सन् २००८ को निर्वाचन रिपब्लिकनतर्फको राष्ट्रपतिका उम्मेदवार जोन मकेन हरेक चुनावी समारोहमा भाषण गर्दा भन्ने गर्नुहुन्थ्यो, ‘म खाटी परम्परावादी हुँ, त्यसैले मलाई मतदान गरेर अमेरिकी मूल्य–मान्यताको रक्षा गर्न सहयोग गर्नुहोस् ।’ उहाँले टेलिभिजनहरूका लागि तयार गरिएको विज्ञापनहरूमा पनि आफू कन्सर्भेटिभ भएको कुरा सगौरव प्रस्तुत गर्ने गर्नुभएको थियो । युरोप र अमेरिकाका राष्ट्रवादी दलहरू आफूलाई कन्सर्भेटिभका रूपमा सगौरव प्रस्तुत गर्छन् भन्ने पढिएको–सुनिएको त हो, तथापि नेपालमा गालीको शब्द बनेको ‘कन्सर्भेटिभ’ शब्द अमेरिकामा गौरवको विषयका रूपमा प्रस्तुत भएको देख्दा चकित पर्नुपरेको थियो । जोन मकेनले परम्परावाद रक्षाको कुरा गरिरहँदा उनमा निहित राष्ट्रवादी भावना छचल्किएको महसुस हुन्थ्यो ।
राष्ट्रिय जनगणनाको माध्यमबाट पहिचान हुन पुगेका सवा सय जातजातिलाई आ–आफ्नो पहिचानको खोजी गर्न बारम्बार प्रोत्साहित गरिएको छ र केही गैरसरकारी संस्था तथा खास–खास राजनीतिक व्यक्ति तथा समूहको मुख्य धन्दा नै आफ्नो पहिचानको निम्ति मान्छेलाई उत्प्रेरित गर्नु रहेको छ । केही एनजीओ र धेरै आईएनजीओहरूले जातीय तथा क्षेत्रीय भड्कावका लागि अर्बौंको लगानी गरी पहिलो संविधानसभामा जसरी असहज परिस्थिति निर्माण गरेका थिए, यसपटक त्यही कार्य निकै होसियारीपूर्वक दोहोर्याइँदै छ । मानिसबीच जातिपातिको भेद हुनुहुँदैन भन्ने कम्युनिस्टहरू तथा देशको सबैभन्दा उर्वर एवम् सुविधाजनक भूगोलमा बसोबास गर्ने राजनीतिकर्मी र आईएनजीओप्रेरित जातिवादीहरू जात र भूगोलको आधारमा सार्वभौमिकताको विखण्डन गर्न उत्साहित र प्रोत्साहित छन् । जसका कारण निर्धारित समयभित्र नयाँ संविधान जारी हुने सम्भावना टाढिएको छ । ०६३ को परिवर्तनपश्चात् नेपाली–नेपालीबीच सद्भाव, प्रेम र विश्वास बढाउने आधारस्तम्भहरू क्रमश: ढालियो र आपसी द्वैष एवम् घृणा बढाउने प्रकारका मसला बोक्न राजनीतिक क्षेत्रबाटै प्रोत्साहित गरियो । सबै नेपालीलाई अनेकथरी पहिचानका लागि उरालिरहँदा सिङ्गै मुलुकको पहिचान यसरी ओझेलमा पारिएको छ मानौँ, मुलुकको पहिचान नै असान्दर्भिक र औचित्यहीन छ । सुडानमा इसाईप्रेरित दक्षिणी सुडानवासी र राष्ट्रवादी सुडानीबीच लामो द्वन्द्वपश्चात् सुडानको राजनीतिक नक्सा परिवर्तन गरियो । एउटा सुडान दुईवटामा रूपान्तरित भइसक्दा पनि त्यहाँ तनाव र द्वन्द्व कायम छ । माओवादीका कारण द्वन्द्वग्रस्त बन्न पुगेको इथियोपिया छुट्टिएर