रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2एटीएमबाट सुन
एटीएम मेसिनबाट नगद निस्कने गरेको त सबैले देख्दै आएको कुरा नै हो । तर, एटीएमबाट सुन नै निस्कन्छ भन्दाचाहिँ हामीमध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ । हो, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा यो सुविधा उपलब्ध छ । यस मामलामा विश्वकै अनौठो देश हुन पुगेको छ यूएई । दुबईका एटीएमभित्र कार्ड राखेर तपाईं पनि सुन निकाल्न सक्नुहुन्छ, तर यसका लागि त्यहाँ तपाईंको बैंक एकाउन्टचाहिँ हुनैपर्छ । दुबई सुनको निम्ति सौखिन सहर मानिन्छ भने सुनका कफी एन्ड टी हाउस, सुनकै कार, सुनका शौचालयजस्ता कुराले यसलाई बेलाबेलामा चर्चामा ल्याइरहन्छ ।

एड्सको उपचारमा गाईको दूध
ख्तरनाक रोग एड्सको हालसम्म कुनै ठोस उपचार फेला परेको छैन तापनि रोगप्रतिरोधात्मक उपायहरू अवलम्बन गरिँदै आएको छ । तर, सम्बन्धित औषधीय विशेषताका कारण साना बालबच्चाका लागि उपचारविधि नै कठिन बनिरहेको अवस्था छ । यही समस्याबाट पार पाउन खोज–अनुसन्धान गर्दै आएको वैज्ञानिक समूहलाई ठूलै सफलता मिलेको छ । हालैको एक नयाँ सोधबाट एचआईभी÷एड्स सङ्क्रमित दूधेबालकको उपचारका लागि गाईको दूध उपयोगी हुन सक्ने पत्ता लागेको छ । गाईको दूधमा एक प्रोटिनको संरचनामा फेरबदल गरेर यसमा एन्टी–रेट्रोभाइरल औषधिलाई घुलनशील तुल्याउने नयाँ तरिका खोजिएको छ, जसबाट गाईको दूध बच्चाको एड्स उपचारमा अत्यन्त उपयोग सावित हुने देखिएको हो । अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका प्रोफेसर फेटेरिको हार्टका अनुसार एड्सको उपचारमा प्रयोग गरिने एन्टिरेट्रोभाइरल औषधि पानीमा घुलनशील नहुने हुनाले बच्चाको शरीरमा भिœयाउन कठिन हुन्छ । शोधबाट पत्ता लाग्यो कि स्तनपायी प्राणीको दूधमा पाइने केन्सिस प्रोटिन आमाबाट बच्चामा एमिनो एसिड तथा क्याल्सियम वितरण गर्ने प्राकृतिक व्यवस्था भएकाले यसैको माध्यमबाट औषधिका अणुहरूलाई पनि शरीरमा वितरित गर्न सकिन्छ । एड्सको उपचारमा प्रयोग गरिने रिटानोवीर औषधिका अणुलाई बच्चाको शरीरमा पठाउनका लागि रिटानोवीरयुक्त दूधको पाउडर प्रयोग गरिने विधि पत्ता लगाएबाट अब जन्मजात एड्स भएका बच्चाको उपचार सम्भव हुने भएको शोधकर्ताहरूको दाबी छ ।

ब्रेन क्यान्सर र मोबाइलको साइनो
यदि तपाईं ज्यादा नै फोन प्रयोग गर्ने गर्नुहुन्छ भने तपाईंका लागि दुःखद् खबर छ । फोनमा धेरै समय कुरा गर्दा ब्रेन क्यान्सरको सम्भावना अत्यन्त बढ्ने स्वीडेनका वैज्ञानिकहरूले खुलासा गरेका छन् । जो व्यक्ति मोबाइल तथा कर्डलेस फोनमा २५ वर्षभन्दा ज्यादा कुराकानी गर्छ, उसलाई ब्रेन क्यान्सरको खतरा तीन गुणा बढ्ने अनुसन्धानकर्ताको दाबी छ । मोबाइल फोनबाट लगातार रेडियो तरङ्ग निस्कने हुँदा त्यसलाई मस्तिष्कनजिक जति बढी समय टाँसिराखिन्छ, ब्रेन क्यान्सरको खतरा उत्ति नै बढिरहेको हुन्छ । यस्तै दाबी यसअघि अमेरिकाको एक रिसर्च कम्पनीले पनि गरिसकेको छ । करिब १४ सय व्यक्तिमाथि अनुसन्धान पूरा भएपछि फोनमा कम कुराकानी गर्नेको तुलनामा ज्यादा मोबाइल प्रयोग गर्नेलाई ब्रेन क्यान्सरको खतरा तीव्र बन्ने दाबी गरिएको हो ।

खुट्टाबिना जो जिम्न्यास्टिकमा चम्किइन्
संसारमा हजारौँ यस्ता बालबालिका छन् जो असाधारण या अपाहिज रूपमा जन्म लिएका हुन्छन् । तर, यसरी अपाहिज रूपमा जन्मनुको अर्थ यो हुन सक्दैन कि तिनले आफ्ना सपना, इच्छा वा चाहनालाई कुण्ठित तुल्याएर बाँचुन् । उनीहरू पनि सामान्य मानिसले जस्तै केही गरेर अघि बढ्न चाहन्छन् । यस्तैमध्येकी एक हुन् क्यालिफोर्नियाकी २७ वर्षीया जेन ब्रिकर पनि । जेन जन्मजात नै घुँडामुन्तिरको खुट्टाबिना जन्मेकी थिइन् । तथापि उनले यस्तो विधालाई आफ्नो करियर बनाउने उद्देश्य लिइन् जसका लागि खुट्टा अपरिहार्य मानिन्छ । उनले जिम्न्यास्टिकलाई आफ्नो पेसा छानिन् । खुट्टाबिना जिम्न्यास्टिक पेसा अपनाउनु र त्यसमा सफलता हासिल गर्नु आफैँमा एक ठूलो उपलब्धि हो । यस्तै असामान्य काम गरेर देखाइन् जेनले । ओलम्पिक विजेता विख्यात जिम्न्यास्टिक अमेरिकन डोमनिक मुकैनुलाई आफ्नो आदर्श मान्ने जेनले उनैलाई प्रेरणाको स्रोत मान्दै अभ्यास गर्दै गइन् । सानै उमेरदेखि उनी खेलकुदको सौखिन रहिन् र सफ्टबल, भलिबल र जिम्न्यास्टिक खेल्न थालिन् । आज उनी एक एक्रोब्याट, एरिसलिस्ट र मोटिभेसनल स्पीकरको रूपमा समेत आफ्नो ख्याति फैलाइरहेकी छिन् ।