क्याबिनेट नै विवादमा
खेलकुदको ऐन–कानुनलाई धोती लगाउँदै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई विघटन गरेपछि उनको गैरकानुनी हर्कतको पर्दाफास भएको छ । केही समय पहिले मन्त्री पौडेलले क्यान निष्क्रिय रहेको आरोप लगाउँदै मन्त्रिपरिषद्बाट क्यानलाई विघटन गरेका थिए । खेलकुद ऐनको ठाडो उल्लङ्घन गर्दै तानाशाही हर्कत देखाउँदै उक्त निर्णय गरे पनि अहिले उक्त निर्णय मन्त्री पौडेलका लागि निल्नु न ओकल्नु बनेको छ । मन्त्री पौडेलको यो गैरकानुनी हर्कतको यत्रतत्र सर्वत्र विरोध भएपछि उनी अहिले आफूले थापेको पासोमा नराम्रोसँग फसेका छन् । खेलकुदको कानुनलाई बुटले कुल्चिएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ उद्यत् देखिएका पौडेलले हानेको छक्का अहिले ‘छक्का’ले हानेको छक्काजस्तै हुनपुगेको छ । अर्थात्, त्यो निर्णय छक्काको स्वरूपमा देखिएको छ । निर्णय बीचबाटैमा अलप हुँदै तुहिन पुगेको छ । मन्त्री पौडेल भ्यागुतोझैं पल्टिन पुगेका छन् ।
खेलकुदमन्त्रीको सिफारिसमा गत साता मन्त्रिपरिषद्ले नेपाल क्रिकेट सङ्घ क्यान विघटन गरेको मन्त्री पौडेलले सञ्चारमाध्यमसामु खुलासा गरेका थिए । सो अवसरमा पौडेलले तीनजनाको तदर्थ समिति बनाएको पनि बताएका थिए । मन्त्री पौडेलले क्यान विघटन गरेर सार्वजनिक रूपमा हल्ला फैलाएको अहिले दुई साता बितिसक्दासमेत क्याबिनेटले यसबारे स्पष्ट रूपमा केही नबोल्नुका पछाडिको रहस्य के हो ? त्यो बुझिनसक्नु भएको छ । अर्को कुरा क्याबिनेटको निर्णय निष्क्रिय हुनुको कारण के हो ? त्यो पनि थाहा हुन सकेको छैन । प्राप्त जानकारीअनुसार मन्त्रिपरिषद्ले आफ्नो निर्णय २४ देखि ७२ घन्टासम्म गोप्य राख्न सक्छ । त्यसपछि त्यसलाई कार्यान्वयनका लागि अगाडि बढाउने गर्छ । तर, अहिले यतिका दिन बितिसक्दासमेत मन्त्रिपरिषद्ले यो निर्णयलाई किन गोप्य राखेको हो त्यो चर्चा र खोजीको विषय बनेको छ ।
क्रिकेट विघटनको चर्चाले शिखर छोइरहेको अवस्थामा क्याबिनेटको निर्णय नै सार्वजनिक नहुनुले अहिले खेलकुदमा अन्योल बढेको छ । प्राप्त जानकारीअनुसार मुख्यसचिव लीलामणि पौडेलले मन्त्रिपरिषद्को निर्णयपुस्तिकामा यो निर्णयलाई उल्लेख नगरेको थाहा भएको छ । यदि सो निर्णय निर्णयपुस्तिका उल्लेख भएको भए क्याबिनेटले खेलकुद मन्त्रालयलाई पत्राचार गरिसक्ने र प्रक्रिया अगाडि बढिसक्ने स्रोतको दाबी छ । यही कारणले गर्दा विघटनमा परेकाहरूले अहिलेसम्म पत्र प्राप्त गर्न नसकेको र तदर्थ समितिका पदाधिकारीहरूलाई मन्त्री पौडेलले पत्र थमाउने अवसर नपाएको व्यापक चर्चा चलेको छ । सुनिनमा आएअनुसार बोर्ड छँदाछँदै मन्त्री पौडेलले किन क्याबिनेटबाट निर्णय गराए त्यसको खोजी भइरहेकाले अहिलेसम्म पत्राचार नगरिएको थाहा भएको छ । कुरो जे भए पनि सबैभन्दा महŒवपूर्ण कुरा भनेको क्याबिनेट निर्णय हो । सो निर्णय समयमै सार्वजनिक हुनुपथ्र्यो । तर, त्यस्तो किन भएन त्यो अहिले लज्जाजनक कुरो भएको छ । यदि मन्त्री पौडेलले झुटको खेती गर्दै मन्त्रिपरिषद्को मानमर्दन गरेका हुन् भने उनलाई किन कानुनी कठघरामा उभ्याइएको छैन त्यो गम्भीर विषय बनेको छ ।
