गणेशमान सिंहप्रति– रत्ननीधि रेग्मी ‘शुक्राचार्य’
गणेश, गणका ईश, गणराज, गणाधिप,
सर्वमान्य, महामान्य, लोकमान्य–विराजित,
गजदन्त, गजस्तम्भ, गजराज, गजानन,
प्रजापत्य, प्रजावत्स, मान– सिंह, जनार्दन ।।१।।
लौहस्तम्भ, रजो–कुम्भ, धन–धान्य, धनाधिप,
क्रान्तिकारी शिरोबिन्दु, दया–सिन्धु, तथागत,
काजीमान यथा ज्ञानमान सिंह कुलोद्भव,
सिंह, श्रेष्ठ तथा पुत्र, प्रजातन्त्र–पितामह ।।२।।
प्रदीप, पितरौ–पितृ प्रकाश, मङ्गला–पति,
रीता, कान्ता, मीता सिंह सुता श्रेष्ठ कलावती,
सर्वगुण सु–सम्पन्न पुत्र–पुत्री, धनेश्वर–
कुपात्र, कृपणोनास्ति, सर्वश्रेष्ठ महेश्वर ।।३।।
पशुपति, स्वयम्भूव पूर्वापरौ दिशाम्पति
बाग–विष्णुमती, कान्ति–मध्यमा अमरावती,
क्षेत्रपाटी निवासीय, भवदीय विराजित
सर्वपूज्य छयालीस निर्दलीय पराजित ।।४।।
कांग्रेस दलस्य नेता त्रयमध्ये वृहस्पति
लोक– नायक हे पूज्य ! नेपालेश प्रजापति
कम्निष्टारि, महायोद्धा, राणा–पञ्च विनाशक
माङ्गल्य पूर्ण–कामस्तु, शताब्दीय–प्रकाशक ।।५।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
कृति–समीक्षा
धर्मको मर्म बुझाउने ‘अध्यात्म दर्शन’
मानिसहरू भन्छन्, म कट्टर हिन्दू हुँ– केस पाल्छु, म कट्टर मुस्लिम हुँ– दाह्री पाल्छु, म कट्टर बुदिष्ट हुँ– कपाल मुण्डन गर्छु । एवम् रितले हरेक सम्प्रदायले आफूलाई कट्टर धार्मिक भनी चिनाउने गर्छन् । तर, म कट्टर धार्मिक व्यक्ति हुँ, मैले धार्मिक जीवन जिउनु छ, म धार्मिक बन्ने प्रयत्न गरिरहेको छु भन्ने साहस कोही प्रदर्शन गर्दैनन् ! यसरी जाति, सम्प्रदाय, भेषभूषा, कर्मकाण्ड, दार्शनिक मान्यता मान्ने व्यक्ति शुद्ध धर्मबाट वञ्चित रहन्छन् ।
जीवनमा धर्मको प्रभाव प्रस्ट देखिनुपर्छ, देखिएन भने त्यो अन्धविश्वास मात्र हो, धर्मको नाममा धोका हो । मुखले धर्म भन्दै आचरण–व्यवहार सुधारिएन भने त्यो धर्मको नाममा अधर्म हो ।
को कति धर्मात्मा छ भनेर हेर्न ऊ कुन मत या समुदायको अनुयायी हो भन्ने आधारमा थाहा हुँदैन । कसको मनमस्तिष्क कति शुद्ध या पवित्र छ, रिस, राग, द्वेष, घृणा, क्रोध, ममताबाट मुक्त छ–छैन भन्ने आधारमा मात्र धार्मिकताको परिचय मिल्न सक्छ ।
धार्मिक तथा आध्यात्मिक विषयकेन्द्रित पुस्तकलेखन तथा प्रकाशन कार्यलाई निरन्तरता दिएर पेसाले कानुन व्यवसायी पवित्रकुमार खड्काले आफ्नो परिचयलाई नयाँ आयाम दिएका छन् । उपासना सारसङ्ग्रह, तीर्थ सारसङ्ग्रह, सन्तको जीवनी : धर्मको सारजस्ता पुस्तक लेखेर अध्यात्मप्रेमीहरूमाझ सम्मानित स्थान बनाइसकेका लेखक खड्का पुनः एक गहकिलो पुस्तकको साथ अध्यात्ममा आस्था राख्ने पुस्तकप्रेमीमाझ उपस्थित भएका छन् । सर्जक खड्काको पछिल्लो कृतिको नाम हो– अध्यात्म दर्शन । माथि प्रस्तुत गरिएका केही अनुच्छेदहरू अध्यात्म दर्शनबाटै उद्धृत गरिएका हुन् ।
५ सय २६ पृष्ठको अध्यात्म दर्शनभित्र ‘के छ ?’ भन्नुभन्दा पनि ‘के छैन ?’ भन्ने प्रतिक्रिया दिँदा अतिशयोक्ति नहोला । धर्म, हिन्दूधर्म, हिन्दूधर्ममा वर्ण–व्यवस्था, स्वधर्म, सम्प्रदाय, बुद्धि, ज्ञान, शास्त्र, वैराग्य, कर्म, शरीर, मन, आत्मा, पाप, लोभ, क्रोध, माया, प्रारब्ध, मृत्यु, संस्कार, भोजन, मांसाहार, पशुबलि, भक्त, भक्ति, दान, ईश्वर, उपासना र मोक्षजस्ता गहन शीर्षकमा लेखकले विभिन्न उपशीर्षक दिएर तिनको सुस्पष्ट, सुरुचिपूर्ण र तार्किक व्याख्या–विश्लेषण गरिदिएका छन् । धर्मको मर्म लुप्त हुन गएको या मानिसले धर्मको सही परिभाषा नै भुलेकाले विभिन्न सम्प्रदायमा विभक्त भई साम्प्रदायिक दुर्भाव बढ्न पुगेको यथार्थप्रति चिन्तित भएर लेखकले यस बृहत् कृति सिर्जनाको कठिन दायित्व उठाएको प्रतीत हुन्छ ।
यस पुस्तकले समेटेका विषयवस्तु र तिनको सुस्पष्ट एवम् चित्त हर्ने व्याख्याको तुलनामा पुस्तकको ५ सय ५० रुपैयाँ मूल्य सामान्य लाग्छ । कानुनी पेसामा रहेको व्यक्तिबाट पङ्क्ति–पङ्क्तिमा जीवनोपयोगी ज्ञानका धारा निसृत हुने पुस्तक–कृतिको रचना तथा प्रकाशन भई ज्ञानका मुमुक्षुसमक्ष आइपुग्नु सुखद् सन्दर्भ हो । यसका लागि लेखक बधाई र प्रशंसाका पात्र बनेका छन् ।
प्रतिक्रिया