अर्घाखाँचीमा सरसफाइ अभियान तीव्र

अर्घाखाँचीमा सरसफाइ अभियान तीव्र


mukti– मुक्तिनाथ भुसाल
नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त बनाउने लक्ष्यअनुरूप कास्की, चितवन, तनहुँ, म्याग्दीलगायतका १५ जिल्लाले घोषणासभा सम्पन्न गरिसकेका छन् । ‘हाम्रो गौरव हाम्रो स्वाभिमान खुला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेको अर्घाखाँचीलाई सम्भवतः मङ्सिरको दोस्रो साताभित्रै खुला दिसामुक्त घोषणा गरिने ग्लोबल स्यानिटेसन फन्ड अर्घाखाँचीका संयोजक विष्णु दवाडीको भनाइ रहेको छ । दवाडीका अनुसार खुला दिसामुक्त बन्ने अन्तिम प्रक्रियामा रहेको बाजुरालाई उछिन्न सकेमा अर्घाखाँची जिल्ला नेपालको सन्दर्भमा १६औँ स्थानमा रहनुको अलावा लुम्बिनीमा पहिलो खुला दिसामुक्त जिल्ला बन्ने बुझिएको छ । नगरपालिकाको घोषणापश्चात् ३५ गाविसमध्ये सन्धिखर्क नगरपालिका, ढाकावाङ र पोखराथोक गाविस मात्र खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका भए पनि आगामी शुक्रबारभित्रै सबै कार्य सम्पन्न हुने उनको दाबी रहेको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले २०६९ साउन ९ गतेको बैठकमा सन् २०१४ भित्रै खुला दिसामुक्त घोषणा गरी जिल्लाको सरसफाइ रणनीतिक योजनामा अगाडि बढ्ने अग्रिम लक्ष्य तय गरेको थियोे । ०६८ सालको जनगणनाअनुसार ४६,८२६ घरधुरी रहेको अर्घाखाँचीमा करिब ३५ प्रतिशतमा मात्र सुरक्षित चर्पीको पहुँच रहेको र ३६ प्रतिशतले असुरक्षित खाल्डे चर्पी प्रयोग गर्नुको अलवा बाँकी २९ प्रतिशतले खोल्सा, झाडी, बाटोघाटोजस्ता स्थानहरूमा नै दिसा गर्ने गरेका थिए । साउन २०६९ देखि ग्लोबल स्यानिटेसन फन्डको सहयोगमा नेस्ट नेपाल/ सिसेक अर्घाखाँची र इकार्डस् नेपाल/ प्रागद्वारा अर्घाखाँचीका ४२ मध्ये ३२ गाविसमा पूर्ण सरसफाइ प्रवद्र्धन तथा खुला दिसामुक्त अभियान सञ्चालन गरेका छन् । त्यसैगरी २०६९ चैतदेखि यूएन हेबिट्याटको सहयोगमा इकार्डस् नेपाल/प्राग अर्घाखाँची र लुम्बिनी सामाजिक विकास केन्द्रद्वारा बाँकी रहेका १० गाविसमा पूर्ण सरसफाइ प्रवद्र्धन तथा खुला दिसामुक्त अभियान सञ्चालन गरेका छन् । पहिलो चरणका ३२ मध्ये १२ गाविसलाई र दोस्रो चरणका १० मध्ये आठ गरी कुल २० गाविसलाई २०७१ असार १५ भित्रमा खुला दिसामुक्त घोषणा गर्ने उनीहरूको लक्ष्य भए पनि निर्धारित समयभित्र २५ वटा गाविसले खुला दिसामुक्त घोषणासभा गरेको सर्वविदितै रहेको छ ।
२०७१ जेठको दोस्रो साता गाविससचिवहरू र राजनीतिक दल तथा नागरिक समाजको कार्यशालाले चर्पी निर्माणकार्य सम्पन्न गरी जिल्लालाई असोजभित्र घोषणा गर्न सकिने अनुमान गरेको थियो । सोही कार्यशालाको समीक्षा र सहभागीहरूको प्रतिबद्धतालाई मध्यनजर गर्दै जेठ २० गते बसेको समन्वय समितिको बैठकले असार मसान्तभित्र बाँकी रहेका १४ गाविसले चर्पी निर्माणकार्य सम्पन्न गर्ने, भदौभित्र अनुगमन र घोषणाको कार्य सम्पन्न गर्ने र असोज ३० मा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरेको थियो । लक्ष्य जस्तोसुकै लिएको भए पनि सरकारी निकायहरूको कार्यव्ययस्ता, किसानहरूको खेतीपाती लगाउने समय, वर्षात्जस्ता कारण चर्पी निर्माणकार्य सम्पन्न हुन सकेनन् । यद्यपि भदौदेखि चर्पी निर्माणकार्यमा तीव्रता देखियोे ।
