राष्ट्रिय खेलकुद परिषद्मा अवस्थित मुलुकको एक मात्र राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुनर्निर्माणको कार्य प्रारम्भ भएयता थुप्रै राष्ट्रिय खेलकुद सङ्घहरू ‘झोेले’ राष्ट्रिय सङ्घको रूपमा परिणत भएका छन् । विभिन्न राजनीतिक शक्तिको आडमा वर्षौंदेखि खेलकुद परिसरमा अखडा जमाउँदै आएका ती सङ्घहरू दशरथ रंगशालको निर्माणसँगै घर न घाटका बन्न पुगेका छन् । राष्ट्रिय खेलकुद परिषद्मा गठन हुने, राजनीतिक दलको आडमा एउटा कोठा लिने, राखेपकै बजेटमा चुरिफुरी गर्ने, खेलकुदको विकासको नाममा सिन्कोसमेत नभाँच्ने, खेलकुदमा राजनीति गर्न र कालो झण्डा देखाउन सबैभन्दा अग्रसर हुने त्यस्ता सङ्घहरूको अस्तित्व नै अहिले सङ्कटमा परेको छ । र पनि, वर्षौंदेखि खेलकुदमा राज गर्दै आएका त्यस्ता सङ्घका पदाधिकारीहरू लाजै नमानी कहिले रंगशालाको कार्य सकिएला र पुनः खेलकुदमा नै बस्न पाइएला भनेर गिद्धेनजर लगाएर बसेका छन् । साँढेको झर्ला र खाउँला भन्ने ताकमा बसेका र -याल चुहाइरहेका त्यस्ता स्यालहरूलाई अब राष्ट्रिय खेलकुद परिषद्ले कसरी खेलकुदबाट लखेट्छ त्यो हेर्न लायक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएपछि राखेपअन्तर्गत रहने खेलकुद ऐनमा व्यवस्था भए पनि राखेप परिसरमै राष्ट्रिय सङ्घहरूलाई राख्नुपर्ने कुनै बाध्यता छैन । तर, विडम्बना † सत्ता र शक्तिको आडमा राखेपमा कब्जा जमाउने परम्पराको अहिलेसम्म अन्त्य भएको छैन, अर्थात् यद्यपि जारी छ । पहिले सङ्घहरूले खेलकुदमा कब्जा जमाउँदै आएकोमा अहिले राजनीतिक दलका खेलकुदका भ्रातृ सङ्गठनले समेत खेलकुदमा कब्जा जमाउन थालेपछि खेलकुदको अस्तित्व नै सङ्कटमा परेको छ । साँचो अर्थमा भन्नुपर्दा खेलकुद अहिले खेलकुदभन्दा पनि राजनीतिक पार्टीको भ्रातृ कार्यालयजस्तो देखिएको छ । एउटा रचनात्मक ठाउँमा राजनीतिले जरो गाड्दै जाँदा सम्बन्धित निकायले मौनता साँध्नु अर्को विडम्बना छ । अझ परम्परालाई तोड्नुको साटो उल्टै पहिलेकै गलत क्रियाकलापलाई बढवा दिनुको पछाडिको रहस्य के हो ? चिन्ता र खोजीको विषय बनेको छ । खेलकुदमा बेकामी सङ्घ र भ्रातृ सङ्गठनहरूको उपस्थितिले खेलकुद नै गन्हाउन पुगेको अवस्थामा अझै पनि तिनैलाई हालीमुहाली गर्न दिनु सम्बन्धित निकायको अक्षमता प्रस्ट देखिन्छ । दशरथ रंगशालाको निर्माण कार्य आरम्भदेखि राखेपलाई आफ्ना विभागका कार्यालयहरू राख्नसमेत ठाउँको अभाव देखिएको छ । र पनि, व्यर्थैमा ठाउँ ओगट्दै राजनीतिक रूपमा निहुँ खोजेर बसेका भ्रातृ सङ्गठनका कार्यालयहरूलाई भने राखेपले हटाउन सकेको छैन । राखेप परिसरमा कुनै पनि राजनीतिक पार्टीका कार्यालयहरू राख्न नपाउने नियममा प्रस्ट रूपमा उल्लेख भए पनि जबर्जस्ती राखिएका ती कार्यालयहरू यस्तो विषम परिस्थितिमा पनि नह्टनु खेलकुदको लागि दुर्भाग्य बनेको छ ।
