०४७ को संविधानमा फर्किनुको विकल्प छैन

०४७ को संविधानमा फर्किनुको विकल्प छैन


-दीर्घराज प्रर्साईं
संविधानसभाबाट संविधान बन्दैन भन्ने निश्चित भइसके तापनि माओवादी, काङ्ग्रेस र एमाले पार्टीका नेताहरू अनर्थमा मरुभूमिमाथि पानीजहाज कुदाउने धृष्टता गर्दै छन् । काङ्ग्रेस, एमाले, माओवादी नेता असफल भइसकेका छन् । राजनीतिक हैसियत गुमिसकेपछि नेताको अस्तित्व समाप्त हुन्छ । राजनीतिमा नेता असफल भइसकेपछि राजीनामा गर्नु राजनीतिको एउटा धर्म हो । तर, ०६३ सालपछि नेपालमा त्यस्तो भएको छैन । काङ्ग्रेस, एमाले, माओवादीका सबै नेताले चुपचाप सन्न्यास लिनुपथ्र्यो । तर, त्यसो पनि नगरेर यिनीहरूले नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई नै बलात्कार गर्न लागेका छन् । ०६८ जेठ ११ गतेको सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको पाँच सदस्यीय विशेष इजलासबाट म्याद थप्न मिल्दैन भन्ने फैसला भइसकेपछि पनि संविधानवादलाई कुल्चँदै, सर्वोच्च अदालतको फैसलालाई उल्लङ्घन गर्दै आफूखुसी फेरि तीन महिनाको म्याद थपेका छन् । स्मरण रहोस्- यो तीन महिनामा पनि दलहरूबाट संविधान बन्दैन । माओवादीले हतियार पनि छोड्दैन र कसैलाई बुझाउँदैन पनि । कथित सहमति पनि हुँदैन, प्रधानमन्त्री झलनाथले राजीनामा पनि दिँदैनन् । काङ्ग्रेस, एमाले र कथित मधेसी नेताहरू माओवादीका घोडा बन्दै आएका छन् । म्याद थपिनुहुन्न भन्ने नारा देशभरि चलाएर नेपाली काङ्ग्रेसले पनि आप\mनो १० बुँदे धारणा सार्वजनिक गरेको थियो । तर, जुनबेला तीन महिनाको म्याद थपियो त्यसबेला काङ्ग्रेसले आफ्ना विचार सबै छोडेर माओवादीको धारलाई नै समात्न पुग्यो । अतः यस्ता दलाल नेताहरूबाट नेपालको हितमा काम हुन्छ भन्नु र्व्यर्थ छ । यिनीहरू आफैं विदेशीहरूको ढलमा फसिसकेका छन् । यसरी भासमा फसिसकेपछि म्याद थप्नुको सट्टामा ‘हामीले बिरायौँ, २०४७ सालको संविधानमा फर्केर देशलाई बाटो दिने कार्य होस्’ भन्दै राजा ज्ञानेन्द्रको सामु जाहेर गर्न सकेको भए काङ्ग्रेस, एमाले, माओवादी तथा अन्य पार्टीका सबै दलालहरू केही मात्रामा चोखिन्थे । टाउको फोडे पनि सहमतिबाट यिनीहरूले कुनै संविधान बनाउन सक्दैनन् । किनकि संविधानसभा बद्नाम भइसकेको र काङ्ग्रेस, एमालेका नेताहरूले आफ्नो विश्वसनीयता गुमाइसकेका छन् ।
सर्वोच्च अदालतको फैसलाभन्दा अगाडिको जेठ १० गतेको एक सभामा नेपाली काङ्ग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले भन्नुभएको थियो, ‘गणतन्त्र भनेको नेपालमारा बाटो हो । धर्मनिरपेक्ष, सङ्घीयता र गणतन्त्रले नेपालको अस्तित्व समाप्त गर्ने एजेण्डा हो । २०६३ सालको जनआन्दोलनका यी माग थिएनन् । २०६३ सालपछि सत्तामा आएका पार्टीका नेताहरूले विदेशी इसारामा हिँडेर देशलाई धरातलमा पुर्‍याएका छन् । यो संविधानसभाबाट संविधान बन्दैन, बनेमा देश नै समाप्त हुन सक्छ । त्यसैले सही समाधानका लागि २०४७ सालको संविधानमा फर्केर देश र प्रजातन्त्रलाई बचाउनुपर्छ । २०४७ सालको संविधानमा फर्केर देश बचाऔँ ।’ यसैगरी पूर्वमन्त्री बिपिन कोइरालाले ‘संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र नेपाली काङ्ग्रेसको आदर्श हो । यसलाई बिरि्सनेहरू काङ्ग्रेस हुँदैनन् । प्रजातन्त्रका लागि २००७ सालदेखि नेतृत्व गर्दै आएको काङ्ग्रेसले २०६३ सालपछि बाटो बिराएको छ । राजा नभए पनि नेपाल चल्छ भने हामीलाई राजतन्त्र चाहिँदैन । तर, नेपालको सन्दर्भमा राजासँगै नेपालको राष्ट्रियता र प्रजातन्त्र जोडिएको हुनाले राजतन्त्र फालेर देश बिगार्ने बाटोमा कसैले पनि लाग्नुहुन्न । हामी निरङ्कुश राजतन्त्रका अनुयायी होइनौँ । निरङ्कुश राजतन्त्रको विरुद्धमा आन्दोलित हुने नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक छवि हो । यो संविधानसभाले देश डुबाउन सक्छ । सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालले धान्न सक्तैन ।’
यसैगरी २०६३ सालपछिको असंवैधानिक रूपले पुनर्स्थापित प्रतिनिधिसभामा उपस्थिति हुन उचित नठान्ने नेपाली काङ्ग्रेसका नेता पूर्वमन्त्री पीएल सिंहले भन्नुभयो, ‘यही अवस्था रहिरह्यो भने यो देश र प्रजातन्त्र बाँच्न सक्तैन । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेपाली काङ्ग्रेसका नेताहरूका विचार छोडेर नेपाली काङ्ग्रेसले ठूलो गल्ती गरेको छ । अहिलेको धोका र अपव्याख्याको राजनीति कोही पनि सुरक्षित हुन सक्तैन । विधिपूर्वक मन्त्रिपरिषद्को सिफारिसमा २०५८ सालमा संसद् विघटित भएको थियो । त्यो संसद् ब्युँताइयो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने लोभमा गिरिजाप्रसादले नेपाली काङ्ग्रेसका स्थापक नेताहरूको नीतिलाई धोका दिएर सिङ्गो इतिहासकै पराजय गराइयो । त्यसरी संविधान खानेले संविधान कसरी दिन्छन् ? तर्सथ, २०४७ सालको संविधानको पुनर्स्थापना नेपाली सार्वभौमसत्ता र प्रजातन्त्रको वकालत हो, अबको विकल्प भनेको २०४७ सालको संविधान ब्युँताउने नै हो ।’
समारोहमा बडो चिन्तित हुँदै पूर्वमन्त्री नेपाली काङ्ग्रेसका नेता मार्शलजुलुम शाक्यले देश र प्रजातन्त्र बचाउन २०४७ सालको संविधानलाई पुनर्स्थापना गरेर त्यसैबाट निकाश खोजिनुपर्छ भन्नुभयो । नेपाली काङ्ग्रेसका नेता पूर्वमन्त्री दीनबन्धु अर्याल, पूर्वमन्त्री दीपक ज्ञवाली, अधिवक्ता बालकृष्ण न्यौपानेसमेतले सम्बोधन गर्नुभएको समारोहमा राजनीतिक विश्लेषक अनारसिंह कार्कीले भन्नुभयो, ‘यसरी जबर्जस्ती गरेर संविधानलाई कुल्चेर देशलाई अराजकतामा नफसाऔँ । अहिलेका दुईजिबे्र नेताहरूबाट कुनै हालतमा संविधान बन्दैन, आन्तरिक संविधानका सदस्यहरूको भ्रष्ट चरित्र नाङ्गिइसकेको छ । २०४७ सालको संविधानमा नफर्की सुखै छैन ।’
समारोहमा बोल्नुहुँदै सभापति रामबाबु प्रर्साईंले जुन दिन नेपाली काङ्ग्रेसका नेता बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विचार छोड्यो त्यहीबेलादेखि नेपालको राष्ट्रियता र प्रजातन्त्र धरापमा परेको छ । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता लागू गर्न खोज्नेहरूले नेपाललाई निकास दिन सक्तैनन् । २०४७ सालको संविधानलाई नै माध्यम बनाएर अगाडि बढ्नुपर्छ । यसका लागि यो आन्दोलनमा सबैको सहभागिता हुनुपर्छ । समारोहको प्रारम्भमा युवानेता मानवसेवकले २०४७ सालको संविधान पुनर्स्थापना जनआन्दोलन समितिको घोषणापत्र पढेर सुनाउनुभयो र सभामा हेमविक्रम सिलवाल, लक्ष्मी मल्लले पनि आफ्ना विचार राख्नुभएको थियो ।