क्रिकेट सङ्घमा विवाद चुलिएपछि राष्ट्रिय खेलकुद परिषद्ले गत असार १५ गते सो सम्बन्धमा आवश्यक छलफल गरी निर्णय गर्न अत्यन्त जरुरी भएकाले अविलम्ब परिषद्को बोर्ड बैठक बस्न उपयुक्त देखिएको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पत्राचार गरेको थियो । उक्त पत्रमा राखेपले परिषद्लाई निर्देशन पत्र प्राप्त भएको र सोहीबमोजिम नेपाल क्रिकेट सङ्घलाई निर्देशन पत्र पठाएको पत्र उल्लेख गरेको छ । परिषद्ले यसको बोधार्थ राखेपका संरक्षक प्रधानमन्त्री र अध्यक्ष खेलकुद मन्त्रालयलाई समेत पठाएको पत्रमा स्पष्ट रूपमा उल्लेख छ । सो पत्र दुवै संस्थामा दर्ता भएको पत्रमा लगाइएको कार्यालयको छापले प्रस्ट पारेको छ । यसअघि खेलकुद मन्त्रालयले असार १२ गते राखेपलाई पत्राचार गर्दै क्रिकेट सङ्घ तथा सोभित्रका विविध आर्थिक तथा अन्य पक्षको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको पत्रको सम्बन्धमा ध्यानाकर्षण गराउँदै असार ४ गते भएको निर्णय कार्यान्वयन गरी जानकारी गराउन निर्देशन दिएको थियो । उक्त पत्रमा खेलकुद मन्त्रालयले दिएको निर्देशन राखेपबाट कार्यान्वयन नभएमा परिषद् पनि कारबाहीको भागीदार हुनुपर्ने व्यहोरा उल्लेख गरिएको थियो । पत्रमा राखेपले खेलकुद विकास ऐन ०४८ मा सम्माननीय प्रधानमन्त्री राखेपको संरक्षक र खेलकुदमन्त्री अध्यक्ष हुने व्यवस्था रहेको खुलासा गरेपछि परिषद्लाई कारबाही गर्ने मुद्दाबाट मन्त्री पौडेल हटेको प्रस्ट रूपमा थाहा पाउन सकिन्छ ।
यसरी क्रिकेटका पदाधिकारीलाई कारबाही गर्न वैधानिक बाटो अर्थात् परिषद्को बोर्ड बैठक हुँदाहुँदै मन्त्री पौडेलले किन क्याबिनेटमा लगेर ६ महिनापछि गैरकानुनी निर्णय गराए त्यो अहिले सबैको चासोको विषय बनेको छ । राखेपले असार १५ गते नै मन्त्री पौडेललाई पत्राचार गर्दै क्रिकेट विवादको समाधानका लागि पत्राचार गरे पनि मन्त्री पौडेलले किन यो पत्रलाई बेवास्ता गरे यसमा उनको स्वार्थ र षड्यन्त्र लुकेको प्रस्ट रूपमा देखिन्छ । अन्यथा कानुनसम्मत समस्याको समाधान हुने बाटो छँदाछँदै पौडेलले किन गैरकानुनी बाटो रोजे सोझै अड्कल र अनुमान लगाउन सकिन्छ । क्रिकेटका पदाधिकारीलाई भ्रष्टाचारको आरोप लागेर अख्तियारले निलम्बन गरेको अवस्थामा बोर्डको निर्णय उनीहरूलाई हटाउनका लागि रामवाण सिद्ध हुन्थ्यो । यस्तो अवस्थामा तिनै पार्टीका कार्यकर्तालाई भागबन्डा गरेर क्रिकेटमा हुल्न सक्ने अवसर पनि थियो । तर, मन्त्री पौडेलले त्यसो गरेनन्, क्रिकेटमा एमालेको एक्लो रजाइँको सपना देखे । परिणाम उनले ६ महिनापछि गैरकानुनी निर्णय गर्दै क्रिकेटको विघटन गर्दै मन्त्रिपरिषद्लाई समेत विवादमा तान्न सफल भए । प्राप्त जानकारीअनुसार क्रिकेटलाई विघटन गर्न क्याबिनेटमा सिफारिस गर्ने क्रममा मन्त्री पौडेलले क्रिकेट सङ्घ विघटन नगरे क्रिकेट नै सिद्धिने, जसरी पनि क्रिकेट सङ्घ विघटन गर्नुपर्ने भनेर प्रस्तुत भएको उपप्रधानमन्त्री प्रकाशमान सिंहले सार्वजनिक समारोहमै वताएका छन् । अहिले क्यान विघटनको विरोध र गैरकानुनी भएको चर्चा चलेको भन्दै सिंहले त्यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । सिंहले कानुनी राज्यमा कानुनको पालना हुने भन्दै कानुनभन्दा माथि कोही नभएकोसमेत प्रस्ट पारेका थिए ।