पहिले बसेका सङ्घलाई दबाब दिन अन्य सङ्घले जबर्जस्ती खेलकुदमा डेरा जमाएर बस्दा अहिले खेलकुदको अनुहार कुरूप बनेको छ । पहिले तिमीहरू छोड, अनि मात्र हामी छोड्छौँ भन्दाभन्दा राखेप परिसरमा अहिले पचासौँको सङ्ख्यामा राष्ट्रिय सङ्घले आफ्नो कार्यालय खोलेका छन । आफू नबसेर अरूलाई दबाब दिन सक्ने अवस्था हुँदाहँुदै राजनीतिक दलको शक्ति र पहुँचको आधारमा राखेपमाथि कब्जा जमाएको अवस्था छ । राष्ट्रिय खेलकुद परिषद्लाई चुनौती दिँदै समानान्तर रूपमा खोलिएको गणतान्त्रिक खेलकुद महासङ्घले खेलकुदमा धावा बोल्दै आफ्नो कार्यालय राखेप परिसरमा खोलेपछि खेलकुदमा राजनीतिक दलका भ्रातृ सङ्गठनहरूको प्रवेश भएको थियो । यस्तो विकृति र विसङ्गतिलाई रोक्नुको साटो राजनीतिक प्रतिशोध साँध्न उल्टै एमालेले राष्ट्रिय खेलकुद महासङ्घको कार्यालय राखेप हाताभित्रै राखेपछि समस्याले उग्र लिएको थियो । त्यसपछि मुलुकको तरल राजनीतिको फाइदा उठाउँदै मधेसी दल र अन्य दलका भ्रातृ सङ्गठनहरूले पनि राखेप परिसरलाई आफ्नो निशाना बनाउँदै राजनीतिक रवाफ देखाउने थलोको रूपमा खेलकुदलाई उपयुक्त थलो बनाएका थिए । खेलकुदमा यसरी मच्चिएको बेथितिलाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेसनिकट भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राखेप परिसरबाहिर आफ्नो कार्यालय राखेर उदाहरणीय रूपमा प्रस्तुत भएको छ । जसलाई खेलकुद क्षेत्रमा लाग्नेहरूले पनि सकारात्मक रूपमा लिएका छन् ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै विश्व खेल जगत्मा कहीँ नभएको जात्रा नेपाली खेलकुद जगत्मा विद्यमान छ भन्दा अतिसयोक्ति नहोला । विश्वमा कुनै पनि खेलकुदका सङ्घहरू सरकारी अनुदान चलेको कहीँकतै इतिहासमा भेटिँदैन । तर, नेपालमा यसको ठीक उल्टो छ । राखेपमा गठन भएका सम्पूर्ण सङ्घहरू राखेपको मुख नताकी बाँच्नै सक्तैनन् । जन्माउनु, हुर्काउनु, पालनपोषणदेखि विदेश घुमाउने कार्यसमेत राखेपले नै गर्नुपर्ने तीतो यथार्थ हाम्रोसामु छ । राष्ट्रिय सङ्घको यही वास्तविक यथार्थले गर्दा आज खेलकुदमा राजनीति हावी भएको हो भन्दा फरक नपर्ला । यसरी एउटा सङ्घ जुन आफ्नै बलबुतामा खेलकुदको विकास गर्ने प्रतिबद्धताका साथ दर्ता हँुदैन तबसम्म त्यो खेल र खेलकुदको विकास हुने कुरामा विश्वास गर्न सकिँदैन । यदि यो उद्देश्यका कुनै संस्था चल्दैन भने त्यो आशामुखीबाहेक अन्य केही बन्न सक्तैन । अर्को तीतो सत्य के हो भने एउटा कार्यालयसमेत राख्न नसक्ने राष्ट्रिय सङ्घ किन र केका लागि खोलिएको हो, त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ । अन्यथा खोल्नका लागि खोलिएका र आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने मनसायका साथ खोलिएका सङ्घले भने जे गरे पनि हुन्छ । तर, राखेपले यस्ता सङ्घको पहिचान गरी कानुनी घेरामा ल्याउन भने जरुरी भइसकेको छ । अन्यथा च्याउझैँ उम्रेका सङ्घ भोलि खेलकुदका लागि ऐँजेरू नबन्लान् भन्न सकिँदैन ।
वर्तमान अवस्थामा पनि राजनीतिक दलका भ्रातृ सङ्गठन र राजनीतिबाट ओतप्रोत भएका सङ्घको घेराबन्दीमा राखेप छ । यिनीहरूको साङ्लोबाट मुक्त हुन राखेपले दशरथ रंगशालाको निर्माणलाई प्रमुख हतियार बनाउन सक्छ । खेलकुदलाई राजनीतिबाट अछुतोे राख्न रंगशाला निर्माणअघि नै उनीहरूको बहिर्गमनबारे निर्णय गरेर नोटिस जारी गर्नुपर्छ । अन्यथा विगतमा झैं सङ्घलाई कार्यालय दिने, चलाउने, खेलाडी तयार पार्ने र विदेश पनि पठाउनुपर्ने काम राखेपले गर्नुपर्नेछ । तसर्थ यसबाट मुक्त हुन राखेपले रंगशालाको निर्माणको