इरिट्रिया नामक छुट्टै देश बन्नुको पीडा राष्ट्रवादी इथोपियालीहरूले कसरी सहिरहेका होलान् त्यसको अनुमान गर्न सकिन्छ । छिमेकी मित्रराष्ट्र भारतलाई नाटकीय ढङ्गले विभाजन गरेर पाकिस्तान बनाइँदाको दु:ख राष्ट्रवादी भारतीयहरूले साढे ६ दशक बितिसक्दा पनि भुल्न सकेका छैनन् । कम्युनिस्ट र पृथकतावादीहरू (जातिवादी या क्षेत्रीयतावादी) देश विभाजन गर्नुलाई स्याउ काटेजत्तिकै सजिलो र सस्तो ठान्दारहेछन् । तर, राष्ट्रवादी प्रजातन्त्रवादीहरूको मन–मस्तिष्कमा आफू स्वयम्को भन्दा बलियो उपस्थिति देशले जनाइरहेको हुन्छ । देश टुक्रिन खोज्दाको पीडा डेभिड क्यामरुनहरूले जसरी महसुस गरेका थिए त्यस्तै पीडा एक समय युगोस्लाभ र अहिले युक्रेनी जनताले बोध गरिरहेका छन् ।
कुनै पनि मुलुक एकीकृत रहिरहनका लागि एकताको केही न केही सूत्र जीवित रहनुपर्छ । संयुक्त राज्य अमेरिकाको एकताको सूत्र अङ्ग्रेजी भाषा र त्यसको वैभव हो । अङ्ग्रेजी भाषाले सिङ्गै अमेरिकालाई एक सूत्रमा बाँधेको छ भने देशको सान र वैभवप्रति हरेक अमेरिकी गौरवान्वित छन् । भारतलाई एक सूत्रमा बाँध्ने काम त्यहाँको संस्कृति, परम्परा र एक हदसम्म हिन्दी भाषाले गरिरहेको छ । पूर्वोत्तर तथा दक्षिण भारतसम्म हिन्दीको प्रभाव बढ्दा भारतको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास गर्न सकिन्छ । असी करोडभन्दा बढी जनसङ्ख्या सनातनी हिन्दूहरू रहेको भारतको राष्ट्रिय एकतामा हिन्दूधर्मको पनि विशिष्ट योगदान रहेको छ भनियो भने त्यो गल्ती हुनेछैन ।
आत्मनिर्णयको अधिकारसहित सङ्घीय राज्य निर्माण गरेर लेनिनबाट गम्भीर गल्ती भएको महसुस स्टालिनले गरेका थिए । सोभियत सङ्घमा आबद्ध पन्ध्र राज्यबीच एकताको सूूत्र केही पनि नदेखिएपछि स्टालिनले रसियाली भाषाको विस्तार गरेर सोही भाषाको मालामा सोभियत सङ्घवासीहरूलाई एकताबद्ध बनाइराख्ने प्रयास उनले गरेका थिए । धेरै ढिलो प्रारम्भ भएकोले आफ्ना अभियानमा उनी सफल हुन सकेनन्, आखिर ७२ वर्षमै सोभियत सङ्घको अस्तित्व समाप्त भयो । करिब ६ दशकअघि नै छुट्टिएको कोरिया भाषिक र जातीय समानताका कारण कुनै पनि दिन एउटै मुलुकमा रूपान्तरित हुने समय टाढा छैन । विचार र व्यवस्थाका आधारमा विभाजन गरिएको जर्मनी एकीकरण हुनुमा त्यहाँको आफ्नो भाषा, संस्कृति र जातीय सूत्रले पनि ठूलो योगदान पुर्याएको थियो । एकताका सूत्रबिनाका मुलुक एकीकृत रहन मुस्किल हुन्छ, त्यसैले राष्ट्रिय एकताका सूत्रहरूलाई सधैँ जीवित राखिरहनु सम्बन्धित देशको प्रथम कर्तव्य हुन आउँछ ।