मन्त्री पौडेलले नेपाल क्रिकेट सङ्घ (क्यान) विघटन गरेको ढोल सार्वजनिक रूपमा पिटे पनि अहिलेसम्म विघटन गरेका हुन् या पुनर्गठन त्यसको औचित्य प्रमाणित गर्न सकेका छैनन् । विघटन गरेका हुन् भने बाहिरबाट मान्छे राख्नुपथ्र्यो, त्यो अहिलेसम्म सम्भव भएको छैन । यदि पुनर्गठन गरेका हुन् भने क्यानको निर्वाचित कमिटीका व्यक्तिहरूलाई राख्न सक्नुपथ्र्यो, त्यो पनि अहिले हुन सकेको छैन । त्यसैले क्यान विघटन भएको हो या पुनर्गठन त्यो अहिलेसम्म कसैले अडकल र अनुमान लगाउन सकेको छैन । अझ क्यानको विघटन क्याबिनेटले गरेको सार्वजनिक रूपमा हल्ला चले पनि क्याबिनेटले अहिलेसम्म उक्त निर्णयलाई गोप्य राख्नुले सत्यतथ्य बाहिर आउन सकेको छैन । यसर्थ खेलकुदमन्त्री पौडेलले क्यानको विघटन क्याबिनेटबाट भएको बताए पनि त्यो प्रश्नचिह्नको घेरामा परेको छ । क्याबिनेटले निर्णय बाहिर नल्याएपछि अहिले मन्त्री पौडेल हिस्स बूढी खिस्स दाँत देखाउँदै आफ्नो गल्ती लुकाउन विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिँडेका छन् । तसर्थ मन्त्री पौडेलको यस्तो बजारू निर्णयको अहिले खेलकुद क्षेत्रमा व्यापक विरोध भइरहेको छ ।
विघटन, पुनर्गठन अनि निलम्बन
मन्त्रिपरिषद्ले विघटन गरिएको भनिएको नेपाल क्रिकेट सङ्घ (क्यान)को बारेमा मौनता साँध्दै लामो समयसम्म मन्त्रिपरिषद्ले खेलकुद मन्त्रालयलाई पत्राचार नगरेपछि हालै खेलकुद मन्त्रालयले क्यानको कार्यसमिति विघटन, पुनर्गठन नभई निलम्बन गरेको जनाएको छ । अघिल्लो साता मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले क्यानको पुनर्गठन भएको बताएका थिए । सञ्चारमन्त्री रिजालले क्यानको पुनर्गठन भएको बताए पनि उक्त निर्णयबारे मन्त्रिपरिषद्ले लामो समयसम्म पत्राचार नगरेपछि निर्णयको औचित्यबारे नै प्रश्न खडा भएको थियो । हालै मन्त्रालयका सहसचिव तथा प्रवक्ता चूडामणि पौडेलले क्यानलाई निलम्बन गरिएको बताएका छन् । उनले अहिलेसम्म पनि सरकारको आधिकारिक निर्णय आउन बाँकी रहेको जानकारी गराउँदै भने, ‘मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले कार्यान्वयन गरेको हो, उक्त निर्णय राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्नुपर्ने जिकिर गरेका थिए ।’ साथै नवगठित तदर्थ समितिलाई आवश्यकताअनुसार नौ सदस्यीय बनाउनसमेत निर्देशन दिएको जानकारी गराएका थिए । त्यस्तै तदर्थ समितिले एक वर्षभित्रमा साधारणसभा गर्न नसके मन्त्रालयले अर्को निर्णय गर्नेसमेत सो अवसरमा बताएका थिए । प्राप्त जानकारीअनुसार क्यानको पुनर्गठनबारे कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णय कमजोर देखिएको र यसले सरकारलाई समेत विवादमा तान्न सक्ने भएकाले यसको जिम्मेवारी मन्त्रालयलाई नै दिइएको थाहा भएको छ ।
खेल समाचार
कुकिवानद्वारा गुरुङलाई ‘मास्टर’ पदवी
