कार्यरत भएकाले पुलिसबाट पाइन् । उनलाई एक बहुप्रतिभाशाली खेलाडी बनाउनेदेखि लिएर ओलम्पिकसम्म पु-याउन पुलिस क्लबको विशेष योगदान रहेको छ । पुलिसको जागिर दिएर परिवार चलाउन होस् या अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनमा पुलिसको नै महत्वपूर्ण योगदान रहेको छ । उनले यो २४ वर्षमा पुलिसको बाहेक कसैको सहारा पाएकी छैनन् । वर्तमान अवस्थामा उनको परिवार आर्थिक रूपमा निकै कमजोर छ, छोराछोरीलाई पढाउन निकै धौधौ परेको छ । एक सहायक प्रहरी निरीक्षकको जागिरकै भरमा दयनीय रूपमा उनको परिवार चलेको छ । तर, विडम्बना सरकारी निकाय एक ओलम्पियनको सहयोगमा विगत डेढ दशकदेखि मौन छ । उनलाई पराय सम्झेर उल्टै नुन–चूक दल्ने कार्य गरेको छ । र पनि, राजकुमारीले आशा भने मारेकी छैनन्, उनलाई आफ्नो संस्थाप्रति विश्वास छ, त्यसैको विश्वासमा आफ्नो भविष्य उज्ज्वल हुने सपना बुनेकी छिन् । यदि चीप सापको कोटाबाट आफूलाई हाइटी मिसनमा पठाइदिए आफ्नो परिवार र आफ्नो योगदानको कदर हुने उनको ठम्याइ छ । राजकुमारीले भनिन्, ‘म अहिले जे छु पुलिसबाटै भएकी हुँ, मेरोे अन्तिम इच्छा पनि बाँचुन्जेल पुलिसमै रहेर देशको सेवा गर्ने भन्ने छ, यदि चीप सापले मलाई मिसनमा पठाएर सहयोग गर्नुभयो भने त्यो मेरा लागि सबैभन्दा ठूलो गुन हुनेछ, म सदैव आभारी बन्नेछु ।’
खेल समाचार
एसियाली फुलकन्ट्याक्टमा खेलाडी छनोट
१६औँ एसियाली खुला फुलकन्ट्याक्ट कराते प्रतियोगिताका लागि महिलातर्फ निर्मला बज्राचार्य छनोट भएकी छिन्् । त्रिपुरेश्वरमा भएको छनोट प्रतिस्पर्धामा मित्र युवा क्योकुसिन कराते उपडोजो, क्षेत्रपाटीकी निर्मलाले अरुण श्रेष्ठ, सीता राई र दीपा शाहीलाई पराजित गरी छनोट भएको नेपाल क्योकुसिन कराते डो सङ्घका महासचिव एवम् ब्रान्च चिफ रामजीप्रसाद बज्राचार्यले जनाएका छन्् । नोभेम्बर २७ देखि डिसेम्बर २ तारिखसम्म चीनको सङ्घाईमा हुने प्रतियोगितामा निर्मलाले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्् । सोही प्रतियोगिताका लागि पुरुषतर्फ भने यसअघि नै खेलाडी छनोट भइसकेका छन्् । छनोट हुनेमा ज्ञानबहादुर तामाङ र विकेककुमार मेहता छन्् । उनीहरूले पनि खुला तौल समूहमा नै खेल्नेछन्् ।
कोरिया ग्रान्ड प्रिक्समा रत्न र सारा
जियङजु भिक्टर कोरिया ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली दक्षिण कोरियाको जियङजु प्रस्थान गरेको छ । नोभेम्बर ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा पुरुषतर्फ नेपाल नम्बर वान रत्नजित तामाङ र दोस्रो बरियताका विकास श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्् । महिलामा शीर्ष बरियताकी रत्नकी दिदी सरादेवीले खेल्नेछिन्् ।
नेपाली खेलाडीले सिङ्गल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन्् । अफिसियलमा बीएसी सर्टिफिकेट अम्पायर लवभक्त श्रेष्ठ रहेका छन्् । उक्त प्रतियोगिताको कुल पुरस्कार राशि ५० हजार अमेरिकी डलर रहेको बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरेका थिए ।
विश्व च्याम्पियनसिपमा पारा तेक्वान्दो