बहाना बनाउँदै आफू मुक्त भए खेलकुदमा नयाँ आयाम थपिने कुरामा विश्वस्त हुन सकिन्छ । अर्को कुरा यसले राष्ट्रिय सङ्घलाई एक स्वायत्त सङ्घको रूपमा विकास गर्न मद्दत पुग्ने कुरालाई समेत नकार्न सकिँदैन । त्यसपछि सङ्घका पदाधिकारीहरूलाई आफ्नो काम–कर्तव्यको बोध हुने र सक्रिय र सक्षमताको मार्गतर्फ उन्मुख हुनेमा सायदै कसैको दुईमत होला । यदि राखेपलाई अहिले पनि चेत आएन भने भोलिका दिनमा सङ्घहरूकै कारणले खेलकुद अघोगतितर्फ उन्मुख हुने पक्का छ । एक खेल पदाधिकारी भन्दै थिए, ‘फसादको जड भनेकै राष्ट्रिय सङ्घ र भ्रातृ सङ्गठनको राखेप परिसरमा उपस्थिति हो । यसलाई अब जरैदेखि निमिट्यान्न पार्नुपर्छ । अहिले राखेपलाई शुभअवसर पनि छ, यसको फाइदा उठाउँदै उनीहरूलाई राखेपको मूलद्वारबाट बाहिर राखेपले राख्न सक्छ । तसर्थ भोलि पश्चात्ताप गर्नुभन्दा आजै लौरो पनि नभाँचिने सर्प पनि मर्ने रणनीतिमा राखेप लाग्नुपर्छ । जुन भोलि खेलकुदको उज्ज्वल भविष्यको पाटो बन्न सक्छ ।’
खेल समाचार
क्रिकेट सङ्घमा खेलकुदमन्त्रीको गुन्डागर्दी
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको सिफारिसमा गत बिहीबार बसेको मन्त्रिपरिÈद् बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई विघटन गरेको छ । मन्त्री पौडेलले क्यानका पदाधिकारी अक्षम रहेको भन्दै खेलकुदको ऐन–कानुनलाई धोती लगाउँदै क्यानको विघटन गर्न सिफारिस गरेका थिए । एउटा निर्वाचित कमिटी जसको कानुनी उपचार अदालतमा चलिरहेको अवस्थामा मन्त्री पौडेलले किन गैरकानुनी ढङ्गबाट क्यानको विघटन गरे त्यो अहिले चर्चाको विषय बनेको छ । हालै मन्त्रिपरिषद्को बैठकले क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त तदर्थ समितिको उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेश सिलवाल रहेका छन् ।
क्यानको विघटनसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युुवराज लामाले यो नितान्त व्यक्तिगत र गैरकानुनी कार्य भएको बताएका छन् । लामाले खेलकुद सङ्घ विघटन गर्ने, कारबाही गर्ने अधिकार राखेपलाई मात्र भएको जिकिर गर्दै मन्त्री पौडेलले जसरी जेठ २ गते आफूलाई हटाए त्यसैको यो दोस्रो संस्करण भएको दाबी गरे । मन्त्री पौडेलको यो कदमको विरोध गर्दै लामाले यसलाई एक स्वायत्त संस्थामाथिको हमलाको संज्ञा दिएका छन् । जसको संरक्षक प्रधानमन्त्री र अध्यक्ष खेलकुदमन्त्री रहने भए पनि उक्त संस्थालाई किन बाइपास गरियो त्यो आफूले बुझ्न नसकेको बताए ।
त्यस्तै विघटित नेपाल क्रिकेट सङ्घका पदाधिकारीहरूले क्यान विघटन गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । क्यानका प्रवक्ता दीपक साउदले जारी गरेको विज्ञप्तिमा नेपाल क्रिकेट सङ्घको विधानअनुसार निर्वाचित कार्यसमितिलाई विघटन गर्नु खेलकुद विकास ऐन ०४८ विपरीत भएको उल्लेख गर्दै यसले कानुनी राज्यको खिल्ली उठाएको जनाउँदै विघटित क्यानका पदाधिकारीले कानुनी उपचार खोज्ने जनाएका छन् । सरकारबाट विघटन गरिएको पत्र प्राप्त भएपछि अदालत जाने हालै आयोजित पत्रकार सम्मेलन गर्दै पदाधिकारीले सो कुरा जनाएका हुन् ।