मानिसलाई बिहान उठ्नेबित्तिकै जानुपर्ने पहिलो स्थान चर्पी नै हो । तर, चर्पी निर्माण र प्रयोगसम्बन्धी सामाजिक जागरण र बानी–व्यवहार परिवर्तनको पाटोमा लाग्ने अठोट भने धेरै स्थानीयमा सकारात्मक देखिए पनि असोज ३० गतेभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य भने प्रक्रिया पूरा नभइसकेको कारण सम्भव हुन सकेन । कात्तिक २१ भित्रमा बाँकी गाविसलार्ई खुला दिसामुक्त घोषणा गर्नुका साथै खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट अनुगमन गरिने योजना रहेको छ । अनुगमन भइसकेपछि प्राप्त प्रतिक्रियाका आधारमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तत्काल बैठक बसी जिल्ला घोषणा समारोहको मिति तय गरिने कुरा जिविस सन्धिखर्कले जानकारी गराएको छ ।
सुरुवातमा जिल्लामा रहेका विद्यालयका शौचालयहरू दुर्गन्धित र केही प्रयोगविहीन अवस्थामा रहेका भए पनि हालका दिनहरूमा शौचालय र अन्य सरसफाइमा धेरै सुधार आएको कारण विद्यार्थीमा झाडापखाला, जुका, आउँमासी, रगतमासी, टाइफाइडजस्ता रोगहरू लाग्न कमी भएकोे जनस्वास्थ्य अधिकृत लीलाराम गौतमको भनाइ रहेकोे छ । गौतमका अनुसार जिल्लालाई स्वस्थ राख्न यही माघभित्र पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानमा स्वास्थ्यकर्मीहरू सहरदेखि गाउँसम्म परिचालन गरिएको कारण हालसम्म सात गाविस पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । यसै महिनाको अन्तिमसम्ममा थप १० गाविस खोपयुक्त घोषणाको प्रक्रियामा रहेको गौतमको भनाइ रहेको छ । चर्पी प्रयोग, साबुनपानीले हात धुने बानीको विकास, फोहोरमैलाको उचित व्यवस्थापन, सुरक्षित खाना र पानी पिउने बानीको विकास, घरआँगन तथा गाउँटोलको सरसफाइमा नियमितता, गर्भवती महिलालाई नजिकको स्वास्थ्यचौकीमा सुत्केरी गराउनुपर्ने, जन्मिएको बच्चालाई आवश्यकीय खोपहरू समयभित्रै लिनुपर्ने, कुपोषण हटाउनका लागि ‘हरेक बार खाना चार’जस्ता मानवजीवनसँग महत्वपूर्ण कार्यहरूमा अगुवाइ गरेका सरसफाइसम्बन्धी अभियानकर्ता र जनस्वास्थ्यका कर्मचारी तथा स्वयम्सेविकाहरूलाई भ्याइनभ्याई बनेको छ ।
माथिका सबै कुरालाई गहिरिएर बुझेका नेपाली काङ्ग्रेस जिल्ला सचिव वाशुदेव आचार्यका अनुसार खुला दिसामुक्त र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नु आफँैमा जटिल कार्य भए पनि जिल्लावासीहरूको सचेतना र एक–आपसको सद्भावका कारण कार्यक्रम सफल हुन लागेको बताएका छन् । ‘राज्यको नीतिभन्दा पनि गाउँलेको थिति बलियो हुन्छ’ भन्ने मान्यताअनुरूप नीति–नियमहरू राम्रा भए पनि कार्यान्वयन गर्न–गराउन सकिएन भने समाज परिवर्तन हुन सक्दैन । अनि परिवर्तनको शुभारम्भ अरूबाट नभई आफैँबाट गरिनुपर्छ, सामूहिक प्रयासबाट असम्भव लागेको कार्य पनि सम्पन्न गर्न सकिन्छ र सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण आफूलाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गर्दै केही दिनभित्र अर्घाखाँचीले दिने निश्चित भइसकेको । जुन आफैँमा प्रशंसनीय मान्न सकिन्छ ।