तेक्वान्दोका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङलाई कुकिवानले तेक्वान्दोको ‘मास्टर’ पदवी दिएको छ । गुरुङ कुकिवानले लिएको दोस्रो श्रेणीको तेक्वान्दो परीक्षामा पास भएपछि उनलाई ‘मास्टर’को उपाधि प्रदान गरिएको हो । गुरुङले १३ अगस्ट २०१४ मा कुकिवानबाट मास्टरको उपाधि प्राप्त गरेका हुन् । मास्टर भनेको सिकाउने क्षमता भएको व्यक्तिको रूपमा चिनिन्छ । कुकिवानको परीक्षामा पास भएपछि अब उनको रेटिङ बढेर दोस्रो श्रेणीमा पुगेको छ । नेपाली तेक्वान्दोको इतिहासमा नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङपछि यस्तो उपलब्धि हासिल गर्ने उनी दोस्रो व्यक्ति हुन् । तेक्वान्दोमा पहिलोे, दोस्रो र तेस्रो श्रेणी हुन्छ ।
ध्रुवबहादुर गुरुङले मास्टरको उपाधि हासिल गरेपछि अब उनले विश्वको जुनसुकै कुनामा पनि तेक्वान्दो क्लब खोल्न पाउनेछन् । त्यस्तै दोस्रो श्रेणीको टे«निङ प्राप्त गरेपछि विश्वकै पाँचौँ ‘डान’सम्मलाई गुरुङले ग्रेडिङ लिई ‘डान’ प्रदान गर्न सक्नेछन् । यसअघि गुरुङलाई नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोे श्रेणीको मास्टर्स कोर्स गर्न कोरिया पठाए पनि सङ्घको लापरबाहीले गर्दा अर्थात् छैटौँ डानको ढिलो इन्ट्री गरेकाले उनले उक्त टे«निङ लिनबाट वञ्चित हुनुपरेको थियो । आफ्नै खर्चमा उक्त टे«निङ लिन दक्षिण कोरिया पुगेका गुरुङको त्यसबेला तीन लाख रुपैयाँ खर्च भएको थियो । उक्त रकम सङ्घले अहिलेसम्म उनलाई प्रदान गरेको छैन । यसका लागि उनले सम्बन्धित निकायमा जति हारगुहार गरे पनि अहिलेसम्म राहत पाउन सकेका छैनन् । स्मरण रहोस, रेफ्री र मास्टर कोर्सका लागि सङ्घ र राखेपले सहयोग गर्दै आएको छ ।
तेक्वान्दामा ध्रुवबहादुर गुरुङ दीपराज गुरुङपछि सबैभन्दा सिनियर प्रशिक्षकमा पर्छन् । उनले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेर राष्ट्रको झन्डा अन्तर्राष्ट्रमा फहराउन सफल भइसकेका छन् । उनले राष्ट्रका लागि ०४१ देखि ०४६ सम्म पदक जितेका थिए । त्यस्तै नेपालले १९९८ मा थाइल्यान्डमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा सविताराज भण्डारीले रजत पदक जित्दा गुरुङ राष्ट्रिय टिमका प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा सविताले नेपाललाई एसियाडमा पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । त्यसपछि उनको महŒवपूर्ण योगदानको कदर गर्दै नेपाल तेक्वान्दो सङ्घले गुरुङलाई पचास हजार नगद पुरस्कारसहित सम्मानित गरेको थियो । गुरुङ अहिले तेक्वान्दोका छैटौँ डान प्राप्त प्रशिक्षक हुन् ।
राष्ट्रिय करातेमा नेपाल आर्मी च्याम्पियन
सर्वमान्य नेता स्व. गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा आयोजित ४४औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । आर्मी पाँच स्वर्ण, तीन रजत र सात कास्यका साथ पहिलोपटक करातेमा टिम च्याम्पियन बनेको हो । पाँच स्वर्ण, दुई रजत र चार कास्यका साथ नेपाल प्रहरी दोस्रो भयो । एपीएफ क्लबले चार स्वर्ण, पाँच रजत र तीन कास्य हात पार्दै तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपाल र नेपाल कराते महासङ्घद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा मुकुन्द महर्जन र महिलामा अनु अधिकारी उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय टिमबाट खेलेका उत्कृष्टद्वय एपीएफमा आबद्ध छन् । पूर्वाञ्चलले अनुशासित टिमको उपाधि हात पारेको थियो । चापागाउँमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषमा दुई र महिलामा एक स्वर्णका लागि भिडन्त भएको थियो ।