दक्षिण कोरियाको सोलमा हुने आइसा विश्व च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली पारा तेक्वान्दो टोली हालै प्रस्थान गरेको छ । नोभेम्बर ४ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा रामबहादुर तामाङले प्रतिस्पर्धा गर्नेछन्् । प्रतियोगितामा यादव कुँवर पनि सहभागी हुनेछन् । यादव कोरियामै रहेकाले त्यत्तैबाट प्रतियोगितामा सहभागी हुने नेपाल पारा तेक्वान्दो सङ्घले जनाएको छ । यादवले स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य तथा रसियामा भएको पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका थिए । टिम प्रशिक्षकमा मोहनकुमार कार्की छन्् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, सदस्य सुरेन्द्र हमाल, नेपाल पारा तेक्वान्दो सङ्घका अध्यक्ष जनार्जन ढुङ्गेल, महासचिव दीपक विष्टलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
भ्याली पब्लिक कप बास्केटबल हुने
भ्याली पब्लिक स्कुलको आयोजनामा नवौँ भ्याली पब्लिक कप बास्केटबल प्रतियोगिता कात्तिक २७ देखि हुने भएको छ । गोल्फुटारस्थित आयोजक स्कुलको कोर्टमा मङ्सिर ५ गतेसम्म सञ्चालन हुने स्कुलस्तरीय प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ २४ टिमको सहभागिता रहने आयोजक स्कुलका खेलकुद विभाग प्रमुख पूर्ण न्यौपानेले जनाएका छन्् । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको छात्रतर्फ इनोभेटिभ तथा छात्रातर्फ आयोजक भ्याली पब्लिक आठौँ संस्करणका विजेता हुन् । ।
लोकतान्त्रिक तेक्वान्दोमा जनज्योति उत्कृष्ट
प्रथम जुनियर अन्तरविद्यालय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन काठमाडांैको जनज्योति स्कुल भएको छ । उसले चार स्वर्णका साथ उपाधि पाएको हो । दोस्रो भएको एसओएस बालग्राम भैरहवाले चार स्वर्ण पायो भने तेस्रो हुने राइजिड स्टारले तीन स्वर्ण दुई रजत र तीन कास्य प्राप्त गरेको थियो । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घद्वारा पोखरा रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगितामा छात्रतर्फ एसओएस बालग्रामका नवराज बस्नेत उत्कृष्ट भए । छात्रातर्फको उत्कृष्ट खेलाडी पर्वतकी आस्था श्रेष्ठ भइन् । उनीहरूलाई नगद १०/१० हजारसहित ट्रफी प्रदान गरिएको थियो ।
विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख सभासद् धनराज गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचन, सचिव सुवोध प्रधान, बक्सिडका पूर्वखेलाडी गणेश भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
सोही अवसरमा नेपाली खेलकुदमा आफ्नो खेल कौशलताबाट योगदान पु-याउनु हुने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बक्सिङका गणेश भट्टराई र विद्या मरासिनी, भलिबलका बलराम क्षेत्री र मञ्जु गुरुड, एथलेटिक्सका हरि थापा, फुटबलका डम्बरसिंह गुरुड र शम्भु केसी, तेक्वान्दोका देवु गुरुड मरणोपरान्त रहेका छन् । यस्तै तेक्वान्दो गीतका रचयिता मेनुका थापा र गायक दिनेश दाहाललाई पनि सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा छात्रातर्फ ९० र छात्रतर्फ एक सय ३७ गरी कुल दुई सय २७ खेलाडीले छात्रतर्फ आठ र छात्रातर्फ सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया