नेपाली उद्योगले बार्षिक १ करोड टन सिमेन्ट उत्पादन गर्दै

नेपाली उद्योगले बार्षिक १ करोड टन सिमेन्ट उत्पादन गर्दै


–छविलाल बगाले
नेपालमा सिमेन्टको इतिहास त्यती लामो छैन् । चार दशक अघिमात्रै सरकारी लगानीमा हिमाल सिमेन्टले मुलुकमा पहिलो उत्पादन थालेको थियो । बर्षेनी ठूलो परिमाणमा सिमेन्ट आयात भइरहेको बेला स्वदेशी उद्योगहरुले संचालन गरेका उद्योगहरुले पनि मुलुकभित्रको माग धान्ने हैसियतमा पुगेका छन् । उत्पादन शुरु भएको चार दशकपछि नेपाल सिमेन्टमा आत्मनिर्भर बनेको छ ।

बर्षेनी विदेशबाट अर्बौंको सिमेन्ट आयात हुने गरेपनि पछिल्ला केही बर्षयता आयातमा कमी आएको हो । ४० बर्षअघि सरकारी लगानीको हिमाल सिमेन्टले मुलुकभित्र पहिलोपटक सिमेन्ट उत्पादन थालेपनि करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योग खुलेपछि आत्मनिर्भर बनेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले बताए । मुलुकभरीका ५४ सिमेन्ट उद्योगले आर्थिक बर्ष २०७४-७५ मा ८५ लाख टन सिमेन्ट उत्पादन गरेका थिए । जबकि गतबर्ष ९० लाख टन सिमेन्टको माग थियो ।

प्रत्येक बर्ष मुलुकभित्र ठूला सिमेन्ट उद्योगको संख्या र उत्पादन क्षमतामा पनि बृद्धि हुँदै गइरहेको छ । नेपाली सिमेन्ट उद्योगले अहिले बार्षिक १ करोड टन र दैनिक ३६ हजार टन सिमेन्ट उत्पादन गर्दैै आएका छन् । स्वदेशमा सिमेन्टको उत्पादनमा बृद्धि भई आत्मनिर्भरताको बाटोमा लागेपनि क्लिंकरको समस्या भने उस्तै छ । भन्सार विभागको तथ्यांक अनुसार गतबर्ष नेपालमा ३१ अर्ब २७ करोड ४२ लाख १३ हजार मुल्यका सिमेन्ट र क्लिङकर आयात भएको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेको भनाइ छ ।

नेपाली सिमेन्टको उत्पादन लागत बढि भएका कारण उद्योगले बाहिरी मुलुकहरुमा निर्यात गर्न सकेका छैनन् । सरकारले क्लिङकर, कोइला लगायतका अन्य कच्चा पदार्थ आयातमा सहुलियत दिए सिमेन्ट निर्यात गर्न सकिने उद्योगी बताउँछन् ।

नेपालमा भारत, भुटान, चाइना, थाइल्याण्ड, क्यानाडा र पाकिास्तान लगायतका मुलुकबाट ५ प्रतिशतको हाराहारीमा सिमेन्ट आयात भइरहेको छ । अग्रिम रूपमा गरेको सम्झौता र दातृ निकायले निर्माण गर्ने ठूला आयोजनाका लागिबाहेक यो वर्षबाट सिमेन्ट आयात पूर्णरूपमा बन्द भएको छ ।