विजेतालाई आयोजक गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपालका संरक्षक तथा उपप्रधान तथा स्थानीय विकास एवम् सङ्घीय मामिलामन्त्री प्रकाशमान सिंहले पुरस्कृत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै नयाँ पिँढीलाई खेलमा आकर्षित गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरेका थिए । तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, प्रहरी, आर्मी, एपीएफ, विश्वविद्यालय र राष्ट्रिय टिम गरी १० टिमका दुई सय २० खेलाडीले १७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
ललितपुरको चापागाउँमा भएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले प्रतियोगिता सहसंयोजक, पूर्वकराते खेलाडी तथा नेपाली काङ्ग्रेसका युवा नेता मीनकृष्ण महर्जन र चर्चित कराते खेलाडी दीपक श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका थिए । दुवै खेलाडीले कराते खेलको विकास र विस्तारमा अहम् भूमिका निर्वाह गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा उचो पार्न सफल भएबापत आयोजक गणेशमान सिंह शान्ति प्रतिष्ठानले सम्मान गरेको थियो । दुवै खेलाडीले अन्तर्राष्ट्रियस्तरमा करातेमा स्वर्ण पदक जितेका थिए ।
संगकर आइस हक्की सङ्घको मानार्थ सदस्य
नेपाल आइस हक्की सङ्घले संगकर प्रसादलाई मानार्थ सदस्य प्रदान गरेको छ । उनले नेपाली खेलकुदको विकास र विस्तारमा विदेशमा रहेर पनि महŒवपूर्ण भूमिका खेलेका कारण आइस हक्की सङ्घले मानार्थ सदस्यता प्रदान गरेको हो । सो अवसरमा नेपालमा आइस हक्की खेलको विकास र विस्तारमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने जिम्मेवारीसहित उनलाई न्युजिल्यान्डमा प्रतिनिधिका रूपमा मनोनयनसमेत गरिएको जानकारी गराइएको थियो ।
नेपालको गुल्मी जिल्ला पुर्खौली घर भएका संगकर प्रसाद दोस्रो विश्वयुद्धमा मलायामा कार्यरत उनको बुबासँग दोस्रो विश्वयुद्ध समाप्तपछि मलेसियामा नै बसोबास गरेका थिए । मलेसियन सरकारले सो समयमा धेरै नेपालीलाई बसोबास गर्न रवाङ भन्ने स्थानमा जग्गा प्रदान गरी करिब तीन सय परिवारलाई स्थायी रूपमा बसोबासको व्यवस्था मिलाएको थियो । त्यसपछि उनका बुबाले अन्य सहकर्मीसँग मिली मलेसियाको क्वालालम्पुरमा गोर्खा सेक्युरिटी गार्ड कम्पनीको स्थापना गरी आफ्नो व्यापार–व्यवसाय सुरु गरेका थिए । संगकरको मलेसियामा नै जन्म भएको थियो ।
नेपालको राष्ट्रिय फुटबल टिमले १९८३ मा मलेसियामा आयोजना हुने प्रतिष्ठित मर्डेका कपमा सहभागी हुँदा नेपालको खेल हेर्न आएको नेपाली दर्शकको बीचमा संगकर प्रसाद पनि एक थिए । यहीँबाट उनको नेपाली खेलाडीसँग गहिरो सम्बन्ध गाँगिएको थियो । १९९१ मा नेपालमा पहिलोपल्ट निजी क्षेत्रबाट आयोजना भएको टानकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागी मलेसियाको दोस्रो राष्ट्रिय टिमको उनी मुख्य संयोजकका रूपमा संलग्न भई टिमलाई संलग्न गराउन अहम् भूमिका खेलेका थिए । त्यसपछि विभिन्न समयमा नेपालप्रतिको उनको माया विस्तार हुँदै गएको छ । केही समयअघिदेखि उनी न्युजिल्यान्डमा बसोबास गर्दै आएका छन् ।