विघटित क्यानका उपाध्यक्ष दीपक कोइरालाले भने, ‘राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई हटाउन नसकेको झोँक नेपाल क्रिकेट सङ्घलाई पोखेको हो ।’ गुन्डागर्दीको शैलीमा क्यान विघटन गरेको आरोप लगाउँदै कोइरालाले भने, ‘क्यानका कार्यवाहक अध्यक्ष टीबी शाह बिरामी भएकाले बैठकमा उपस्थित हुन नसक्नुभएको हो, बिरामी भएको अवस्थामा निष्क्रिय भएको भन्नु मानवता नभएकाले मात्र भन्छ ।’
‘क्यानलाई जे–जस्ता आरोप लगाउँदै विघटन गरिएको छ, त्यो निराधार भएको भन्दै क्यानका सदस्य दीपक साउदले भने, ‘आजसम्म क्यान विघटनको पत्र प्राप्त भएको छैन, सो पत्र प्राप्त भएपछि आफूहरू अदालत जानेछौँ । साथै, सरकारलाई क्यान विघटनको निर्णय सच्याउन पनि आग्रह गर्दछौँ ।’ यसलाई सच्याएन भने पनि कानुनी लडाइँ लड्न आफूहरू तयार रहेकोसमेत साउदले बताए । ‘राखेपमा दर्ता रहेको खेल सङ्घहरूमध्ये क्यान नै लोकतान्त्रिक सङ्घ हो । क्यानले खेलाडी छनोट, रेफ्री छनोट र प्रशिक्षकबारे छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको छ,’ सदस्य साउदले भने । सो कार्यक्रममा श्रीनिवास राणा, किरण राणा, दिवाकर घलेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
त्यस्तै अखिल नेपाल खेलकुद महासङ्घले क्यान विघटनको निर्णय तत्काल फिर्ता लिन अपिल गरेको छ । सङ्घकी संयोजक तथा पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोक्काले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्वाचित कमिटीलाई विघटन गर्न नेपाल सरकारको निर्णयले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी राज्यको खिल्ली उडाएको उल्लेख गरिएको छ । यो निर्णयले खेलकुदको ऐन–कानुनको धज्जी उडाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रिय करातेको प्रधानमन्त्रीले उद्घाटन गर्ने
गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपाल र नेपाल कराते महासङ्घको संयुक्त आयोजनामा हुने ४४औँ राष्ट्रिय कराते प्रतियोगिता ललितपुरको चापागाउँमा सोमबारदेखि सञ्चालन भएको छ । उक्त कुराको जानकारी आयोजक प्रतिष्ठानका अध्यक्ष एवम् प्रतियोगिता तयारी समितिका संयोजक रामकृष्ण चित्रकारले दिएका हुन् । सो अवसरमा अध्यक्ष चित्रकारले सम्पूर्ण तयारी पूरा भएको जानकारीसमेत गराएका थिए । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताब्दीको उपलक्ष्यमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र, राष्ट्रिय टिम, नेपाली सेना, नेपाल प्रहरी, एपीएफ र विश्वविद्यालय गरी जम्मा १० टिमको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले जानकारी दिएका छन् । महर्जनका अनुसार १० टिमबाट दुई सय २० खेलाडीले पुरुषमा नौ र महिलामा आड गरी कुल १७ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजीमुनि र ८४ केजीमाथि तथा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजीमुनि र ६८ केजीमाथि तौलसमूह समावेश गरिएको छ । पुरुष/महिलाको दुवै विधामा एकल र टिम कातामा पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको राखेप संरक्षक एवम् प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमलाई भव्य र अविस्मरणीय बनाउने तयारी गरिरहेको आयोजकले त्यस अवसरमा हेलिकोप्टरबाट पुष्प वृष्टि गर्ने जनाएको छ । सोही प्रतियोगिताका लागि मध्यमाञ्चलको खेलाडी छनोट पनि सम्पन्न भएको छ । मध्यमाञ्चलबाट कुमुते/कातामा ११ पुरुष र १० महिला गरी जम्मा २१ खेलाडी छनोट भएको प्रतियोगिता संयोजक महेश रञ्जितले जनाएका छन् । मध्यमाञ्चलको छनोटसँगै प्रतियोगितामा सहभागी हुने सबै टिमको छनोट सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
