सिरिसेनालाई संसदको झड्का

सिरिसेनालाई संसदको झड्का


श्रीलंकाको संसदले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनर्स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । बुधबार भएको मतदानमा ठूलो संख्यामा सांसदले विक्रमासिंघेलाई पुनर्स्थापित गर्नुपर्ने पक्षमा मतदान गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

शक्तिसंघर्ष थप चर्किन नदिनका लागि यो नै सबैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसदद्वारा पारित प्रस्तावमा उल्लेख छ । विक्रमासिंघेको पार्टीबाट संसदमा सदस्य रहेका र त्यससँग गठबन्धन गरेको पार्टीबाट सदस्य भएका गरी संसदको कुल ११७ जना सदस्यले उनको पुनस्र्थापनाको पक्षमा मतदान गरेका हुन् ।

उनीहरूले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षणसमेत गराएको समाचारमा जनाइएको छ । ‘मलाई विश्वासको मत दिएर संसदले मेरो पुनस्र्थापनाको निर्णय गरेको छ, त्यसले गत अक्टोबर २६ मा भएको गलत काम सच्याउने मौका दिएको छ,’ संसदको निर्णयपछि विक्रमासिंघेले बताए ।

सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेलाई अपदस्थ गरेर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, संसद र अदालत दुवैले त्यो नियुक्तिलाई अवैध भन्दै खारेज गरिदिएका थिए भने विक्रमासिंघे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् ।