उल्टोबाट अस्ट्रेलियाको सर्वोच्च शिखर आरोहण गर्ने
उल्टो हिँडेर अस्ट्रेलियाको सर्वोच्च शिखर आरोहण गर्ने घोषणा गरेका अल्ट्रा धावक एवम् कीर्तिमानी हिमआरोही सञ्जय पण्डितलाई युवा तथा खेलकुद मन्त्रालयमा बिदाइ तथा शुभकामना प्रदान गरिएको छ । माउन्टेनेरिङ तथा रक क्लाइम्बिङ सङ्घ नेपालले गरेको बिदाइ एवम् शुभकामना कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, खेलकुदसचिव दीपेन्द्र शर्मा, सहसचिव चूडामणि पौडेल तथा सङ्घका कार्यवाहक अध्यक्ष पुष्कर शाहले संयुक्त रूपमा हिउँ बन्चरो, नेपालको राष्ट्रिय झन्डा तथा सङ्घको झन्डा चुचुरोमा फहराउन हस्तान्तरण गरेका थिए । धावक पण्डितले उल्टो हिँडेर सफलतापूर्वक आरोेहण गर्ने कुरामा आफू विश्वस्त रहँदै अस्टे«लियामा दश ठूला पर्वत आरोहण गर्ने कुराको जानकारी दिँदै सबै चुचुरामा नेपालको राष्ट्रिय पोसाक दौरा, सुरुवाल तथा भादगाउँले टोपी र राष्ट्रिय गीत घन्काई कीर्तिमान बनाउन लागेको कुराको पनि खुलासा गरेका थिए ।
कार्यक्रममा मन्त्री पौडेलले आरोहणपश्चात् पण्डितलाई राष्ट्रिय सम्मानका साथ सम्मान गर्ने कुराको जानकारी दिएका थिए ।
फुटबललाई मनकामनाको दश लाख
मनकामना दर्शन प्रा.लि.ले फुटबललाई साथ दिँदै प्रायोजकको रूपमा पनि आफूलाई उभ्याएको छ । संस्थाका प्रबन्ध–निर्देशक राजेशबाबु श्रेष्ठ र कास्की जिल्ला फुटबल सङ्घका तर्फबाट अध्यक्ष धर्मबहादुर लामिछानेले हालै सम्झौतापत्रमा हस्ताक्षर गर्दै कास्कीमा हुने पोखरा कप फुटबलका लागि वार्षिक १० लाख दिने सम्झौता भएको हो । विगत तीन वर्षदेखि सुजल फुडको उत्पादन सफल दूधको नाममा सफल पोखरा कपको नाममा सञ्चालन हुँदै आइरहेको प्रतियोगिता आगामी तीन वर्ष मनकामना केबुलकार पोखरा कपको नाममा सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले खेलाडीको कला–कौशलता प्रदर्शन गर्ने र प्रतिभा निखार्ने ठाउँ खेलकुद भए तापनि प्रतियोगिता सञ्चालन गर्न र आर्थिक व्यवस्था गर्न आयोजकलाई कठिनाइ हुने भएकाले निजीक्षेत्रलाई खेलकुदमा प्रायोजन गर्ने संस्कृतिका विकास गर्नुपर्ने बताएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलक्षेत्रमा निजीक्षेत्रको लगानीका खाँचो रहेको अवस्थामा यो कार्यले महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले लिगमा समाविष्ट भएका क्लबहरूलाई मात्र प्रतियोगितामा समावेश गरिनाले खेलक्षेत्र र खेलाडी उत्पादनमा खासै राम्रो परिणाम नआउने भन्दै स्थानीय क्लबहरूलाई समावेश गरेर प्रतियोगिता आयोजना गर्दा खेलाडी उत्पादनमा सहयोग पुग्ने र खेलाडीले आफूलाई प्रतिभा प्रदर्शनमार्फत अगाडि ल्याउन सहयोग पुग्ने बताएका थिए । मुख्य प्रायोजक मनकामना दर्शन प्रालिका प्रबन्ध–निर्देशक राजेशबाबु श्रेष्ठले व्यावसायिक सामाजिक दायित्वअन्तर्गत विकास निर्माण, शिक्षा तथा सामाजिक कार्यमा सहयोग गर्दै आएकोमा समाजमा स्वस्थ नागरिक उत्पादन गर्ने थलो खेलकुदमा पनि हात हाल्न लागेको बताएका थिए । उनले संस्थाले कुनै नाफाको आशा नलिई सामाजिक दायित्वअन्तर्गत शारीरिक सुगठनमा पाँच वर्षका लागि पाँच लाखका दरले प्रायोजन गरेको बताउँदै फुटबलमा पनि पहिलो चरणमा तीन वर्षका लागि प्रायोजन गर्न लागेको बताएका थिए ।