बालाजु प्रष्ठिानद्वारा विमला सम्मानित
दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा कास्य पदक विजेता नेपाली खेलाडी विमला तामाङलाई बालाजु कराते डो प्रतिष्ठानले नगद पुरस्कारसहित सम्मान गरेको छ । उनलाई प्रतिष्ठानले दुई लाख पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो । प्रष्ठिानका अध्यक्ष तथा मुख्य प्रशिक्षक धु्रवविक्रम मल्लले एसियाडमा सहभागी हुन जानुअघि नै कास्य पदक जित्ने खेलाडीलाई दुई लाख पचास हजार रुपैयाँ दिने घोषणा गरेका थिए । एमाओवादीका सचिव टोपबहादुर रायमाझीले उनलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा एसियाडमा सहभागी प्रशिक्षक हीरासिंह डङ्गोललाई पनि सम्मान गरिएको थियो ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटको तेक्वा छिरी शेर्पा सभाहलमा भएको कार्यक्रममा सहभागीहरूले विमलालाई तत्कालै नगद पुरस्कार घोषणा गर्दै प्रदान गरेका थिए । जसमा प्रतिष्ठानका पूर्वमहासचिव राजन खत्रीले १० हजार, दीपक पौडेल र महेश्वरराज कुँवरले पनि जनही १० हजार नगद पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी दुबईमा कार्यरत प्रष्ठिानका पूर्वखेलाडी नवीन तामाङले १५ हजार, विशाल पुनले १० हजार, वीरेन्द्र सिंहले ११ हजार रुपैयाँ प्रदान गरेको सो कार्यक्रममा जानकारी गराइएको थियो । त्यसैगरी मकाउमा रहेका धादिङ समाजले ३० हजार एक सय एक रुपैयाँ पठाएको थियो । सो अवसरमा आरोग्य प्रतिष्ठानले विमलालाई आफ्नो प्रतिष्ठानको राजदूत घोषणा गरेको थियो । प्रतिष्ठानले उनलाई पुरस्कारस्वरूप २५ हजार रुपैयाँ दिने घोषणा गरेको डा. पुकारचन्द्र श्रेष्ठले कार्यक्रममा जानकारी दिएका थिए । सो सम्मानपछि विमलाले प्रतिष्ठान र ध्रुवविक्रम मल्ल गुरुको योगदानले आफूले उचाइ चुमेको बताइन् । ‘यो सम्मानले मलाई अझ धेरै अगाडि बढ्न हौसला बढेको छ,’ उनले भनिन् ।
त्यसैगरी बालाजु डो प्रतिष्ठानका अध्यक्ष धु्वविक्रम मल्लले राज्यको छनोट प्रक्रियामा नपरेकी विमलाले एसियन गेममा देशको झन्डा फहराएर छनोट प्रक्रियामाथि प्रश्नचिह्न खडा गरेको बताए । ‘जेहेनदार खेलाडीको प्रतिभाको राज्यले कदर नगरेको यो एउटा उदाहरण हो,’ उनले भने । प्रतिष्ठानले २० जना खेलाडीलाई निःशुल्क अध्ययन गराइरहेको बताएका थिए । ती २० मध्ये विमला तामाङ पनि रहेकी छिन् । त्यसैगरी कार्यक्रममा शिक्षाविद् तथा सभासद् लक्ष्मण राजवंशीले विमलालाई निरन्तर खेलकुदमा लागेर आफ्नो पहिचान बनाउन हौसला प्रदान गरेका थिए । ‘सबैजना पढेर विद्वान् हुनुपर्छ भन्ने छैन । त्यसैले विमलाले करातेमार्फत नै आफ्नो उचाइ चुम्नुपर्छ,’ उनले भने । कार्यक्रममा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासङ्घका अध्यक्ष पुनेन्द्रविक्रम लाखे, नेपाली फुटबलका पूर्वराष्ट्रिय खेलाडी मणि शाह, प्रकाशचन्द्र श्रेष्ठ, राससका महाप्रबन्धक श्रीरामसिंह बस्नेत, विश्वराम साकोटा, रेफ्री कमिसनका प्रकाश मोहन धौभडेल, नेपाल गणतान्त्रिक खेलकुदका महासचिव रणसङ्ग्राम विष्टलगायतको उपस्थिति थियो ।
