रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2स्वर्गमा साथी पाउन लाससँग विवाह
मृत्युपछि चिहानमा गाडिएकी महिलाले शान्त र सुरक्षित रूपमा रहन नपाउने अनौठो घटना प्रकाशमा आएको छ । यसरी चिहान खोतलेर निकालिएको शवलाई कुनै मृत पुरुषसँग विवाह गरिन्छ भन्ने सुन्दा झन् अपत्यारिलो लाग्न सक्छ । तर, घटना सत्य नै हो र धेरै टाढाको पनि होइन, छिमेकी देश चीनमै यस्तो हुने गरेको खुलासा भएको छ । चिहानबाट महिलाको शव निकालेर बेचेको आरोपमा हालै एघार व्यक्तिलाई गिरफ्तार गरिएको छ । चिनियाँ प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरूले जनाएअनुसार अभियुक्तहरू महिलाको चिहान खोतलेर शव चोर्दथे र यस्ता पुरुषको परिवारलाई बेच्दथे, जुन पुरुषको उमेर ढल्किँदासम्म पनि विवाह नभई मृत्यु भएको हुन्थ्यो । यदि कुमार अवस्थामै कुनै पुरुषको मृत्यु हुन्छ भने कुनै महिलासँग उसको लासको बिहे गराई एकसाथ गाडिदिएमा उक्त मृत पुरुषलाई स्वर्गमा जीवनसाथी मिल्ने कतिपय चिनियाँ आदिवासी तथा ग्रामीण क्षेत्रका बासिन्दाको मान्यता छ । यस्तै अन्धविश्वासी परिवारलाई लासका व्यापारीहरूले अढाई–तीन लाख मूल्यमा महिलाको शव बेच्ने गरेका रहेछन् । ‘घोस्ट म्यारिज’ अर्थात् भूतसँगको विवाह नामक उक्त परम्परामा सकभर ताजा लासलाई बढी मूल्य तिर्ने गरेको पाइएको छ ।

समलिङ्गी सीईओ
आइफोन र आइप्याडजस्ता सामग्री बनाउने अमेरिकी कम्पनी ‘एप्पल’का सीईओलाई यस्तो कुराको सार्वजनिक खुलासा गर्न पक्कै सजिलो थिएन होला, तर एप्पल प्रमुख टिम कुकले सगर्व आफू समलिङ्गी भएको घोषणा गरिदिए । प्रसिद्ध पत्रिका ‘ब्लमवर्ग बिजनेस विक’मा एक लेख लेख्दै कुकले आफू समलिङ्गी भएको घोषणा मात्र नगरी आफ्नो पहिचानको निम्ति जुझिरहेका व्यक्तिहरूलाई मद्दत गर्ने उद्घोषसमेत गरेका छन् । यसबारे कतिपय कुरा गोप्यता राखे पनि सार्वजनिक गर्न आवश्यक कुरा बताउनु पनि उत्तिकै जरुरी रहेको आफूले महसुस गरेको भन्दै कुकले लेखमा भनेका छन्, ‘मलाई आफू समलिङ्गी हुनुमा गर्व छ, भगवान्ले मलाई अत्यन्त उच्च प्रकारको उपहार दिएका हुन् ।’ यसो भनेर टिम कुक आफूलाई ‘समलिङ्गी एक्टिभिस्ट’चाहिँ मान्दैनन्, तथापि मौका पर्दा यसबारे वकालत गर्न पनि आफू पछि नपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘एप्पल कम्पनीका प्रमुख व्यक्ति नै समलिङ्गी रहेछन् भन्ने जानेर कोही मेरा कारण प्रेरित हुन्छन् भने मैले किन आफ्नो निजी विषय भन्दै यो विशेषतालाई लुकाइरहनु ?’

वासनापूर्तिका लागि कुकुरलाई सास्ती
तस्बिरमा देखिएकी युवती अस्ट्रेलियाको ब्रिसवेननिवासी २५ वर्षीया जेना ड्रिस्कोल हुन् । जेनामाथि लन्डनका प्रहरीले लागूऔषध तस्कर भएको आशङ्कामा निगरानी गरिरहेका थिए । छानबिनका लागि उनलाई हिरासतमा लिएर खानतलासी लिइयो । तर, तस्करीको अभियोग पुष्टि गर्ने कुनै सुराक मिलेन र पनि जेनले उन्मुक्ति भने पाइनन् । उल्टै उनी जनावरलाई सताएको आभियोगमा कानुनी चक्करमा फस्न पुगिन् । भएछ के भने तस्करीबारे छानबिनका क्रममा प्रहरीले उनको मोबाइल सेट चेक ग-यो । त्यहाँ भेटिएका तीनवटा भिडियो क्लिपले जाँचकर्ताहरूलाई आश्चर्यमा पा-यो । नसालु पदार्थको कारोबारी ठानिएकी युवती त एउटा कुकुरसँग यौनक्रियामा लिप्त रहँदै आएकी रहिछिन् । अनि जाँचको दिशा बदलियो । लन्डनस्थित उनका छिमेकीहरूले पनि आफ्नो कुकुरमाथि जेनले रहस्यमयी व्यवहार गर्दै आएको बयान दिए । छानबिनबाट पुष्टि भयो कि उनी बेला–कुबेला उक्त कुकुरलाई आफूसँग यौनसम्पर्क गर्न विवश तुल्याउँदी रहिछिन् । वासनापूर्तिको निम्ति यसरी पशुप्रति क्रूर व्यवहार गरेको भन्दै मुद्दा अदालत पु-याइएको हो । उनले अदालतबाट जमानत पाए पनि मुद्दा भने जारी रहेको छ ।

राष्ट्रगानलाई प्यारोडी बनाउँदा…
तानाशाहीपन र क्रूरताका कारण बेलाबेलामा चर्चामा आइरहने उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन फेरि एकपटक समाचारको विषय बनेका छन् । उनको आदेशमा सेनाका एक उच्च अधिकारीलाई घरबाट घिच्याउँदै बाहिर निकालेर गोली हानिएको एजेन्सीहरूले जनाएका छन् । यसरी मारिने सैनिक अधिकारीको गल्तीचाहिँ यो थियो कि उनले राष्ट्रिय गानकै लयमा एक कमेडी गीत गुन्गुनाएका थिए । बताइएअनुसार ‘हेट योर एनिमी, लभ योर कन्ट्री’ भन्ने गानाको ठाउँमा उनले ‘हेट योर वाइफ, लभ योर मिस्ट्रेस’ भन्ने शब्द राखेर प्यारोडी बनाएका थिए । सैन्य अधिकारीको यस गल्तीलाई ‘विद्रोह’को संज्ञा दिँदै किमले उनलाई मृत्युदण्डको आदेश दिएका थिए । देशको सर्वोच्च नेताका रूपमा रहेका उनले एक सन्देश जारी गर्दै ‘जिम्मेवार सैनिक अधिकारीले विद्रोहको सङ्केत दिएको’ आरोप लगाएका थिए । यसरी नेसनल एन्थमलाई व्यङ्ग्यात्मक शैलीमा गाएको भोलिपल्टै घरबाट थुतेर ती सैन्य अधिकारीलाई गोली हानिएको थियो ।