नेपालको राष्ट्रिय एकताका केही बलिया सूत्रहरू छन् । पछिल्लो समयमा एकताका सूत्रहरूलाई क्रमश: ध्वस्त बनाउँदै जाने प्रयास जारी राखिएको भए पनि एकताका केही सूत्रहरू अजम्बरी चरित्रका छन् । एक समय नेपालीको एकता र नेपाली राष्ट्रियताको अन्तर्राष्ट्रिय पहिचानको रूपमा राजसंस्था कायम थियो । तराईदेखि हिमाल र महाकालीदेखि मेचीसम्मका अनेकथरी नेपालीले राजसंस्थालाई एकताको प्रतीकका रूपा स्वीकार गरेको तथ्य हामीले अहिले अस्वीकार गरे पनि सत्य त्यही थियो । सबै नेपाली बुद्ध, सीता, भृकुटी, सगरमाथा, लुम्बिनी पशुपतिनाथप्रति गौरव गर्दछन् । त्यसैले यी पनि हाम्रो राष्ट्रिय एकताभावका आधार हुन् ।
नेपालीको एकताको अर्को सूत्र नेपाली भाषा हो, नेपालमा बसोबास गर्नेहरूमध्ये अधिकांशको मातृभाषा बनेको ‘नेपाली’ सबैले बुझ्दछन् र सम्पर्क भाषाको रूपमा नेपाली भाषा राष्ट्रिय एकताको सूत्र बनेको छ । पछिल्लो दशकमा केही राजनीतिकर्मीहरूले नेपाली भाषालाई कमजोर बनाउन प्रयास गरेको भए पनि अहिलेसम्म यो भाषा नेपाली राष्ट्रिय एकताको सूत्रका रूपमा मजबुत नै छ ।
हाम्रो राष्ट्रिय एकताको एउटा बलियो आधार सनातनी हिन्दूधर्म हो । ८१ प्रतिशतभन्दा बढी सनातनी हिन्दू र बौद्ध, किरात, शिख, जैनजस्ता ओमकार परिवारलाईसमेत समेट्दा ९४ प्रतिशत जनसङ्ख्या रहेको मुलुकको एकता र सद्भाव कायम राख्न धर्मले विशेष योगदान दिइरहेको वास्तविकतालाई अस्वीकार गर्न मिल्दैन । सनातन धर्म नेपाली राष्ट्रिय एकताको सूत्र मात्र होइन, विश्व मानचित्रमा हाम्रो बेग्लै र विशिष्ट पहिचानको आधार पनि हो । विश्वको एउटै मात्र हिन्दूराष्ट्रका रूपमा नेपालको पहिचान कायम रहँदा नेपाली नागरिकता धारण गर्नेहरूले निधार खुम्च्याउनुपर्ने कुनै कारण रहँदैन । ५० प्रतिशत मात्र इस्लाम धर्मावलम्बी रहेको मलेसियालाई राष्ट्रिय पहिचानकै लागि इस्लामिक मुलुक बनाइएको तथ्यलाई हामीले भुल्नुहुँदैन । ८० प्रतिशतभन्दा बढी सनातनीको बसोबास भएको मुलुक भारतलाई ब्रिटिसहरूले षड्यन्त्रमूलक ढङ्गले धर्मनिरपेक्ष रहनुपर्ने अवस्थामा पुर्याइदिएका भए पनि जनताबीच एकताको बलियो सूत्रचाहिँ भारतमा पनि हिन्दुत्व नै रहेको छ भन्न सकिने पर्याप्त आधार छन् ।
कुनै पनि देशको राष्ट्रिय सेना राष्ट्रियताको एउटा बलियो आधार हो । जातीय, भाषिक या सांस्कृतिक र धार्मिक समुदायको विविधता रहे पनि सेनाले राष्ट्रियतालाई मजबुत बनाउने प्रत्यक्ष–अप्रत्यक्ष काम गरिरहेका हुन्छन् ।