जुडो छनोटमा विभागीय खेलाडीको वर्चश्व
अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि नेपाल जुडो सङ्घले १० खेलाडी छनोट गरेको छ । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्रमा भएको छनोट प्रतियोगिताबाट सात पुरुष र तीन महिला खेलाडी छनोट गरिएको जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जितले जनाएका छन् । आ–आफ्नो तौलसमूहमा पहिलो भएका खेलाडी छनोट भएका हुन् । विभागीय खेलाडीको वर्चस्व रहेको छनोट प्रतियोगिताअन्तर्गत पुरुषको ६० केजीमुनि एपीएफका खेमबहादुर थापा, ६६ केजीमुनि नेपाल प्रहरीका जयदीप चौधरी, ७३ केजीमुनि नेपाली सेनाका जंगबहादुर सारू, ८१ केजीमुनि केन्द्रीय डोजोका मोहन सुनुवार, ९० केजीमुनि प्रहरीका श्रीराम मकाजु, १०० केजीमुनि सेनाका कालुमान तामाङ तथा १०० केजीमाथि केन्द्रीय डोजोका राजन जोशी छनोट भएका छन् । महिलाको ५२ केजीमुनि लीला अधिकारी, ६३ केजीमुनि प्रमिला खड्का तथा ७० केजीमुनि गंगा चौधरी छनोट भए । सबै खेलाडी विभागीय टोलीका हुन् । प्रमिला प्रहरीकी हुन् भने बाँकी दुई सेनाका हुन् । एकदिने छनोटमा ३२ पुरुष र १२ महिला गरी जम्मा ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता डिसेम्बर २ देखि ५ तारिखसम्म पाकिस्तानको लाहोरमा हुँदै छ ।
ब्वाइज युनियन टिम च्याम्पियन
दोस्रो ‘डोर टु डोर’ तेक्वान्दो प्रतियोगिताअन्तर्गत ब्वाइज युनियन तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वर भेगका विभिन्न १२ टिम सहभागी प्रतियोगितामा ब्वाइज युनियन टिम च्याम्पियन बनेको हो । नेपाल तेक्वान्दो सङ्घ, काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा ब्वाइज युनियनले सात स्वर्ण, पाँच रजत र दुई कास्य जितेको डोजाङ प्रमुख राजेन्द्र खत्रीले जनाएका छन् । ब्वाइज युनियनलाई पार्वती गुरुङले ५२ केजीमुनि, सागर मगरले ५१ केजीमुनि, निशेष मगरले ५५ केजीमुनि, रेजुना ठकुरीले ४९ केजीमुनि, सम्झना भण्डारीले ४४ केजीमुनि, रोशन सापकोटाले ४५ केजीमुनि तथा कपिल थापाले ४२ केजीमुनि स्वर्ण दिलाए । अब विभिन्न आठ भेगको प्रतियोगिता हुन बाँकी रहेको आयोजकका सचिव कुमार घिसिङले जनाएका छन् ।
तेक्वान्दोमा नेपाललाई स्वर्ण
दक्षिण कोरियाको जेन्जु सहरमा भएको जेन्जु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो युनियनका खेलाडी रिश्मा श्रेष्ठले ४६ केजी तौल समूहमा कोरियाकी खेलाडी जेमी लीलाई पराजित गरी स्वर्ण पदक हात पारेकी छिन् । महिला सिनियरतर्फ सुसान जोशीले ७० केजी तौल समूहमा कोरियाली खेलाडीसँग पराजित भई दोस्रो स्थान हासिल गरेकी थिइन् । उक्त प्रतियोगितामा पुरुष सिनियरतर्फ डम्बर बोहराले ७४ केजी तौल समूहमा तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै पुरुष सिनियर ८० केजी तौल समूहमा धीरेन्द्रसिंह कठायत छेत्री चीनका खेलाडीसँग पराजित भई तेस्रो स्थानमा रहे ।
प्रतिक्रिया