प्रथम सहयोगदाता अवाले सम्मानित
महेन्द्रनगरमा निर्माण भएको आधुनिक बक्सिङ प्रशिक्षण केन्द्रको शिलान्यासपछि पहिलोपटक सहयोग गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ । दुई वर्षअघि हल निर्माणका क्रममा सहयोग पु-याएको भन्दै जिल्ला बक्सिङ सङ्घ कञ्चनपुरले बक्सिङ हल उद्घाटनका अवसरमा पूर्वअन्तर्राष्ट्रिय बक्सर एवम् उद्योगी राम अवालेलाई दोसल्ला ओडाएर सम्मान गरेको हो । अवालेले हल निर्माणका लागि ६० हजार सहयोग गरेका थिए । अवाले प्रथम साफका रजत पदक विजेतासमेत रहेको जिल्ला बक्सिङ सङ्घका सचिव शेरबहादुर सिंहले बताएका छन् ।
दुई वर्षअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले भवनको शिलान्यास गरेका थिए । त्यसलगत्तै बक्सिङ सङ्घको आग्रहपछि अवालेले ललितपुरबाट ६० हजारको सहयोग गरेका थिए । यसअघि पनि सुदूरपश्चिममा आयोजित केशव स्मृित बक्सिङ प्रतियोगितामा समेत अवालेले सहयोग गरेका थिए । बक्सिङ क्षेत्रको विकासमा पु-याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको जिल्ला बक्सिङ सङ्घले जनाएको छ । भवन उ्दघाटन समारोहमा जिल्ला बक्सिङ सङ्घका अध्यक्ष लोकबहादुर कठुराठीले दोसल्ला र सम्मानपत्र प्रदान गरी अवालेलाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्री नं. २५ बाहिनीका बाहिनीपति सहायरथी गंगाबहादुर गुरुङलगायतका कार्यक्रममा सहभागी खेलप्रेमीहरूले अवालेको योगदानको प्रशंसासमेत गरेका थिए ।
५२ लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त केन्द्र निर्माणमा जनशक्ति र निर्माण सामग्रीको लागतमा समेत ५० प्रतिशत लगानी नेपाली सेनाले गरेको छ । नेपाली सेनाले सैनिक जनशक्ति र प्रदान गरेको निर्माण सामग्रीको खर्च करिब २२ देखि २५ लाखसम्म रहेको छ । बाँकी रकम विभिन्न निकायको सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको बक्सिङ प्रशिक्षण केन्द्रका प्रशिक्षक तथा ओलम्पियन डम्बरदत्त भट्टले जानकारी दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट पाँच लाख तथा कञ्चनपुरका सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, व्यापारीले २० प्रतिशत रकम सहयोग गरेका थिए । अवालेका साथै सहायक रथी गंगाबहादुर गुरुङ, वरिष्ठ पत्रकार चित्रांग थापालाई समेत सङ्घले सम्मानित गरेको थियो । भवन निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट पाँच लाख तथा कञ्चनपुरका सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, व्यापारीले २० प्रतिशत रकम सहयोग गरेका थिए । अवालेका साथै बक्सिङ सङ्घ कञ्चनपुरले सहायकरथी गंगाबहादुर गुरुङका साथै वरिष्ठ पत्रकार चित्रांग थापालाई समेत सम्मान गरेको थियो ।
प्रतिक्रिया