प्रजातन्त्रमा राष्ट्रिय एकता र राष्ट्रियताको एउटा आधार राजनीतिक दलहरूलाई पनि मानिन्छ । मित्रराष्ट्र भारतमा दुई दशकयता क्षेत्रीय दलहरू बलियो र राष्ट्रिय राजनीतिक दलहरू कमजोर हुँदै जाँदा भारतको राष्ट्रिय एकता नै कालान्तरमा धरापमा पर्ने हो कि भन्ने चिन्ता सुषुप्त रूपमा भए पनि बढ्दो थियो । नरेन्द्र मोदीजीको नेतृत्वमा भारतीय जनता पार्टीले प्राप्त गरेको सफलताले भारतको राष्ट्रियता र राष्ट्रिय एकतालाई पुनस्र्थापित गरेको छ । मोदीको उदयअघि राष्ट्रिय दलहरू विभाजित या सङ्कुचित भएर क्षेत्रीय समूह बन्ने क्रम तीव्रत्तर बनेको थियो । अहिले क्षेत्रीय समूहहरू मोर्चाबन्दी, कार्यगत एकता या पार्टी एकीकरण गरेर भए पनि राष्ट्रियस्तरको शक्ति बन्ने कसरत गर्न बाध्य भएका छन् । भाजपाका विरुद्ध सबै एकजुट हुने कुरा मोदी र भाजपा स्वयम्का लागि एउटा चुनौतीको विषय बने पनि यस्तो मोर्चाबन्दीले भारतको राष्ट्रियता र राष्ट्रिय एकतालाई सुदृढ गर्ने विश्वास गर्न सकिन्छ ।
पहिचान भन्नु स्वत्व हो, सौर्य परिवारमा हामी पृथ्वीवासी हौँ र पृथ्वीप्रति हाम्रो बेग्लै ममता र गौरवभाव छ । पृथ्वीभित्र हामी नेपाली हौँ र नेपालभित्र चाहिँ हामी कुन्नि के के हौँ, तर जो जे भए पनि नेपाली हौँ । अर्को अर्थमा हामी सबभन्दा पहिले प्राणी हौँ र प्राणीमध्येमा हामी मानिस हौँ । मानिसभन्दा एक तह तल ओर्लेर भन्नुपर्दा हामी नेपाली हौँ र नेपालीभन्दा पनि अझै तल ओर्लंदा हामी कुन्नि के–के हौँ । आफ्नो पहिचानको घेरा कति सङ्कुचित बनाउने भन्ने कुरा आफैँमा निहित हुन्छ । स्कटिसहरूको संसारमै विशिष्ट पहिचान हुँदाहुँदै पनि तिनले ब्रिटिस नागरिकको रूपमा आफ्नो विशेष परिचयलाई निरन्तरता दिन चाहेका छन् । नेपालीत्वको शताब्दीऔँ लामो अभ्यास गरिसकेका हामीले हाम्रो अन्तरराष्ट्रिय पहिचान र राष्ट्रिय एकतालाई सबल बनाउन कञ्जुस्याइँ गर्नु भनेको आफैँ बाँचेको धर्तीलाई उपेक्षा गर्नु हो, आफैँलाई खुम्च्याउनेहरू संसारमा कहिल्यै महान् बन्न सकेका छैनन् र बन्दैनन् पनि । नेपालीको रूपमा बनेको हाम्रो पहिचानलाई जोगाइरहने हो भने हाम्रो राष्ट्रिय एकताका सूत्रहरूको रक्षा गरिरहनुपर्ने हुन्छ । धर्म, भाषा, संस्कृति, परम्परा, राष्ट्रिय चिन्तन भएका राजनीतिक दल र सेना नेपाली राष्ट्रियताका मजबुत आधार हुन्, यिनको रक्षा गर्नु हामी सबैको प्रथम कर्तव्य हुनुपर्छ ।
– [email protected]
प्रतिक्रिया